काठ–दाउरा बिक्री नहुँदा उपभोक्ता मर्कामा

282
Shares

रौतहट ।

पछिल्लो दुई वर्षदेखि डिभिजन वन कार्यालय, चन्द्रनिगाहपुरअन्तर्गत रहेको वन पैदावर आपूर्ति समितिले काठ तथा दाउरा बिक्री नगर्दा उपभोक्ताहरू मर्कामा परेका छन् । स्थानीय उपभोक्ताहरूले दैवी प्रकोप, विकास निर्माण, नयाँ घर निर्माण तथा मर्मत, दैनिकीका लागि आवश्यक दाउरा तथा काठ वन पैदावर आपूर्ति समितिले बिक्री नगर्दा आफूहरु मर्कामा परेको गुनासो गरेका छन् ।

समितिबाट नियमित रूपमा काठ–दाउरा बिक्री नहुँदा उपभोक्ताको आवश्यक्ता पूरा हुन सकेको छैन तर डिभिजन वन कार्यालय, रौतहटले भने काठ–दाउरा लिलाम गरेर व्यवसायीलाई बिक्री गर्दै आएको छ । आपूर्ति समितिमा विभिन्न पालिकाका उपभोक्ताहरुको आर्थिक वर्ष ०८१÷८२ मा दैवी प्रकोप काठको लागि ६२ र आ.व. ०८२÷८३ को लागि २९ वटा निवेदन, यस्तै आ.व. ०८१÷८२ मा घरकाजको लागि ९५ र आ.व. ०८२÷८३ को लागि ४२ वटा निवेदन परेको छ ।

उपभोक्ताले आफ्नो आवश्यकताका आधारमा पटक–पटक आपूर्ति समितिमा निवेदन पेस गरे पनि ती निवेदनको कुनै सुनुवाइ नभई त्यत्तिकै थन्किएको बताइएको छ । डिभिजन वन कार्यालय, चन्द्रनिगाहपुरलाई समितिले विभिन्न सामुदायिक साझेदारी वन र राष्ट्रिय वनबाट उपभोक्तालाई उपलब्ध गराउन १६ हजार गोलिया काठ माग गरे पनि कार्यालयको बेवास्ताले उपभोक्ता काठ प्राप्तिको अधिकारबाट वञ्चित भएका छन् ।

घर आगलागी भएपछि दुई वर्षअघि काठको लागि निवेदन दिएका गौर नगरपालिकाका लक्ष्मी बैठाले अझै काठ नपाएको दुखेसो गरेका छन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त साहले भने दाउरा बिक्री शुरु भइसकेको र एक सातापछि काठ बिक्रीको प्रक्रिया थालिने बताउनुभयो ।