काठमाडौं ।
संयुक्त अरब इमिरेट्सको अबुधाबीमा युक्रेन, रुस र अमेरिकाबीच त्रिपक्षीय वार्ता जारी रहँदै रुसले युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा यस वर्षकै सबैभन्दा ठूलो आक्रमण गरेको छ। अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनका अनुसार गएराति रुसले किभलगायतका क्षेत्रमा ठूलो संख्यामा मिसाइल र ड्रोनमार्फत हमला गरेको हो। शुक्रबार अबुधाबीमा भएको त्रिपक्षीय वार्ताको पहिलो चरण सकिएलगत्तै रुसले आक्रमण सुरु गरेको बताइएको छ।
वार्ता शनिबार पनि बस्ने तय भएको छ। सीएनएनका अनुसार रुसले एकै रातमा ३७० वटा ड्रोन र २१ वटा मिसाइल प्रहार गरेको हो। आक्रमणमा किभमा एक जनाको मृत्यु र चार जना घाइते भएको किभका मेयर विटाली क्लिस्कोले जानकारी दिएका छन्। उनका अनुसार रूसी हमलाका कारण राजधानीका धेरै भवनहरूमा क्षति पुगेको छ। मिसाइल तथा ड्रोनका खसेका अवशेषका कारण विभिन्न स्थानमा आगलागी भएको र आवासीय संरचनामा व्यापक क्षति पुगेको छ।
करिब ६ हजार अपार्टमेन्टमा ताप आपूर्ति अवरुद्ध भएको छ भने केही क्षेत्रमा पानी आपूर्ति पनि काटिएको छ। शनिबार बिहान किभमा तापक्रम माइनस १२ डिग्री सेल्सियस मापन गरिएको छ। कडाकेको जाडोमा ताप आपूर्ति बन्द हुँदा राजधानीको दैनिक जनजीवन थप कष्टकर बनेको स्थानीय अधिकारीहरूले बताएका छन्। रुसको आक्रमण युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा पनि परेको छ। खार्किभका मेयर इहोर तेरेखोभका अनुसार त्यहाँ एक प्रसूति अस्पताल र विस्थापितहरू बस्दै आएको छात्रावासमा क्षति पुगेको छ।
सो सहरमा एक बालकसहित कम्तीमा १९ जना घाइते भएका छन्। यसका साथै सुमी र चेर्निहिभलगायत अन्य क्षेत्रहरू पनि आक्रमणको चपेटामा परेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणको मुख्य निशाना युक्रेनको ऊर्जा पूर्वाधार रहेको बताएका छन्। कडाकेको जाडोका बेला ऊर्जा क्षेत्र अत्यन्त संवेदनशील अवस्थामा रहेकाले सर्वसाधारणमाथि प्रत्यक्ष असर पर्ने उद्देश्यले आक्रमण गरिएको उनको आरोप छ। यी आक्रमणहरू अबुधाबीमा भएको त्रिपक्षीय वार्ताको पहिलो दिन सकिएको लगत्तै भएका हुन्। वार्तामा रुसतर्फबाट उच्च सैन्य तथा गुप्तचर अधिकारीहरू, युक्रेनतर्फबाट कूटनीतिज्ञ र सुरक्षा अधिकारीहरू सहभागी छन् ।
अमेरिकाको प्रतिनिधित्व राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विट्कोफ, उनका ज्वाइँ जारेड कुश्नर तथा ह्वाइट हाउसका सल्लाहकार जोश ग्रुएनबामले गरेका छन् । वार्ताको केन्द्रबिन्दु युक्रेनको पूर्वी डोनबास क्षेत्र रहेको अनुमान गरिएको छ। खनिज, उर्वर जमिन र महत्वपूर्ण नदीहरू रहेको उक्त क्षेत्रमा रुसले युक्रेनले नियन्त्रणमा राखेका भूभाग त्याग्न माग गर्दै आएको छ, जसलाई किभले निरन्तर अस्वीकार गर्दै आएको छ ।
ट्रम्प प्रशासनले शान्ति सम्झौताको नाममा युक्रेनमाथि दबाब बढाइरहेको आरोप लागिरहेको बेला, यस्तो सम्झौताले मस्कोलाई रणनीतिक फाइदा पुग्ने चिन्ता युक्रेन र उसका सहयोगी राष्ट्रहरूमा व्यापक रूपमा व्यक्त हुँदै आएको छ । पूर्णस्तरको आक्रमण सुरु गरेको करिब चार वर्षपछि पनि रुसले अन्तर्राष्ट्रिय रूपमा मान्य युक्रेनी भूभागको करिब २० प्रतिशत क्षेत्र नियन्त्रणमा राखेको छ।
यसमा लुहान्स्कको अधिकांश भाग तथा दोनेत्स्क, खेरसोन र जापोरिज्झियाका केही क्षेत्र समावेश छन् . अबुधाबी वार्ताबाट कूटनीतिक समाधानको अपेक्षा गरिँदै गर्दा, रुसले आक्रमणलाई झन तीव्र बनाउनु शान्ति प्रयासमाथि गम्भीर प्रश्न उठाउने संकेतका रूपमा हेरिएको छ ।











प्रतिक्रिया