स्लालोममा माझी र स्प्रिन्टमा नेपाल र्‍याफ्‌ट एण्ड कायक क्लब प्रथम


काठमाडौं ।

चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा आइतबारदेखि सुरु भएको नवौं राष्ट्रिय र्‍याफ्टिङ तथा १४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिपको पहिलो दिन कायक स्लालोममा माझी र स्प्रिन्टमा नेपाल र्‍याफ्‌ट एण्ड कायक क्लबले प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगिताको पहिलो दिन सम्पन्न कायाक स्लालोम रन–१ मा विजय माझीले निर्धारित दूरी १२४.५१ स्कोरका साथ पूरा गर्दै शीर्ष स्थान हासिल गरेका हुन । उनलाई पछ्याउँदै इयान (१२६.३८) दोस्रो, आशिष रानामगर (१२६.९२) तेस्रो, रन्जन कडेल (१३२.८५) चौथो र रविन्द्र चेपाङ (१३७.६४) पाँचौँ स्थानमा रहेका छन्।

त्यसैगरी, र्‍याफ्टिङ विधातर्फको ‘र्‍याफ्ट स्प्रिन्ट’ मा नेपाल र्‍याफ्ट एण्ड कायक क्लब (फिस्लिङ ए) ले ८०.४२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै पहिलो स्थान प्राप्त गरेको छ । यो विधामा नेपाल कायक क्लब ८२.३६ सेकेन्डका साथ दोस्रो र भोटेकोशी एडभेन्चर क्लब (सी) ८२.७६ सेकेन्डका साथ तेस्रो स्थानमा रहे । प्याडल नेपाल (बी) र र्‍याफ्टिङ एडभेन्चर नेपालले क्रमशः चौथो र पाँचौँ स्थान हासिल गरेका छन् ।

त्यसअघि प्रतियोगिताको औपचारिक उद्घाटन नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले गरेका थिए । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा आयोजित उक्त च्याम्पियनसिपलाई आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि पहिलो चरणको खेलाडी छनोटका रूपमा लिइएको छ । क्यानोइङ स्लालोम विधामा उत्कृष्ट ५ भित्र पर्न सफल खेलाडीहरूलाई जापानमा हुने एसियाली खेलकुदको पहिलो चरणको प्रशिक्षण र छनोट प्रक्रियामा समावेश गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । पहिलो दिनको प्रतिस्पर्धामा ५१ जना खेलाडीहरूले प्रदर्शन गरेका थिए ।

प्रतियोगिता आगामी मंगलबारसम्म चल्नेछ । जहाँ दुवै विधातर्फका उत्कृष्ट टोली र खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् । आयोजकका अनुसार क्यानोइङतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् भने र्‍याफ्टिङतर्फ प्रथम हुने टिमले ६५ हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।