भारी हिमपातले सुदूरपश्चिमका राजमार्ग अवरुद्ध


काठमाडौँ।

भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यातायात सेवा ठप्प भएको छ। बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा हिमपात भएपछि दशरथचन्द र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध छन्। राजमार्ग बन्द हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।

हिमपातसँगै विद्युत् सेवा पनि अवरुद्ध भएको र पुनः सञ्चालनका लागि पहल भइरहेको प्रहरीको भनाइ छ। यस्तै डडेल्धुराको साहुखर्क र हगुल्टेल क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प भएको छ।

शुक्रबार बेलुकादेखि बैतडीसहित दार्चुला, बझाङ, डोटी र डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो। लामो समयपछि परेको हिउँदे वर्षा र हिमपातले किसानहरू भने खुसी भएका छन्। तर अत्यधिक चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ।