नेपालमा युनिफिकेसन चर्चको राजनीतिक चलखेल

मुछिए तीन पूर्व प्रधानमन्त्री


-आगामी निर्वाचनमा पनि करोडौं लगानी हुनसक्ने आशंका
-आफूहरूको संलग्नता असत्य भएको दावी

काठमाडौं ।

कोरियाली युनिफिकेसन चर्चबाट बाहिरिएका गोप्य पत्रहरूले नेपालका राजनीतिक दल र शीर्ष नेतामाथि चर्चको लगानी खुलासा गरेको छ । कोरियाली अनुसन्धान पत्रकारिता केन्द्र ‘न्युजटापा’ ले प्राप्त गरेको गोप्य कागजपत्रहरूमा उक्त चर्चले नेपालका प्रमुख राजनीतिक शक्तिहरूसँग दीर्घकालीन रणनीतिक सम्बन्ध बनाएको संकेत गर्ने पत्राचारहरू पनि समावेश छन् ।

ती बाहिरिएका गोप्य कागजातहरूमा पूर्व प्रधानमन्त्रीहरू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईको नाम पनि उल्लेख छ । ती कागजातहरूमा युनिफिकेसन चर्चसँग आबद्ध नेपाल पारिवार दल र त्यसका संस्थापक एकनाथ ढकालमार्फत एमालेले निर्वाचन सहयोग प्राप्त गर्नुका साथै आर्थिक व्यवस्थापन र राजनीतिक पहुँच विस्तारको प्रयास गरेको देखिएको छ ।

२०७४ सालदेखि एमालेसँग निरन्तर चुनावी गठबन्धन गर्दै आएका ढकालले आगामी फागुन २१ को निर्वाचनका लागि पनि एमालेसँग ४ बुँदे सहमति गरिसक्नुभएको छ । गत माघ ४ गते भएको सहमतिमा एमालेले उपयुक्त समयमा नेपाल परिवार दलको प्रतिनिधित्व संघीय संसद र प्रदेश सभामा गराउन सहयोग गर्ने उल्लेख छ । उक्त खुलासापछि आगामी निर्वाचनमा पनि चर्चको चलखेल हुनसक्ने आशंका गरिएको छ ।

यसअघि २०७९ सालको निर्वाचनमा एमालेले ढकाललाई खस आर्य क्लस्टरबाट समानुपातिक सांसद बनाएको थियो । पूर्व प्रधानमन्त्री नेपालसँग सम्बन्धित पत्राचारमा सन् २०१७ को पहिलो संघीय निर्वाचनदेखि २०२२ को आमनिर्वाचनसम्मका खर्चका लागि लाखौँ अमेरिकी डलर तत्काल उपलब्ध गराउन माग गरिएको उल्लेख छ ।

एक इमेलमा युनिफिकेसन चर्चका एसिया क्षेत्रीय अध्यक्ष योङ जोङ सिकसँग ढकालले चुनाव प्रचारप्रसार र एमालेलाई सहयोग गर्न बजेट माग गरिएको छ । साथै नेपाल पारिवार दल सञ्चालन गर्न र निर्वाचन तयारीका लागि मासिक थप २० हजार डलर मागिएको विवरण पनि कागजातमा छ ।

पैसाको बारेमा लेखिएको छ– ‘म साँच्चै माफी चाहन्छु, तर न्यूनतम ५लाख अमेरिकी डलर आवश्यक छ … यो रकम जतिसकेको चाँडै प्राप्त गर्नसके म आभारी हुने थिएँ । सुरुमा समग्र चुनाव खर्चको लागि ५ लाख डलर प्रयोग भएको थियो, र थप ५ लाख डलर परिवार दल र प्रमुख नेताहरूलाई समर्थन जुटाउनका लागि चाहिएको हो ।’ सन् २०१७ को निर्वाचनपछि एमाले–माओवादी गठबन्धन सरकार बनेसँगै प्रधानमन्त्री ओलीले एकनाथ ढकाललाई शान्ति तथा पुननिर्माण मन्त्री नियुक्त गर्नुभएको थियो ।

ढकालको कार्यकालमै काठमाडौंमा ‘एसिया–प्यासिफिक समिट २०१८’ आयोजना भयो, जसको अध्यक्षता युनिफिकेसन चर्चका संस्थापक सन म्युङ मुनकी पत्नी हाक जा हानले गर्नुभएको थियो । त्यतिबेला सम्मेलनलाई धार्मिक प्रचारसँग जोडेर व्यापक आलोचना भएको थियो, र त्यसयता ‘होली वाइन’ शब्द नेपाली राजनीतिक शब्दावलीमा प्रवेश भएको हो ।

तत्कालीन एमालेका नेता र हाल नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक पूर्व प्रधानमन्त्री नेपालले नेपाल समाचारपत्रसँग यस प्रकरणमा आफूमाथि लागेको आरोप निराधार, असत्य र हावादारी रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘मित्रराष्ट्रहरूसँग सम्बन्ध बिगार्ने गरी आएका यी आरोपहरू पूर्णतः असत्य छन् । मेरो सम्बन्धमा आएका ती सबै कुराहरू असत्य छन्, त्यस्तो कार्य गर्ने विषय मेरो कल्पनाभन्दा बाहिरको हो ।’ उहाँले आफू गलत कामको सधँै निन्दा गर्ने व्यक्ति भएकाले त्यस्तो कार्य गर्नै नसक्ने र बाहिर आएका सबै कुराहरूमा कुनै सत्यता नभएको दाबी गर्नुभयो ।

त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. भट्टराईले अहिलेको समयमा यस्तो समाचार आउनुले शंका उब्जाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो सूचनाका आधिकारिकता र विश्वसनीयता शंकापूर्ण रहेकोे छ । यो अहिलेको सन्दर्भसँग कतै मेल खाँदैन । म धर्मनिरेपक्षताको पक्षधरमा छु । कुनै धर्मको पक्ष वा विपक्षमा छैन । विदेशी शक्तिले मेरो पक्ष र पार्टीमा लगानी गरेको साँचो भइदिएको भए मेरो पार्टी कहाँ सकिन्थ्यो होला । यो सरासर झुठ हो ।’

चर्चले नेपालका कम्युनिस्ट नेताहरूलाई विदेश भ्रमण, वैचारिक ‘प्रशिक्षण’ र दीर्घकालीन राजनीतिक व्यवस्थापनमा समेट्ने योजना बनाएको पनि केही पत्राचारमा खुलेको छ । यद्यपि सबै गठबन्धन सांसदहरूलाई तेस्रो मुलुकमा लैजाने र चर्चको विचारधारासँग परिचित गराउने ती योजना पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको जनाइएको छ ।

युनिफिकेसन चर्चकी प्रमुख ८२ वर्षीया हाक जा हानमाथि दक्षिण कोरियामा पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी र उनका निकट सहयोगीहरूलाई घुस दिएको आरोपमा छानबिन भइरहेको छ । कोरियाली विशेष अभियोजकहरूले बाहिरिएका ती गोप्य कागजातहरूलाई राजनीतिक लबिङसँग जोडिएको सम्भावित प्रमाणका रूपमा हेरिरहेका छन् । यद्यपि, चर्चले ती कागजातलाई आधिकारिक नभएको र चर्चका अन्तर्राष्ट्रिय मुख्यालयका पूर्व महानिर्देशक युन योङ होले आफ्नो प्रभाव देखाउन बनाएका अनौपचारिक दस्तावेजहरूमात्र भएको दाबी गरेको छ ।

नेपाल पारिवार दल र एकनाथ ढकालले पनि विदेशी आर्थिक सहयोग र अवैध पत्राचारको आरोप अस्वीकार गर्नुभएको छ तर सार्वजनिक भएका कागजातहरूले नेपालमा विदेशी धार्मिक–राजनीतिक नेटवर्कको भूमिका, पारदर्शिता र राष्ट्रिय राजनीति कति स्वतन्त्र छ भन्नेबारे गम्भीर प्रश्न उठाएका छन् ।