ओखलढुंगामा कांग्रेसको अन्तिम घडीमा टिकट उल्टफेर, रामहरि खतिवडाको सट्टा कुमार लुइटेल उम्मेदवार


काठमाडौं ।

नेपाली कांग्रेसले ओखलढुंगामा अन्तिम समयमा उम्मेदवार फेरबदल गरेको छ। यसअघि टिकट पाएका तथा अघिल्लो निर्वाचनमा विजयी रामहरि खतिवडाको नाम अन्तिम सूचीबाट हटाउँदै कांग्रेसले कुमार लुइटेललाई उम्मेदवार बनाएको हो। पार्टी स्रोतका अनुसार केन्द्रीय तहको अन्तिम निर्णयअनुसार मंगलबार राति उम्मेदवारको नाम फेरिएको हो। उम्मेदवारी दर्ताको अन्तिम घडीमा गरिएको यो निर्णयले ओखलढुंगाको राजनीतिक वातावरण थप तरंगित बनेको छ।

रामहरि खतिवडा यसअघि लोकप्रिय उम्मेदवारका रूपमा चिनिँदै आएका थिए। उनी पुनः उम्मेदवार बन्ने लगभग निश्चित जस्तै देखिएको अवस्थामा पार्टीको यो निर्णय आएको हो। अन्तिम समयमा गरिएको टिकट उल्टफेरप्रति जिल्ला तहका नेता तथा कार्यकर्ताबीच असन्तुष्टि चुलिएको छ।

कांग्रेसभित्र आन्तरिक विरोध बढ्ने संकेत देखिएको छ भने कतिपय कार्यकर्ताले पार्टी नेतृत्वप्रति प्रश्न उठाउन थालेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार बारम्बार देखिँदै आएको टिकट वितरणको विवादले कांग्रेसको संगठनात्मक एकतामा नकारात्मक असर पार्ने खतरा बढ्दै गएको छ। ओखलढुंगामा कांग्रेसको यो निर्णयले निर्वाचनको समीकरणलाई थप रोचक बनाएको छ।