ताला खुले पनि पदाधिकारी प्रवेश गर्न सकेनन्

1.03k
Shares

फेरि धर्ना सुरु

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले तीन पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोलेको २४ घण्टा बित्न नपाउँदै फेरि धर्ना सुरु गरेका छन् । ताला खोले पनि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यकक्षमा प्रवेश गर्न पाएका छैनन् । अनेरास्ववियु (क्रान्तिकारी)ले पुस १७ गते लगाएको ताला त्रिविले अस्ति सोमबार खोलेको थियो । त्रिविले गएको आइतबार ताला खोल्न चेतावनीयुक्त सूचना जारी गरेको थियो । लगत्तै भोलिपल्ट प्रहरीको सहयोगमा ताला खोलेको थियो । त्रिवि प्रशासनले हिजै उपकुलपति, रेक्टर र रजिस्टार कार्यालयमा लगाएको ब्यानर हटाएको थियो ।

‘ताला खुले पनि कार्यालय प्रवेश गर्न पाएका छैनांै’ –उपकुलपति प्राडा दीपक अर्यालले भन्नुभयो । उहाँका अनुसार विद्यार्थीले कार्यालय प्रवेश गरेमा खुट्टा भाँचिदिनेसम्मको चेतावनी दिइरहेका छन् । यस्तो अवस्थामा बाहिरै बसेर काम गरिरहेका छौं ।
ताला खोलेलगत्तै त्यसको विरोधमा सोमबार क्रान्तिकारीले मसालजुलुस निकालेको थियो । मशाल जुलुस निकाल्ने क्रममा प्रहरीसँग सामान्य झडप भएको थियो । मंगलबार पनि त्रिविमा तनावको अवस्था छ । त्रिवि प्रशासनले तीनैजना पदाधिकारी प्रवेश गर्ने मूलगेटमा ताला लगाएर प्रहरी तैनाथ छ । अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिका अध्यक्ष दिनेश ऐरले आन्दोलनरत विद्यार्थीसँग वार्ता नगरी ताला खोलेकोमा आक्रोश व्यक्त गर्दै हिजो मंगलबारदेखि रिले धर्ना सुरु गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हामी माग पूरा नभएसम्म आन्दोलन रोक्नेछैनौं । सडकमै सुत्नेछौं, पदाधिकारीको कार्यालयमा धर्ना दिएर कामकाज ठप्प गर्नेछौं ।’ विद्यार्थी संगठनका अधिकारी मंगलबार दिनभर रेक्टर र रजिस्टार कार्यालयमा पुगेर ब्यानर हटाएको विषयमा विरोध जनाएका थिए । हामीसँग वार्ता गरेर ताला खोलेको भए, समस्या समाधान हुन्थ्यो होला, प्रहरी प्रशासनको आडमा हाम्रो आन्दोलन दबाउन गरेको यो हर्कत मान्य हुँदैन ।

त्रिविले गठन गरेको समिति मान्य नहुने स्पष्ट पार्दै त्यतिबेला पाँच महिना अघि सहमति भइसकेको विषयमा फेरि किन समिति चाहियो । अब तत्काल शुल्क घटाएमात्र आन्दोलनको कार्यक्रम फिर्ता हुने उहाँको भनाइ थियो । २५ दिन अगाडिदेखि शुल्कशोषणविरुद्ध थालेको आन्दोलनप्रति उपेक्षा गर्दै विश्वविद्यालयका जिम्मेवार पदाधिकारीले आजसम्म कुनै वार्ता, संवाद र छलफलमा नआउनुले विद्यार्थीको शैक्षिक समस्या र मुद्दालाई बेवास्ता गरेको आरोप संगठनको छ ।

उपकुलपति प्राडा अर्यालले वार्ता समितिले गरेको निर्णयअनुसार शुल्क लागुू हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘सर्वोच्चको आदेशअनुसार ताला खोलेका हौं, सभ्य रूपमा वार्ता गरे त्रिवि तयार छ ।’ विद्यार्थीले भने माग पूरा नभएसम्म धर्ना जारी रहने जनाएको छ । विद्यार्थीले कार्यालयमा प्रवेश गर्न नदिएपछि तीनैजना पदाधिकारी हिजो दिनभर कानुन संकायको डीनको कार्यालयमा बसेका थिए ।

सर्वोच्च अदालतबाट २०८२ असार १८ गते जारी भएको अन्तरिम आदेशको उल्लंघन भएको उल्लेख गर्दै त्रिवि प्रशसनले ताला फोडेको हो । चार महिनाअघि चार विभागमा लिएको शुल्क घटाउने सहमति गरेको स्मरण गराउँदै अध्यक्ष ऐरले उक्त सहमति तत्काल कार्यान्वयनगर्नुपर्ने दोहो¥याउनुभयो । विद्यार्थी आन्दोलन रोक्न तीनैजना पदाधिकारी कार्यालयमा प्रहरी तैनाथ गरिएको छ ।