धादिङ ।
धादिङका राजनीतिक दल र उम्मेदवारहरुले फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष र गराउन आचार संहिताको पालना गर्न ६ बुँदे प्रतिवद्धता जनाएका छन् ।

नेपाली काँग्रेस जिल्ला सभापति रामनाथ अधिकारीले मंगलबार आव्हान गर्नुभएको समन्वयात्मक बैठकमा ६ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
धादिङ जिल्लामा शान्ति, अमनचयन, राजनीतिक तथा सामाजिक सद्भाव, सन्तुलित तथा न्यायपूर्ण विकास, सुशासन, विधिको स्थापना, समतामूलक समाज निर्माण र सबै खालका विभेदका अन्त्यका जो निर्वाचित भएपनि सहकार्य र समन्वय गर्ने प्रतिवद्धता सहित हस्ताक्षर गरिएको हो ।
निर्वाचनको प्रचारप्रसारका गतिविधिहरुलाई शान्तिपूर्ण, सौहार्दपूर्ण, मैत्रीपूर्ण, मितव्ययी र मर्यादित बनाउने, मतदान प्रक्रियालाई शान्तिपूर्ण र स्वतन्त्र बनाउने, सबै पार्टी तथा उम्मेदवारहरूलाई सम्मान आदरभाव राख्ने, निर्वाचनको सम्बन्धमा उत्पन्न हुने विवाद तथा असमझदारी आपसी समन्वय तथा संवादबाट समाधान गर्ने र निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ लाई पालना गर्ने, गराउने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
प्रतिबद्धता कार्यान्वयन गर्नगराउन सहयोग, निगरानी र खबरदारीका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक पार्टी, उम्मेदवार, कार्यकर्ता, मतदाता, आमजनसमुदाय र सञ्चारकर्मीहरुलाई अनुरोध समेत गरेको छ ।प्रतिवद्धता पत्रमा नेपाली काँग्रेस सभापति रामनाथ अधिकारी, उम्मेदवारहरु कृष्ण रिजाल, रमेश धमला, नेकपा एमालेका कार्यवहाक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली), उम्मेदवार भूमि त्रिपाठी, नेपाली कम्यूनिष्ठ पार्टीका उम्मेदवारहरु राजेन्द्र पाण्डे, रामबहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी संगठन सचिव रामहरी रिजाल, उम्मेदवार बोधनारायण श्रेष्ठ, राप्रपाका जिल्ला अध्यक्ष ध्रुब खनाल, उम्मेदवारहरु गिता प्रसाद आचार्य र सुरेश रिजालले हस्ताक्षर गर्नुभएको छ ।
प्रतिवद्धता व्यक्त गर्दै उम्मेदवारहरुले अन्य उम्मेदवारको नकारात्मक टिप्पणी नगर्ने, अनुशासित रुपमा प्रतिस्पर्दा गर्ने, सरल र समन्वय गर्ने, तडकभडक नगर्ने, सद्भाव र मर्यादा कायम गर्ने, मतदातालाई दवाव र प्रभावमा नपारी निर्वाचित भएपछि आफूले गर्ने प्रतिवद्धता जनाएर मत माग्ने बताउनुभएको छ ।












प्रतिक्रिया