काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सिटी स्क्यान मेसिन खरिदमा आर्थिक अनियमितता गरेको आरोपमा १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सो मुद्दा दायर गर्दा तत्कालीन प्रा.डा. संगीता सिंह भण्डारीसहित तत्कालीन रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारीहरू र मेसिन आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक प्रा.लि का सञ्चालकसमेत गरी १९ जनालाई प्रतिवादी बनाएको छ ।
प्रतिष्ठानले १ सय २८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाउँदा सार्वजनिक खरिद ऐन र नियमावलीको प्रतिकूल हुने गरी बदनियत राखेको आयोगको ठहर छ ।
प्रतिवादीहरूले आपसमा मिलेमतो गरी निश्चित कम्पनीलाई ठेक्का दिने उद्देश्यले स्पेसिफिकेसन तयार पारेको र तोकिएको मापदण्ड पूरा नगरेको मेसिन आपूर्ति हुँदा पनि स्वीकार गरी भुक्तानी दिएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताउनुभयो ।
आयोगले यस प्रकरणमा नेपाल सरकार र प्रतिष्ठानलाई ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपियाँ हानि नोक्सानी पुगेको निष्कर्ष निकालेको छ । सोही रकम बराबरको बिगो कायम गर्दै अख्तियारले प्रतिवादीहरूबाट बिगो असुलउपर गरी कैद र जरिवानाको सजाय मागदाबी गरेको छ ।











प्रतिक्रिया