पूर्व सभामुखसँग भिड्दै तीनजना सशक्त महिला उम्मेदवार

1.03k
Shares

भद्रपुर ।

झापाको क्षेत्र नं २ मा पूर्व सभामुख देवराज घिमिरेसँग भिड्दै तीनजना सशक्त महिला उम्मेदवारले उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रबाट उम्मेदवारी दिने तीन महिलामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर, नेपाली कांग्रेसका तर्फबाट पूर्व राष्ट्रियसभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री सरिता प्रसाईं र पहिलो संविधान सभा सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री धर्मशीला चापागाईं हुनुहुन्छ ।

निवर्तमान सभामुख देवराज घिमिरे र अघिल्लो निर्वाचनका उपविजेता राष्ट्रिय प्रजातन्त्र पार्टीका स्वागत (भद्रप्रसाद) नेपालले उम्मेदवारी दिएको यस क्षेत्रबाट उम्मेदवारी दिने अवसर पाएका महिला उम्मेदवारहरूले आफ्नो शक्ति प्रदर्शन गर्नुपर्ने चुनौती छ ।

झापाका कुल ९० जना उम्मेदवारमध्ये जम्मा १५ जना महिला उम्मेदवार छन् । संख्यात्मक हिसाबले करिब १६ प्रतिशत रहेका महिला उम्मेदवारहरूको पृष्ठभूमि पुरुष उम्मेदवारभन्दा कम क्षमतावान छैनन् ।

त्यस्तै, झापा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले एमालेका रामचन्द्र उप्रेती र कांग्रेसका केशवराज पाण्डेलाई कडा टक्कर दिनुपर्ने चुनौती छ । उप्रेती सहकारी विज्ञ हुनुहुन्छ भने युवा नेता पाण्डे कांग्रेसका जिल्ला उपसभापति हुनुहुन्छ । विघटित प्रतिनिधिसभामा कान्छी सांसदको रूपमा रहनुभएकी डाँगी यसअघि समानुपातिक तर्फबाट सांसद बन्नुभएको थियो । उहाँ पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको छ ।

त्यस्तै, झापा ५ मा कांग्रेसकी नयाँ अनुहार मन्धरा चिमरियालाई अझ ठूलो चुनौती छ । त्यस क्षेत्रमा एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह उम्मेदवार बन्नुभएको छ ।

झापामा सात दलबाट १३ तथा २ महिलाले स्वतन्त्र मनोनयन दर्ता गराएका छन् । जसमध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र नं. २ मा ५ वटा राजनीतिक दलबाट ५ जना महिलाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं.२ मा इन्दिरा, सरिता र धर्मशीलाका साथै नेपाल किसान मजदुर पार्टीबाट चन्द्रकुमारी गारु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती, क्षेत्र नं. ३ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला साँवा, नेपाल किसान मजदुर पार्टीबाट धर्मलक्ष्मी दुलाल र जनता समाजवादी पार्टीबाट बिनिताकुमारी राजवंशीले उम्मेदवारी दिनुभएको छ ।

त्यसै गरी झापा क्षेत्र नं. ५ मा नेपाली कांग्रेसबाट मन्धरा चिमरिया, स्वतन्त्र रूपमा सञ्जना गौतम र शोभा भण्डारी, क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी र जनता समाजवादी पार्टीबाट रमा मेचे तथा क्षेत्र नं. ४ मा श्रम संस्कृति पार्टीबाट अमृतादेवी राई र नेपाल मजदुर किसान पार्टीबाट तुल्सीलक्ष्मी दुमरुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अघिल्लो निर्वाचनमा झापाबाट प्रमुख दलहरूले खासै महिला उम्मेदवार उठाएका थिएनन् । २०७४ सालको निर्वाचनमा झापा २ मा एमालेकी पवित्रा निरौला खरेलले निर्वाचन जित्नुभएको थियो । त्यसभन्दा अगाडि २०६४ सालको पहिलो संविधान सभा सदस्य निर्वाचनमा तत्कालीन माओवादी पार्टीकी धर्मशीला चापागाईंले जित्नुभएको थियो । त्यसबाहेक झापाबाट संसदीय निर्वाचनमा महिला उम्मेदवारहरूले जित्न सक्नुभएको छैन ।