खोटाङ।
खोटाङमा कोटा अनुसारको निर्वाचन प्रहरी अपुग भएपछि छिमेकी जिल्लाबाट पुर्ति गरिने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा माग गरिएको निर्वाचन प्रहरीको आवश्यक संख्याभन्दा पनि कम दरखास्त परेपछि छिमेकी जिल्लाबाट पुर्ति गरिने भएको हो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङको लागि निर्धारण गरिएको एक हजार २ सय ८२ जना निर्वाचन प्रहरीका लागि आवेदन आह्वान गरिएकामा एक हजार १ सय ७३ जनाको मात्रै दरखास्त परेको छ । सरकारले निर्वाचन प्रहरी भर्नाका लागि पुस–२५ देखि माघ–१ गतेसम्म दरखास्त दिने समय तोकेको थियो । उक्त अवधीमा आवश्यकताअनुसार जिल्लाबाट आवेदन नपरेपछि माघ–३ गतेसम्म दरखास्त दिने म्याद थप गरिएको थियो । तर पनि सो संख्यामा आबेदन नपरेको जनाईएको छ ।
केन्द्रले निर्धारण गरेको कोटाअनुसार आवश्यक १ सय ९ जना अपुग निर्वाचन प्रहरी छिमेकी जिल्लाबाट ल्याएर पदपूर्ति गरिने निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जनाइन् । आबेदकहरुका लागि बुधबार नै लिखित तथा मौखिक परीक्षा सञ्चालन गरिएको उपसमिति संयोजक एवम् जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रजिअ राईको भनाई छ ।
यही माघ–१२ गतेभित्र निर्वाचन प्रहरी छनोटको नतिजा सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।
आगामी निर्वाचनका लागि खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आगामी निर्वाचनका लागि जिल्लामा १ सय ३६ वटा मतदानस्थल तथा १ सय ९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ४७ हजार १ सय २० जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी रविन मगरले जनाए ।











प्रतिक्रिया