बुटवल।
राजनीति आज धेरैका लागि शक्ति र स्वार्थको खेल बनेको आरोप लागिरहेको बेला, रुपन्देही क्षेत्र नं. २ मा एक फरक सोच, फरक यात्रा र फरक प्रतिबद्धताका साथ अघि बढिरहेका छन् समाजसेवी तथा सफल व्यवसायी चुन्ना प्रसाद पौडेल। उनी अब आफ्नो जीवनको अनुभव, श्रम र सफलतालाई राजनीति मार्फत समाजसेवामा समर्पित गर्ने दृढ संकल्पका साथ निर्वाचन मैदानमा उत्रिएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका पौडेल राजनीतिलाई पेसा होइन, सेवाको माध्यम मान्छन् । उनी स्पष्ट शब्दमा भन्छन् “म राजनीति गर्न आएको हुँ, सम्पत्ति जोड्न होइन। मैले व्यवसायबाट जे कमाएँ, इमानदारीले कमाएँ, अब त्यो अनुभव र क्षमता समाजका लागि लगानी गर्न चाहन्छु।” यही स्पष्टता र निष्ठाका कारण उनी रुपन्देही–२ का जनताबीच दिनानुदिन लोकप्रिय बन्दै गइरहेका छन् ।
सानैदेखि मेहनत, अनुशासन र इमानदारीतालाई जीवनको मूल मन्त्र बनाउँदै आएका पौडेल आज हजारौँलाई रोजगारी दिने सफल व्यवसायीका रूपमा स्थापित छन् । उनको सफलताको कथा केवल व्यक्तिगत उपलब्धिमा सीमित छैन, त्यसले धेरै परिवारको जीवनस्तर उकास्न योगदान दिएको छ। यही कारण, रुपन्देहीबासीहरू उनलाई केवल उद्योगीका रूपमा होइन, निष्ठावान् समाजसेवीका रूपमा चिन्छन् र श्रद्धा गर्छन् ।
आज राजनीतिमा व्याप्त विकृति, भ्रष्टाचार र निराशाबीच, “यस्तो व्यक्ति संसदमा पुग्नुपर्छ” भन्ने आवाज रुपन्देही–२ का गाउँ–टोलदेखि बजारसम्म गुञ्जिन थालेको छ। जीवनभर इमानदार रहेकाले अब उनी नीति निर्माण तहमा पुगेर असल शासन स्थापित गर्न सक्रिय रहन सक्ने विश्वास मतदातामा देखिन्छ। पौडेल आफू राजनीतिमा आउनुको थप कारण उल्लेख गर्दै उनी भन्छन् ‘ जनताको पीडा बुझ्न, विकासका योजनालाई कागजमा सीमित नराख्न, सुशासनलाई नारामा होइन, व्यवहारमा उतार्न , रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर मुलुकको समृद्धि कायम गर्न दत्तचित्त हुदै अघि बढ्छु् ।’
रुपन्देहीबासीहरू भन्छन्, “उहाँले हामीसँग चुनाव जित्न होइन, समस्या समाधान गर्न भोट माग्नुभएको छ।” यही कारण, उहाँलाई कुनै दलको उम्मेदवारभन्दा माथि उठेर साझा उम्मेदवारका रूपमा हेर्न थालिएको छ।
विशेषगरी युवापुस्तामा पौडेलप्रति आकर्षण बढ्दो छ। कारण स्पष्ट छ— उनी भाषणमा होइन, काममा विश्वास गर्छन, उद्योग सञ्चालनको अनुभव, व्यवस्थापन क्षमता र परिणाममुखी सोचले संसदमा पुग्दा फरक प्रभाव पार्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया