लमजुङ।
लमजुङमा पछिल्लो समय पाँच जनामा कुष्ठरोग पुष्टि भएको छ । ७३ औँ कुष्ठरोग विरुद्धको दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत जिल्लामा कुष्ठरोगको अवस्था सार्वजनिक गरिएको हो।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार नयाँ भेटिएका पाँच जनासहित हाल जिल्लामा १० जना कुष्ठरोगका बिरामी उपचाररत छन् । कार्यक्रममा क्षय–कुष्ठ सुपरभाइजर निरोजकुमार श्रेष्ठले कुष्ठरोगको परिचय, विश्व तथा नेपालमा यसको अवस्था, उपचार प्रक्रिया, शंकास्पद लक्षण तथा तथ्यांकबारे जानकारी दिएका थिए ।
कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा जिल्लामा ८ जना कुष्ठरोगका बिरामी रहेका थिए । चालू आर्थिक वर्षको पुस मसान्तसम्म २ महिला र ३ पुरुष गरी ५ जना नयाँ बिरामी थपिएका हुन् । कुल १३ जनामध्ये ३ जनाले नियमित औषधि सेवनमार्फत उपचार पूरा गरिसकेको र हाल १० जना उपचाररत रहेको सुपरभाइजर श्रेष्ठले जानकारी दिए ।
कुष्ठरोग सरुवा भए पनि समयमै उपचार गरे पूर्ण रुपमा निको हुने उल्लेख गर्दै उनले रोगभन्दा पनि यससँग जोडिएका सामाजिक लाञ्छना र विभेद ठूलो चुनौती बनेको बताए । समाजमा विद्यमान गलत धारणाको अन्त्यका लागि सबैको साझा भूमिका आवश्यक रहेको उनको भनाइ थियो ।
कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती’ भन्ने नारासहित सम्पन्न कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख शैलेन्द्रकुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख सिंहले स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा सहभागी विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई कुष्ठरोगको अवस्था, कारण, उपचार प्रक्रिया तथा यससँग जोडिएका सामाजिक विभेद र निवारणका लागि भइरहेका गतिविधिबारे जानकारी गराइएको थियो ।
नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलले स्वास्थ्यजस्तो संवेदनशील विषयमा यस्ता कार्यक्रम उपयोगी हुने बताउँदै समुदायमा सचेतना फैलाउन सञ्चारमाध्यमसँग अझ सशक्त सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।











प्रतिक्रिया