३४ दिनमात्रै बाँकी रहँदा पनि दलहरू ‘हाहु’कै भरमा

भाले–बाख्रासँग भोट मागेर लोकतन्त्रको खिल्ली


–अधिकांश नयाँ उम्मेदवारहरू चटके शैलीमा
–निर्वाचनलाई खेलाँचीजस्तो बनाइँदै

काठमाडौं ।

जेन–जी आन्दोलनपछि संकटग्रस्त अवस्थामा पुगेको देश, घाइते संविधान र कमजोर बन्दै गएको लोकतान्त्रिक व्यवस्थालाई सही दिशामा ल्याउने दाबीका साथ घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन आउन अब ३४ दिनमात्र बाँकी छ । तर, विडम्बना—देशको भविष्य तय गर्ने यही निर्वाचनका लागि हालसम्म कुनै पनि प्रमुख वा नयाँ दलले स्पष्ट चुनावी घोषणा पत्र सार्वजनिक गर्न सकेका छैनन् ।

पुराना दलहरू चुनावी घोषणा पत्र ‘तयारीकै चरणमा रहेको’ दाबी गरिरहेका छन् भने वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा अन्य केही नयाँ दलका उम्मेदवारहरू भने घोषणापत्रभन्दा बढी ‘हाहु’ शैलीको प्रचारमा रमाइरहेका देखिन्छन् । सैद्धान्तिक रूपमा आफूलाई स्पष्ट विकल्पका रूपमा प्रस्तुत गर्नुपर्ने रास्वपाले समेत हालसम्म आफ्नो औपचारिक चुनावी घोषणा पत्र सार्वजनिक गर्न सकेको छैन ।

सामाजिक सञ्जालमा बढ्दो चर्चाले हौसिएका रास्वपाका अधिकांश उम्मेदवारहरूको प्रचार शैली हचुवा, भावनात्मक र चटकेपनतिर ढल्किएको पाइएको छ । सुशासनको नारा दिएरै उदाएको रास्वपाका उम्मेदवारले सुशासन, विकास र राज्य पुनःसंरचनाको स्पष्ट रोडम्याप लिएर जनतामाझ जानुपर्नेमा प्रचारलाई मनोरञ्जनको साधन बनाइरहेका छन् । यसको पछिल्लो उदाहरण धादिङमा रास्वपाबाट उम्मेदवारी दिएकी आशिका तामाङको प्रचार शैली हो, जहाँ उहाँले कुखुराको भाले र बाख्रासँग भोट माग्दै लोकतान्त्रिक प्रक्रियाकै खिल्ली उडाइएको भन्दै आलोचना चुलिएको छ ।

घोषणा पत्रविनै चुनावी मैदानमा उत्रिएका दलहरूमा रास्वपामात्र होइन । नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राप्रपालगायतका प्रमुख दलहरूले पनि हालसम्म औपचारिक रूपमा घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन् । सत्ता सञ्चालनको लामो अनुभव बोकेका दलहरूबाटै यस्तो गैरजिम्मेवार ढिलाइ हुनु लोकतान्त्रिक अभ्यासप्रति गम्भीर प्रश्न भएको विश्लेषकहरूको भनाइ छ । यसै गरी हर्क साम्पाङको श्रम संस्कृति पार्टी र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले पनि चुनावी घोषणा पत्र सार्वजनिक गर्न सकेका छैनन् ।

यसपटकको निर्वाचनमा घोषणापत्र नहेरी नै रास्वपातिर आकर्षित हुने केही युवा मतदाता देखिएका छन् । सामाजिक सञ्जालबाट उदाएका तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन साह रास्वपामा प्रवेश गरी प्रधानमन्त्रीको उम्मेदवार घोषणा भएपछि पार्टीको प्रचारले थप तीव्रता पाएको छ । देश दौडाहामा रहनुभएका साह सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय भए पनि हालसम्म उहाँले आफ्ना ठोस योजना, नीति र कार्यक्रम समेटिएको चुनावी घोषणा पत्र युवा तथा अन्य मतदातामाझ लैजान सक्नुभएको छैन ।

राजनीतिक विश्लेषक श्याम मैनाली चुनाव नजिकिँदै जाँदा पनि कुनै दलले घोषणापत्र सार्वजनिक गर्न नसक्नुले बौद्धिक र सचेत मतदातालाई गम्भीर अन्योलमा पारेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाहुका भरमा धारणा बनाउने मतदाता सामाजिक सञ्जालकै प्रभावमा पर्न सक्छन् । तर, देशको भविष्यप्रति सचेत र बुझ्ने मतदाताले कसलाई भोट दिने भन्ने निर्णय घोषणापत्रकै आधारमा गर्छन् ।’

विश्लेषकहरूका अनुसार घोषणापत्र भनेको दलको सपनामात्र होइन, सत्तामा पुगेपछि जवाफदेही बन्ने लिखित प्रतिवद्धता हो । मुलुक बनाउने खाका के हो ? सुशासन कसरी कायम गरिन्छ ? रोजगारी कसरी सिर्जना हुन्छ ? आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा सुधार कसरी सम्भव छ ? जनताको जीवनस्तर उकास्ने ठोस उपाय के हुन् ? — यिनै प्रश्नको उत्तर घोषणापत्रमा खोजिन्छ ।

तर, चुनाव नजिकिँदै गर्दा पनि यस्ता आधारभूत प्रश्नमा दलहरूको मौनता र प्रचारको नाममा चटकेपन बढ्नुले निर्वाचनलाई गम्भीर राजनीतिक प्रक्रियाभन्दा तमासामा रूपान्तरण गरिँदैछ कि भन्ने चिन्ता बढ्दै गएको छ ।