काठमाडौं।
उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता भूपेन्द्र गुरुङलाई न्युयोर्क स्टेट एसेम्बलीले सम्मान गरेको छ । खेलकुद क्षेत्रमा हासिल गरेको उपलब्धीका लागि मेम्बर अफ एसेम्ब्ली स्टिभन बी. रागाले भूपेन्द्रलाई सो सम्मान प्रदान गरेको हो ।
राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका स्वर्ण विजेता भूपेन्द्रले अमेरिका, युके र जर्मनीमा भएका विभिन्न ७ अन्तर्राष्ट्रिय प्रतियोगितामा १३ स्वर्ण र २ रजत पदक जितेका छन् । उनले जर्मनीमा भएको १२ औं विश्व मार्सल आर्ट्स गेम्समा १ स्वर्ण, अमेरिकामा भएको ब्याटल अफ दि ड्रागन विश्व च्याम्पियनसिपमा २ स्वर्ण र युकेमा भएको उमा युरोपियन च्याम्पियनसिपमा ३ स्वर्ण जितेका थिए ।
त्यस्तै, युकेमा भएको आईएमएसी खुला प्रतियोगितामा २ स्वर्ण, अमेरिकामा भएको छैटौं बक्स काउन्टी मार्सल आर्ट्स च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत, युकेमा भएको उमा युरोपियन च्याम्पियनसिपको अर्को संस्करणमा १ स्वर्ण तथा १४ औं विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा २ स्वर्ण र १ रजत जितेका छन् ।
नेपाल उमा कुङफु संघका उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक भूपेन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।











प्रतिक्रिया