भैरहवा आन्तरिक राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा २३ प्रतिशत बढी राजस्व सङ्कलन


काठमाडौँ । 

रुपन्देहीको आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो छ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउनदेखि पुससम्म रु ६ अर्ब ६३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य पाएकोमा रु ८ अर्ब १७ करोडभन्दा बढी राजस्व उठाएको हो।

कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार यो सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.४ प्रतिशतले बढी हो। करदाता शिक्षामा सुधार, बजार अनुगमन, बक्यौता असुलीका लागि विशेष अभियान, एसएमएस तथा टेलिफोनमार्फत सूचना प्रवाह र स्थानीय तहसँगको समन्वयले राजस्व वृद्धि भएको उनले बताए।

कार्यालयले कात्तिकदेखि पुससम्म सञ्चालन गरेको विशेष अभियानबाट रु १२ करोडभन्दा बढी बक्यौता राजस्व सङ्कलन भएको छ। कर छुट सुविधा, जरिवाना मिनाहा र कर छली नियन्त्रणका प्रयासले पनि सकारात्मक प्रभाव परेको कार्यालयले जनाएको छ।