काठमाडौंमा फोहोर थुप्रिएको समाचार भ्रामक र असत्य

कहीं फोहोर थुप्रिएको छैन, कुर्सीहरु पनि रंगरोगन गरेर राखिसकेका छौं : प्रमुख प्रशासकीय अधिकृत


काठमाडौं ।

केही अनलाइनहरुले काठमाडौंका तत्कालीन मेयर बालेन्द्र साहले राजीनामा दिएपछि काठमाडौंमा फोहोर थुप्रिएको भन्दै प्रकाशन गरेको समाचार असत्य र भ्रामक भएको पाइएको छ । केही अनलाइनहरुले बालेनले राजीनामा दिएर सुनिता डंगोलले कार्यवाहक सम्हालेपछि फोहोर थुप्रिन थालेको भन्दै भ्रामक समाचार प्रकाशन गरेका थिए । सो भ्रामक समाचार भाइरल बनेको थियो ।

त्यसरी अनलाइनमा असत्य समाचार प्रकाशित भएपछि त्यसको तथ्य जाँच गर्दा सो खबर असत्य, झुट र भ्रामक भएको पाइएको हो । काठमाडौं महानगरपालिकाले पनि काठमाडौं उपत्यकामा कहीं कतै कुनै प्रकारको फोहोर नथुप्रिएको र फोहोर थुप्रिएको भन्दै केही अनलाइनमा आएको समाचार असत्य र भ्रामक भएको स्पष्ट पारेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौंको कुनै पनि ठाउँमा कुनै प्रकारको फोहोर नथुप्रिएको र सबै प्रकारका हल्लाहरु निराधार रहेको बताउनुभयो । ‘कहीं कतै कुनै फोहोर थुप्रिएको छैन, केही मिडियाहरुले वास्तविकता बुझ्दै नबुझी मिडिया ट्रायल गर्दै भ्रमपूर्ण समाचार लेखे, त्यसले हामीलाई दुखित तुल्याएको छ’ –प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नेपाल समाचारपत्रसँग भन्नुभयो । ती सञ्चारमाध्यमले केही वर्षअघिका पुराना फोटाहरु राखेर समाचार सम्प्रेषण गरेका थिए ।

यसैगरी काठमाडौंका केही सार्वजनिक ठाउँमा यात्रु आराम गर्न राखिएका कुर्सीसमेत हटाइएको भन्दै गलत समाचार प्रकाशित भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले बताउनुभयो । गुरागाईंका अनुसार ती कुर्सीहरु मर्मत सम्भार र रंगरोगन लगाउन केही सयम अन्यत्र सारिएको र हाल मर्मत र रंगरोगन गरी सबै ठाउँमा कुर्सीहरु राखिसकिएको छ ।