पुस ३० सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा करिब १८ प्रतिशत कमी


काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन। पुस ३० गतेसम्मको विवरणअनुसार सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ, जुन पुससम्मको लक्ष्यको ८१.७५ प्रतिशत मात्र हो।

सरकारले चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। यसमध्ये पुससम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ उठाउने लक्ष्य रहे पनि सो लक्ष्यभन्दा करिब १ खर्ब ३० अर्ब रुपैयाँ कम राजस्व सङ्कलन भएको देखिएको छ।

पुस महिनामात्रै १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिइएकोमा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ। यो लक्ष्यको ८९.९६ प्रतिशत हो। पुस ३० गते एकै दिनमा २० अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको RMIS ले जनाएको छ।

गत वर्षको तुलनामा सुधार भए पनि लक्ष्य अपूरो

गत आर्थिक वर्ष २०८१/८२ मा भने सरकारले पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। सो वर्ष पुस महिनामा १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठेको थियो। चालु वर्षमा अघिल्लो वर्षको तुलनामा सङ्कलनमा केही सुधार देखिए पनि लक्ष्य अनुसारको प्रगति भने हुन सकेको छैन।

आर्थिक गतिविधिमा अपेक्षित सुधार नआउनु, आयातमा सुस्तता र कर प्रणालीको प्रभावकारितामा देखिएका समस्या राजस्व लक्ष्य हासिल हुन नसक्नुका मुख्य कारणका रूपमा अर्थविद्हरूले औँल्याउँदै आएका छन्।

सरकारले बाँकी महिनामा राजस्व सङ्कलन बढाउन कर प्रशासन सुधार, राजस्व चुहावट नियन्त्रण र आर्थिक गतिविधि चलायमान बनाउने उपाय अवलम्बन गर्नुपर्ने चुनौती बढ्दै गएको छ।