धुलिखेल अस्पतालमा ओपीडी सेवाको समय थपियो 

सार्वजनिक बिदाको दिन दिउँसो १ बजेसम्म अन्य दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म ओपिडी सेवा उपलब्ध हुने

4.61k
Shares

काभ्रे। 

विरामी सेवाग्राहीको अत्यधिक चाप तथा विभिन्न पेशा ब्यवसायमा व्यस्त नागरिकहरुलाई सेवा लिन असहज भएकाले हरेक ब्यक्तिका लागि सहज सेवा उपलब्ध गराउने उद्देश्यले धुलिखेल अस्पतालले सार्वजनिक बिदा तथा अन्य दिनमा पनि ओपिडी सेवा थप गरी सेवा विस्तार गरेको छ ।

अस्पतालका आयोजित पत्रकार सम्मेलनमा अस्पतालको विस्तारित सेवाका बारेमा जानकारी दिँदै प्रशासन प्रमुख डा.बलराम मल्लले सेवाग्राहिहरुको सहजताका लागि सेवा विस्तार गरिएको बताए । डा.बलराम मल्लले भने– ‘हरेक दिन अस्पतालको ओपिडी सेवा उहि शुल्कमा बिहान ८ बजे देखि साँझ ६ बजेसम्म हुनेछ । यस अघि ओपिडी सेवा ९ बजे देखि ४ बजेसम्म मात्रै उपलब्ध थियो । सार्वजनिक बिदा तथा शनिबारका दिन बिहान ९ बजे देखि दिउँसो १ बजेसम्म ओपिडी सेवा संचालन हुनेछ ।’ थप समय र अतिरिक्त दिनको विरामीले थप शुल्क बुझाउनु पर्ने छैन । तर सार्वजनिक विदाका दिन स्वास्थ्य बीमा अन्र्तगतको सेवाहरु भने उपलब्ध हुने छैन ।’  

अस्पतालका प्रवक्ता डा.सुमनराज ताम्राकारका अनुसार बिहानी एवं दिउँसोको समयमा कामकाजमा व्यस्त रहने सेवाग्राही एवं उक्त समयमा कार्य ब्यस्तताका कारण अस्पतालमा आई स्वास्थ्य सेवा लिन नसकेका सेवाग्राहीहरुका लागि विस्तारित सेवा महत्त्वपूर्ण हुनेछ । अस्पतालले दैनिक जीविकोपार्जन र आफ्नो स्वास्थ्य बीच छनौट गर्न नपरोस भन्ने उद्देश्यका साथ ओपिडी सेवाहरु साँझसम्म विस्तार गरेको र शनिबारका दिन पनि ओपीडी सेवा सञ्चालन गरेर समुदायमा रहेका सेवाग्राहीहरुको समसामयिक आधारभूत आवश्यकताहरू पुरा गर्न अस्पताल निरन्तर सक्रिय रहेको डा.मल्लले बताए । 

कार्यक्रममा अस्पतालका संस्थापक डा.रामकण्ठ माकजुले सम्भावना र अवसरका विषयमा धुलिखेल अस्पतालबाट राष्ट्रले सिक्नु पर्ने बताए । ‘धुलिखेल अस्पतालले ३० वर्ष अघि आफ्नै कर्मचारीबाट शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम नेपाल सरकारले ढिलो गरी भए पनि शुरु ग¥यो’–डा.रामकण्ठ माकजुले भने–‘नेपाल सरकारले ब्यवस्थापनमा कठिनाई झेलिरहेको भए पनि धुलिखेल अस्पताल नमूना र उदाहरण बनेर सहयोग गर्न तप्पर छ ।’ अस्पतालले पहिलो चरणमा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुको बीमा गरेको थियो । जसका कारण परिवारका सदस्यहरुको उपचारमा सहज भएको थियो । दोश्रो चरणमा काठमाडौ विश्वविद्यालयका कर्मचारीहरु तथा विद्यार्थीहरुको समेत बीमा गरी स्वास्थ्य उपचारमा सहजता गरेको थियो । धुलिखेलले निश्वार्थ उद्देश्यका साथ निरन्तर सक्रिय हुँदा जस्तोसुकै चुनौती पनि सहजताका साथ सामना गर्न सकिने उदाहरण देखाएको डा.रामकण्ठले बताए । 

नेपालकै नमुना अस्पताल धुलिखेलले विरामीलाई विहानको ब्रेकफास्ट, खाना, दिउँसोको खाजा र साँझको खाना निशुल्क उपलब्ध गराउँछ । 

सरकारले भुक्तानी गर्न बाँकी ३६ करोड

स्वास्थ्य बीमा कार्यक्रमले नागरिकहरुलाई राहत दिए पनि अस्पतालहरुलाई भने सरकारले समयमै भुक्तानी नदिँदा सेवा सञ्चालनमा असहजता हुन थालेको छ । धुलिखेल अस्पतालमा विरामीहरुलाई उपचार गराए बापत नेपाल सरकारले स्वास्थ्य बीमा तथा विपन्न नागरिक उपचार बापतको ३६ करोड रकम पौष मसान्तसम्म भुक्तानी गर्न बाँकी रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ । ‘धुलिखेल अस्पतालमा दैनिक १५ लाखको स्वास्थ्य बीमा बापतको उपचार गरेको बिल स्वास्थ्य बीमाको सिस्टममा भुक्तानीका लागि माग हुने गरेको छ भने विपन्न नागरिकको मासिक ५० लाख रुपैयाको भुक्तानी माग हुन्छ’–प्रशासनका डा.बलराम मल्लले भने–‘हामीले दैनिक अपडेट गरेको रिभ्यु गर्ने स्वास्थ्य बीमा बोर्डको समय ३ देखि ६ महिना लाग्ने गरेको छ ।’ समयमा रिभ्यु नभएकै कारण धुलिखेल अस्पतालले वैशाख देखि भुक्तानी पाउन सकेको छैन । 

१० महिनाको भुक्तानी पाउनु पर्ने रकम ३६ करोड पुगेको डा.मल्लले बताए । सेवा सुचारु गर्न तथा नागरिकहरुलाई सरकारको सेवाबाट वञ्चित नगराउने उद्देश्यले जस्तोसुकै कठिन परिस्थितीमा पनि धुलिखेल अस्पतालले सेवालाई सुचारु गरी सरकारसँग भुक्तानीका लागि अनुरोध गरिरहेको उनले बताए । ‘स्वास्थ्य बीमा बोर्डले दुई साताको समयावधि दिएको छ’–डा.बलराम मल्लले भने–‘अस्पतालमा थप समस्या आउन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं ।’ 

नेपाल सरकारले पछिल्लो समय प्रथम सेवा विन्दुबाट धुलिखेल अस्पताललाई हटाएको छ । तर पनि रिफरल लिएर आउने बिरामीहरूको उपचार सेवा बापतको भुक्तानीका लागि पनि समयमा नगरेका कारण अस्पताल प्रशासनले व्यवस्थापनका लागि समस्या झेलिरहेको छ ।