नक्कली नोट सहित दुइ भारतीय नागरिक पक्राउ

1.79k
Shares

रौतहट ।

रौतहट जिल्लामा नक्कली भारतीय नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरले मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई नक्कली जस्तो देखिने भारतीय रुपैयाँसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला पर्सौनीका ४२ वर्षीय राकेश कुमार साह र सितामढी शिवहर परिषद–४ का ३० वर्षीय विक्रम कुमार पासवान रहेका छन्। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सागर बिष्टले जानकारी दिनुभयो।

गौर नगरपालिका–२ महादेवपट्टीस्थित सीमा क्षेत्रमा खटिएको चेकप्वाइन्ट टोलीले बीआर ३० एएफ ५७३१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका साह र पासवानलाई शङ्कास्पद अवस्थामा जाँच गर्दा नक्कली जस्तो देखिने भारतीय रुपैयाँ बरामद गरेको हो।

बरामद नोटमा पाँच सय दरको एक थान र दुई सय दरको दस थान गरी जम्मा दुई हजार पाँच सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त नक्कली जस्तो देखिने नोटसँगै सक्कली भारतीय रुपैयाँ १ सय ७७, एक थान मोटरसाइकल तथा दुई थान एन्ड्रोइड मोबाइलसमेत बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।