स्वास्थ्य बिमाको सही सदुपयोग गर्न अपिल


काठमाडौं ।

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमको दुरुपयोग रोक्न र यसलाई प्रभावकारी बनाउन सबै नागरिक, सेवा प्रदायक तथा स्वास्थ्यकर्मीहरूलाई सार्वजनिक अपिल जारी गरेको छ । बोर्डले मिति २०८२ माघ १३ गते जारी गरेको विज्ञप्तिमा स्वास्थ्य बिमालाई दिगो तथा गुणस्तरीय बनाउन सबै पक्षको जिम्मेवार सहभागिताको आवश्यकता रहेको जोड दिएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार स्वास्थ्य बिमा कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गत सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सञ्चालन गरेको महत्वपूर्ण कार्यक्रम हो । यसले सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने तथा युनिभर्सल हेल्थ कभरेजको लक्ष्य प्राप्तिमा योगदान पु¥याउने उद्देश्य राखेको छ ।

स्वास्थ्य बिमा ऐन, २०७४, बिमा नियमावली, २०७५ तथा अन्य नीतिगत व्यवस्थाहरूले यसलाई सामाजिक स्वास्थ्य सुरक्षाको मेरुदण्डका रूपमा परिकल्पना गरेका छन् ।

सीमित स्रोतसाधनका बाबजुद पनि दैनिक करिब ४० हजार नागरिकले स्वास्थ्य बिमार्फत सेवा प्राप्त गरिरहेका छन् । यसबाट औसत दैनिक २ करोड रुपियाँ बराबरको आम नागरिकको स्वास्थ्य खर्च जोखिमबाट जोगाइएको बोर्डले जनाएको छ । तर, केही सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीबाट हुने दुरुपयोग, अनावश्यक परीक्षण, दबाबमा आधारित उपचार तथा अनुचित प्रेस्क्रिप्सनले कार्यक्रमलाई चुनौती दिइरहेको बोर्डको भनाइ छ ।