म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन


काठमाडौँ। 

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले समर्थन गर्ने घोषणा गरेको छ। पार्टीका प्रवक्ता डा. राजु थापाले विज्ञप्ति जारी गर्दै पुनलाई समर्थन गरिएको जानकारी दिएका हुन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीसहित केही अन्य दलहरूले पनि आफ्ना उम्मेदवार निष्क्रिय बनाउँदै पुनलाई समर्थन जनाइसकेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी गाउँमा जन्मिएका पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत हुन्। उनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी दिएका थिए।

उनको फरक र रोचक प्रचार शैलीका कारण सामाजिक सञ्जालमा पनि व्यापक चर्चा भइरहेको छ।