काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा १२ लाख ५२ हजार थान स्मार्टफोन आयात भएका छन्, जसको भन्सार मूल्य २३ अर्ब २९ करोड रुपैयाँँ रहेको छ । भन्सार मूल्यमा नेपाली बजारमा हुने बिक्री मूल्य थपिँदा मोबाइलको खुद्रा मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि हुने गरेको छ । यही मूल्य वृद्धिका कारण मात्रै करिब ९ अर्ब ३१ करोड रुपैयाँँ थप भई कुल कारोबार ३२ अर्ब ६१ करोड रुपैयाँँ बराबरको मोबाइल कारोबार भएको छ । यस अवधिमा राज्यले मोबाइल आयातबाट मात्रै करिब ४ अर्ब ३४ करोड रुपैयाँँ राजस्व संकलन गरेको छ ।
गत आर्थिक वषको पहिलो छ महिनामा भने ११ लाख ११ हजार थान स्मार्टफोन आयात भएका थिए। त्यसबेला मोबाइलको भन्सार मूल्य १६ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो। बजारमा बिक्री हुँदा थप करिब ६ अर्ब ६८ करोड रुपैयाँ जोडिएर कुल कारोबार २३ अर्ब ३९ करोड पुगेको थियो ।
तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा चालु वर्षको पहिलो छ महिनामा मोबाइल बजार करिब ३९ प्रतिशतले विस्तार भएको छ । नेपालमा स्मार्टफोनको प्रयोग र खपत निरन्तर बढ्दै जाँदा मासिक रूपमा मोबाइल आयातसमेत वृद्धि हुँदै गएको देखिन्छ ।नेपाल भित्रिने मोबाइलमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ। आयातकर्ताले मोबाइल आयात गर्दा कुल १८.६५ प्रतिशत राजस्व सरकारलाई तिर्नुपर्ने हुन्छ । त्यसैगरी आयातकर्ता र बिक्रेताको करिब ५.५ प्रतिशत मार्जिन, होलसेल र रिटेल तहमा थपिने नाफा जोडिँदै जाँदा उपभोक्तासम्म पुग्दा मोबाइलको मूल्य आयात मूल्यभन्दा करिब ४० प्रतिशतसम्म महँगो पर्ने गरेको छ ।











प्रतिक्रिया