काठमाडौँ।
लैङ्गिक न्यायपूर्ण समाज निर्माणमा सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित ललितपुरमा एकदिने लैङ्गिक न्यायमूलक पत्रकारिता सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । पत्रकार र मिडियालाई लैङ्गिक रूपान्तरण पद्धतिप्रति संवेदनशील बनाउँदै न्यायकेन्द्रित, समावेशी र पीडितमैत्री रिपोर्टिङ प्रवर्धन गर्ने मूल लक्ष्यसहित कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालामा काठमाडौँ, भक्तपुर र ललितपुर शाखाका नेपाल पत्रकार महासंघका प्रतिनिधि, राष्ट्रिय तहमा लैङ्गिक समानता र सामाजिक न्यायका क्षेत्रमा सक्रिय सञ्चारकर्मी गरी जम्मा ४५ जनाको सहभागिता रहेको थियो । सहभागीहरूले लैङ्गिक हिंसा, सामाजिक विभेद र असमानताका सवालमा सञ्चार क्षेत्रले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे गहिरो छलफल गरेका थिए ।
कार्यशालाको मुख्य उद्देश्य सञ्चार क्षेत्रलाई लैङ्गिक न्याय तथा समावेशी रिपोर्टिङका लागि थप संवेदनशील बनाउनु, लैङ्गिक हिंसा पीडित तथा प्रभावित केन्द्रित दृष्टिकोणलाई संस्थागत गर्नु, महिला अधिकार, बालअधिकार तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षणमा मिडियाको भूमिकालाई मजबुत बनाउनु रहेको आयोजकले जनाएको छ । साथै, लैङ्गिक हिंसालगायत हानिकारक सामाजिक मूल्य–मान्यता र अभ्यासहरूको अन्त्यका लागि सञ्चार क्षेत्रको संलग्नता र जबाफदेहिता बढाउने लक्ष्य पनि राखिएको थियो ।

सुरक्षा र न्याय कार्यक्रमअन्तर्गत बेलायत सरकारको आर्थिक सहयोगमा पिपुल इन नीड नेपालको नेतृत्वमा दिव्य विकास स्रोत केन्द्र, पर्सा र हामी दाजुभाइ संस्थाले संघीय तह तथा मधेश प्रदेशमा लैङ्गिक विभेदमा आधारित हिंसाको रोकथाम र प्रतिकार्यका लागि समुदायस्तरमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत पत्रकारितालाई सामाजिक रूपान्तरणको सशक्त माध्यमका रूपमा अघि बढाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालामा लैङ्गिकता सम्बन्धी आधारभूत अवधारणा, डिजिटल पत्रकारिता, गलत सूचना तथा दुष्प्रचारको रोकथाम, पीडितको गोपनीयता र सुरक्षा सुनिश्चित गर्ने प्रक्रिया, पत्रकारको आचारसंहिता तथा सकारात्मक सामाजिक परिवर्तनमा मिडियाको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सुरक्षा र न्याय कार्यक्रमका पाँच प्रमुख पैरवी सन्देशहरूमा विशेष जोड दिइएको थियो, जसमा छोरीलाई बोझ होइन, समान र महत्वपूर्ण सन्तानका रूपमा हेर्ने सोच विकास, बालविवाह रोकथाम, हिंसालाई माया ठान्ने गलत मानसिकताको अन्त्य, स्वस्थ सम्बन्ध र संवादको प्रवर्धन तथा हिंसाविरुद्ध रिपोर्टिङको महत्व समेटिएको थियो ।
कार्यशालाको सहजीकरण सार्वजनिक सेवा प्रसारण नेपालका नायब महाप्रबन्धक तथा लैङ्गिक विश्लेषक आरती चटौतले गर्नुभएको थियो। अनलाइन खबरमा कार्यरत सुमित्रा लुइँटेलले पत्रकार आचारसंहिता र लैङ्गिक न्याय प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिकाबारे प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा हामी दाजुभाइका महासचिव अशोक सिवाकोटीले उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने पिपुल इन नीड नेपालकी लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण र संरक्षक संयोजक निर्मला केसीले सुरक्षा र न्याय कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।
कार्यशालाले सञ्चार क्षेत्रलाई लैङ्गिक हिंसाविरुद्ध जिम्मेवार, न्यायकेन्द्रित र समावेशी दृष्टिकोण अपनाउन प्रेरित गरेको आयोजकको भनाइ छ । कार्यशालापश्चात् छानिएका केही सञ्चारकर्मीहरूले लैङ्गिक समानता तथा सामाजिक रूपान्तरणका लागि फेलोसिप पत्रकारका रूपमा काम गर्ने अवसर पाउने जनाइएको छ ।











प्रतिक्रिया