काठमाडौं ।
लगातार दुई खेलमा हार्नु र अर्को खेलमा स्कटल्यान्डको जितले आयोजक नेपाललाई जारी महिला टी २० ग्लोबल क्वालिफायरमा कठिन मोडमा पु¥याएकोे छ । बिहीबार त्रिवि रंगशालामा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले २ रनले हराएको हो । यो नेपालको लगातार दोस्रो हार पनि हो । यसै समूह बी को अर्को खेलमा स्कटल्यान्डले जिम्बावेलाई ५ विकेटले हराएर २ अंक जोड्न सफल भयो ।
समूह बी बाट नेदरल्यान्ड्सले लगालग तीन जितसँगैं सुपर सिक्समा स्थान सुरक्षित गरिसकेको छ । थाइल्यान्डले २ खेलमा ४ अंक जोडेको छ र थाइल्यान्डले नेपाललाई हराइसकेको पनि छ । यो नतिजाहरूले नेपालको सुपर सिक्समा पुग्ने संभावना कमजोर बनाएकोे छ ।
नेपालको लागि सुपर सिक्सको संभावना जिवितै राख्ने हो भने अर्को बाँकी दुई खेलमा जित निकाल्नु पर्नेछ । यस समूहमा जिम्बावेको लागि लगातार तीन खेल हारेपछि सुपर सिक्समा पुग्ने कुनै संभावना छैन । स्कटल्यान्डले खेलेको दुई खेलको प्रदर्शन हेर्ने हो भने स्कटल्यान्ड पनि नेपालको लागि तगारो बन्ने देखिन्छ । तर, योभन्दा पहिला शनिबार हुने जिम्बावेविरुद्धको खेल नेपालले जित्नु पर्नेछ । यदि, यो खेलमा हारेमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।
नेपाल जित्दाजित्दै हा¥यो
नेदरल्यान्ड्सले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा १ सय ४० रन बनायो । यो स्कोर कुनै पनि टोलीको लागि चुनौतीपूर्ण नै थियो । नेपालको लागि पनि यो चुनौतीपूर्ण नै बन्यो । नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३८ रन बनाएर २ रनको दुर्भाग्यपूर्ण हार बेहोर्नु परेको थियो ।
जब, नेपालले ९३ रनमा १६.२ ओभरमा सातौं विकेटको रूपमा कविता कुँवरलाई गुमायो । यो विकेट गुमेपछि उनको स्थानमा आएकी अनुभवी खेलाडी सीता रानामगरले आक्रमक ब्याटिङ प्रदर्शन गरिन् । उनले १८ औं ओभरमा १ रनका साथै तीन चौका र एक छक्का प्रहार गरेर १९ रन बटुलेपछि नेपालको जित्ने संभावना बढेको थियो ।
यसपछि अर्को ओभरमा रुबीना क्षेत्री र सीताले एक–एक चौका प्रहार गरे । उनीहरूले यसमा ११ रन नेपालको लागि बटुलेपछि जित दर्ता गर्न अन्तिम ओभरमा १३ रन लिनु पर्ने थियो । तर, अन्तिम ओभर बलिङ गरेकी हिदर सिजरले पहिलो ५ बलमा कुनै पनि बाउन्ड्री हान्न दिइनन् । यसले नेपालले अन्तिम बलमा छक्का प्रहार गर्नुबाहेक कुनै विकल्प नै बचेन । छक्का (६ रन) प्रहार गरेमा स्कोेर बराबर हुने र सुपरओभरमा खेल पुग्ने समीकरण बनेको थियो । तर, रुबीनाले प्रहार गरेको बल चौका भएपछि नेपाली टोलीको हार भएको थियोे ।
रुबीना र सीताको सानदार ब्याटिङ
७ विकेट गुमेपछि कुनै आसा नभएको अवस्थामा रुबीना र सीताले आठौं विकेटका २२ बलमा ४५ रनको साझेदारी गरेका थिए । रुबीनाले ३२ बलमा ५ चौकाको सहयोगमा ३७ रन बनाईन् भने सीताले १२ बलमै २७ रन जोडिन् । उनको आकर्षक ब्याटिङमा ४ चौका र १ छक्का सामेल थियो ।
रुबीना १ हजार रनमा, सीतालाई ८ रनको जरूरी
यो हार भएपनि रुबीनाले यसै खेलमार्फत् महिला टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छन् । उनी यो उपलब्धिमा पुग्ने नेपालकी दोस्रो खेलाडी हुन् । यसअघि कप्तान इन्दु बर्माले १ हजार रन पूरा गरेकी थिइन् । यस्तै, सीताले अर्को खेलमा ८ रन बनाएमा उनी पनि १ हजार रनमा पुग्नेछिन् । उनले ९ सय ९२ रन बनाएकी छन् ।











प्रतिक्रिया