पहिलो दल बन्ने दौडमा कांग्रेस–एमाले, रास्वपाको कडा चुनौती


–आफूहरू पनि प्रतिस्पर्धामा रहेको नेकपाको दाबी
–कांग्रेस र एमाले दुवैको २०७९ सालको भन्दा केही सिट घट्ने आँकलन

काठमाडौं ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन आउन अब करिब एक महिनामात्र बाँकी रहँदा देशको राजनीतिक तापक्रम बढ्दै गएको छ । राजनीतिक दलहरू गाउँ–गाउँमा भोट माग्दै हिँडिरहेका छन् भने यो चुनाव विशेष परिस्थितिमा हुन लागेकाले मतदाता, विश्लेषक र दलहरू सबैमा असाधारण कौतूहल देखिन्छ । कसले जित्ला चुनाव ? पहिलो, दोस्रो र तेस्रो दल कुन बन्ला भन्नेजस्ता कौतूहल आम नागरिकमा व्यापक छ । कतिपयले विभिन्न अनुमानसमेत गर्न थालेका छन् तर जनताको मनोभावनालाई गहन रूपमा बुझेर प्रत्यक्ष रूपमा सर्वेक्षण हुन नसकेकाले जित कसको पक्षमा जान्छ भन्ने बारेमा ठ्याक्कै भन्न सकिने अवस्था छैन ।

२०४८ सालदेखि हालसम्म भएका अधिकांश संसदीय निर्वाचनमा पहिलो दल बन्ने प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच सीमित रहँदै आएको इतिहास छ । २०६४ सालको संविधानसभा निर्वाचनमा मात्र एक्कासि माओवादी केन्द्र पहिलो दल बनेको थियो । तर, त्यसअघि र त्यसपछि पुनः कांग्रेस–एमालेकै वर्चस्व कायम रहँदै आएको देखिन्छ ।
२०७९ सालको निर्वाचनमा पनि यही परम्परा दोहोरियो । प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बन्यो भने समानुपातिकतर्फ एमालेले कांग्रेसलाई पछि पार्दै पहिलो स्थान हासिल ग¥यो । रोचक कुरा के छ भने, पछिल्ला अधिकांश निर्वाचनमा एमाले समानुपातिक मतमा कांग्रेसभन्दा अगाडि रहँदै आएको छ ।

तर, यसपटकको चुनावमा परिदृश्य बदलिन सक्ने दाबी गर्दै २०७९ सालमा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफू पहिलो दल बन्ने दाबी गरिरहेको छ । कांग्रेस र एमाले भने त्यो दाबीलाई ‘अतिरञ्जित’ भन्दै आफ्नो दलको परम्परागत जनाधार र संगठन बलियो भएको तर्कसहित मैदानमा उत्रिएका छन् भने पहिलो दल आफूहरू नै बन्ने दाबी गरिरहेका छन् । उता, प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि आफूहरूले धेरै ठाउँमा विजय हासिल गरी पहिलो दल हुने दाबी गर्दै आइरहेको छ तर कमजोर संगठन र विगतको जनमतको अवस्थाले गर्दा सो दल पहिलो हुन भने निकै कठिन हुने विश्लेषकको भनाइ छ ।

विश्लेषकहरूका अनुसार समानुपातिक मत जनभावनाको वास्तविक सूचक मानिन्छ, जहाँ संगठन, अनुशासन र स्थायी मतदाता निर्णायक हुन्छन् । यही कारण एमाले निरन्तर अग्रस्थानमा देखिँदै आएको छ । तर, यसपटक जेन–जी आन्दोलनका कारण एमालेले केही बदनाम व्यहोर्नुपरेको र पुरानो पार्टीको ट्याग लाग्न पुगेकाले समानुपातिक मत पनि केही घट्ने आँकलन गरिएको छ । यस्तै कांग्रेस पनि आन्तरिक रूपमा एकताबद्ध भएर जान नसकेको र एमालेलाई जस्तै पुरानो पार्टीको ट्याग लागेकाले समानुपातिक मत घट्ने देखिन्छ । अहिले नयाँ र पुराना दलको भाष्य स्थापित गर्न खोजिएको र पुराना दलहरू असफल भएकाले नयाँलाई अवसर दिनुपर्ने मान्यता स्थापित गर्न खोजिएको छ । जसको असर कांग्रेस र एमालेलाई बढी पर्ने देखिएको छ । नयाँको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति केही आकर्षण बढ्न पुगेकाले समानुपातिक मतमा रास्वपाले २०७९ सालको भन्दा बढी थप गर्ने अवस्था देखिएको छ ।

‘जेन–जी आन्दोलन’पछि फेरिएको राजनीतिक मनोविज्ञान
यसपटकको निर्वाचनलाई फरक बनाउने मुख्य तत्व भनेको जेन–जी र असन्तुष्ट मतदाताको मनोविज्ञान हो । साथै तटस्थ मत परम्परागत दलको रूपमा रहेका कांग्रेस, एमाले र नेकपालाई जान निकै कठिन देखिन्छ । यसै गरी परम्परागत दलप्रति वितृष्णा बढ्दो छ । बालेन रास्वपा प्रवेश गरेर चुनावी अभियानमा हिँडेकाले रास्वपाको केही लहर देखिएको छ । जसका कारण रास्वपाले आफू पहिलो दल बन्ने ऐतिहासिक मौका आएको दाबी गरिरहेको छ ।

राजनीतिक विश्लेषक श्याम मैनालीले जस्तोसुकै अवस्था भए पनि पहिलो पार्टीका लागि कांग्रेस, एमाले र रास्वपाबीच नै मुख्य प्रतिस्पर्धा हुने बताउनुभयो । पुराना पार्टीहरू केही बदनाम भए पनि उनीहरूको लामो समयदेखि सांगठनिक आधारका कारण पूरै कमजोर आँकलन गर्न नहुने मैनालीको भनाइ छ । रास्वपाको पनि देशभर केही सामान्य लहरमात्रै हो, ठूलो लहर देखिँदैन, त्यसैले पहिलो पार्टी बन्न कठिन नै छ । ‘यद्यपि, सम्भावनालाई नकार्न सकिँदैन । कांग्रेस, एमाले र रास्वपाको अवस्था उस्तै उस्तै पनि हुन सक्छ ।’ मैनालीले भन्नुभयो । उहाँले रास्वपाको लहर वास्तविक हो, तर लहरमात्रै चुनाव जित्न पर्याप्त हुँदैन । पहिलो दल बन्न संगठन, उम्मेदवार र मतदान दिनको अनुशासन निर्णायक हुने धारणा राख्नुभयो ।

युवा राजनीतिक विश्लेषक सरिता भट्टराई भन्नुहुन्छ– ‘जेन–जी मतदाता निर्णायक बन्न सक्छन् । तर, उनीहरूको सहभागिता प्रतिशत कति हुन्छ, त्यसले रास्वपाको भविष्य तय गर्छ ।’

२०७९ सालमा कुन दलको मत र सिट कति ?
दल प्रत्यक्ष समानुपातिक मत÷सिट जम्मा

कांग्रेस ५७ २७,१५,२२५÷३२ ८९
एमाले ४४ २८,४५,६४१÷३४ ७८
तत्कालीन माओवादी केन्द्र १८ ११,७५,६८४÷१४ ३२
रास्वपा ७ ११,३०,३४४ ÷१३ २०
राप्रपा ७ ५,८८,८४९÷७ १४
जसपा ७ ४२१३१४÷५ १२
जनमत पार्टी १ ३,९४६५५÷५ ६
नेकपा एस १० २,९८६५५ १०
लोसपा ४ १,६७३६७ ४
नागरिक उन्मुक्ति ३ – ३
राष्ट्रिय जनमोर्चा १ – १
नेमकिपा १ – १
स्वतन्त्र ५ – ५