काठमाडौं।
राष्ट्रियसभाको १८ सदस्यका लागि आइतबार भएको निर्वाचनमा ९ स्थानमा नेपाली कांग्रेस र ८ स्थानमा नेकपा (एमाले) र एक स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएका छन् ।
शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति हुँदा चुनावी तालमेल गर्ने नीतिअनुसार नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गरेर उम्मेदवारी दिएका थिए । सातवटै प्रदेशको सदरमुकाममा बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको थियो ।
कोशी प्रदेशबाट नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) का रोशनी मेचे (महिला) र सोमनाथ पोर्तेल (दलित) निर्वाचित हुनुभएको छ ।
त्यसै गरी मधेस प्रदेशबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान (दलित) रञ्जित कर्ण (अल्पसंख्यक) लोसपाका महन्थ ठाकुर (अन्य) र नेकपा (एमाले) का रेखाकुमारी झा (महिला) निर्वाचित हुनुभएको छ ।
वागमती प्रदेशबाट नेपाली कांग्रेसका गीता देवकोटा (महिला), नेकपा (एमाले) का प्रेमप्रसाद दंगाल (अन्य), गण्डकी प्रदेशमा नेकपा एमालेका सम्झना देवकोटा (महिला) र नेपाली कांग्रेसका जगत तिमिल्सिना (अन्य) विजयी हुनुभयो । लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेसका वासुदेव जंगली(अपांग) चन्द्रबहादुर केसी (खुला) र नेकपा (एमाले) का रामकुमारी झाँक्री (महिला) निर्वाचित हुनुभएको छ ।
कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजंग शाही (अन्य) नेकपा एमालेका मीनासिंह रखाल (खुल्ला) सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) का लीलाकुमारी भण्डारी (महिला) र नेपाली कांग्रेसका खम्मबहादुर खाती (अन्य) निर्वाचित हुनुभएको छ ।
स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभाका सदस्यहरू मतदाता रहने सो निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मतदान भएको थियो । मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाताहरू अनुपस्थित रहेका थिए । अरू दलका कतिपय सांसद र स्थानीय तहका प्रतिनिधि पनि मतदानमा अनुपस्थित थिए । राष्ट्रियसभामा १९ पद रिक्त हुनेमा एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।











प्रतिक्रिया