स्याङ्जा।
अहिलेको निर्वाचन देश बनाउने र जलाउने बीचको प्रतिस्पर्धा भएको नेपाली कांग्रेस नेता धनराज गुरुङले बताएका छन् ।
स्याङ्जामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता भेटघाट बीच नेता गुरुङले आगामी फागुन २१ को निर्वाचन देश बनाउने र जलाउने बीचको प्रतिस्पर्धा भएको बताएका हुन् । उनले भने “यो देशमा नेपाली कांग्रेसले पनि धेरै आन्दोलन गरेको छ । तर, कुनै पनि आन्दोलनमा देशका संरचना जलाउने र भत्काउने काम गरेको छैन ।” नेपाली कांग्रेस सधैँ देश निर्माणको पक्षमा भएको उल्लेख गर्दै निर्माण गर्दा समय लाग्ने र भत्काउन समय नलाग्ने बताए । उनले भने “घर भत्काउन धुरीबाट थालिन्छ त्यसैले सबैले देख्छन्, बनाउन जग खनिन्छ त्यो घर तयार नहुँदासम्म कसैको नजर पर्दैन । त्यसैले कांग्रेसले जग खन्छ घरको धुरीमा चढेर भत्काउँदैन ।”
नेपाली कांग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरतराज ढकाल लगायत नेता कार्यकर्तासंग भेटघाटका क्रममा नेता गुरुङले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनले देशको विकास र बिनासको भविकष्य निर्धारण गर्ने बताए । उनले भने ” फागुन २१ को निर्वाचन देश विनाश गर्ने र विकास गर्ने बीचको हो, देशको विकास चाहनुहुन्छ कांग्रेसलाई भोट हाल्नुस, देश विनाश चाहिन्छ भने अरु पार्टी रोज्नुस ।” देशमा केही पनि भएको छैन भन्ने भ्रम छर्दै भएका संरचनापनि ध्वस्त पारेकाहरुलाई देशको माया नभएको उनको भनाइ थियो ।
नेपालीकांग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले कांग्रेसमा कुनै गुट उपगुट नभएको बताए।
नेपालीकांग्रेस जिल्ला सभापति राजु थापाले देशको जिम्मेवार पार्टी नेपाली काङ्ग्रेस मात्रै भएको उल्लेख गर्दै नेपाली काङ्ग्रेस कमजोर हुँदा देश दुर्घटनामा परेको स्मरण गराउँदै देशका हरेक परिवर्तन काङ्ग्रेसको नेतृत्वमा मात्रै सफल भएको बताए ।
नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका भरतराज ढकालले युवाहरूलाई देशमै रोक्नसक्ने प्रस्ट भिजन भएको हुँदा पार्टीले उम्मेदवारका रूपमा आफूलाई अगाडि सारेको भन्दै रुख चिन्हमा मतदान गरेर अत्यधिक मतले जिताउन आग्रह गरे । उनले भने ” देशमा रोजगारी नहुदा सानोतिनो रोजगारीको लागि पनि युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता आजको मुख्य समस्या हो । त्यसको समाधान भनेको यहीँ रोजगारी सिर्जना गर्नु हो । त्यसैको लागि मसंग प्रस्ट भिजन छ ।” विकासलाई रोजगारीसंग जोड्न सकियो भने मात्र त्यो विकासको उपलब्धि हुने उनको तर्क थियो । विश्वमा सबैभन्दा धेरै कारोबार हुने क्षेत्र कृषि क्षेत्र हो । गाउँगाउँमा पुगेका सडकले शहर बाट खाद्यान्न बोक्ने होइन, गाउँ बाट खाद्यान्न बोकेर सहर जानुपर्छ ” उनको भनाइ थियो । त्यसको लागि आफ्नो कृषि क्षेत्रको अनुभवलाई कार्यान्वयन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
रोयल सहकारी, मुक्तिनाथ विकास बैक, मुक्ति नाथ कृषि कम्पनी, मुक्तिनाथ फुड बैंक लगायत दर्जनौं व्यवसायीक सस्थ स्थापना गरेर सफलता प्राप्त गरेका ढकाल पछिल्लो केही दशकदेखि नेपालको समृद्धिको आधार कृषि क्षेत्र भएको भन्दै कृषि क्षेत्रमा काम गर्दै आएका थिए । मुक्तिनाथ कृषि कम्पनीसहित कृषि क्षेत्रमा नौ वटा कम्पनी स्थापना गरेर काम गरेका ढकाल सफल व्यवसायीका रूपमा चिनिन्छन् ।











प्रतिक्रिया