तस्वीरः फिरोज राजोपाध्याय
काठमाडौं ।
नियमित कप्तान इन्दु बर्मा घाइते भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान पूजा महतोलाई नयाँ कप्तान बनाएको छ ।
क्यानले एसियन कप राइजिङ स्टार्स खेल्न जाने महिला क्रिकेट टोलीको घोषणा गर्दै पूजालाई नयाँ कप्तान घोषणा गरेको हो । नेपालले प्रतियोगितामा पाकिस्तानको ए टिम र भारतको ए टिमसहित अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
इन्दु नेपालमा हालै भएको आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटमा घाइते भएकी थिइन् । उनले चोटबाट मुक्त हुन कमसेकम ८ महिना लाग्ने पनि क्यानले जनाएको छ ।
इन्दु पनि ग्लोबल छनोटअन्तर्गत् स्कटल्यान्डविरुद्धको खेलमा घाइते भएकी थिइन् । उनी ५ रनमा रिटायर्ड हर्ट भएकी थिइन् र उनको बहिगर्मनसँगैं नेपालको ब्याटिङ धरासयी भयो र ७२ रनले हार्नु परेको थियो । यो हारपछि आयोजक नेपालको यात्रा समूह चरणमै सीमित भएको थियो ।
पूजाले सोही प्रतियोगिताअन्तर्गत् जिम्बाब्वेविरुद्ध ५२ रन बनाएकी थिइन् । योसँगैं उनी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट खेल्ने राष्ट्रविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी समेत बनिन् ।
उनको यो इनिङले नै नेपालले जिम्बाब्वेलाई हराउन सफल पनि भएको थियो । टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा यो नेपाली महिला क्रिकेट टोलीको टेस्ट खेल्ने राष्ट्रविरुद्ध पहिलो जितसमेत बन्यो ।
नेपाली टोलीः
पूजा महतो (कप्तान) विन्दू रावल, सम्झना खड्का, रुवि पाद्दोर, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा, सुमन विष्ट, अनु कठायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सीमना केसी रहेका छन् ।











प्रतिक्रिया