मानिस भएका नाताले तपाईं शान्तिलाई कसरी परिभाषित गर्नुहुन्छ ! तपाईं कुन कुरालाई शान्ति यो हो भनेर बुझ्नुहुन्छ ! तपाईं कुन कुरालाई आफ्नो जीवनमा बढी प्राथमिकता दिनुहुन्छ ?
हामी संसारलाई हेरेर आफ्ना आवश्यकता अनि प्राथमिकताहरूको निर्धारण गर्छौँ । त्यसपश्चात् जीवनभरि तिनै आवश्यकता र इच्छाहरूलाई पूरा गर्ने सपना देखिरहन्छौँ । तिनै कुरालाई आफ्नो प्राथमिकताको सूचीमा राख्छौँ । तर, हामी के बिर्सन्छौँ भने सृष्टिकर्ताले पहिला नै हाम्रो हृदयमा एउटा तिर्खा, एउटा चाहना राखेका छन् ।
त्यो तिर्खालाई बुझ्नका लागि संसारतिर होइन, केवल आफ्नो हृदयभित्र हेर्नुपर्छ । त्यो तिर्खा हो– वास्तविक सुख अनि वास्तविक शान्तिको । जीवनमा हाम्रो प्राथमिकता शान्ति हो । यो कुरालाई बुझ्नु अत्यन्तै आवश्यक छ । शान्ति कुनै कल्पना गर्ने कुरा होइन । शान्ति त हरेक मानिसले आफूभित्रै महसुस गर्न सक्ने एउटा अनुभव हो । किनकि शान्ति अन्त होइन, हामीभित्रै छ । वास्तवमा यो त खुशीको खबर हो ।
यसै सन्दर्भमा एउटा कथा छ । एकजना मानिस थिए । उनी चाहन्थे– उनको जीवनमा केही उन्नति होओस् । एकदिन उनले आफ्नो परिवारलाई बोलाए । सबै सदस्यसँग भने– ‘म केही वर्षका लागि विदेश जान लागेको छु । त्यहाँ कुनै काम गर्नेछु, धन कमाउनेछु । म फर्केर आउँदा एकदम धेरै धन लिएर आउनेछु । त्यसपछि हामी आनन्दपूर्वक रहनेछौँ ।’ उनी विदेश गए । उनले काम गरे । निकै धन पनि कमाए । धन कमाएपश्चात् उनी फर्केर घर आइरहेका थिए । फर्कने क्रममा उनले एउटा होटलमा बास बस्नुपर्ने भयो । सुत्नेबित्तिकै उनलाई निद्राले छोपिहाल्यो ।
निदाएपछि उनले एउटा सपना देखे । उनका बालबच्चाहरू अब त ठूला भइसकेका रहेछन् । उनीहरू सबैजना चोरी गरिरहेका रहेछन् । उनलाई यो कुरा पटक्कै मन परेन । उनलाई भित्रभित्रै एकदमै रिस उठिरहेको थियो । उनी भोलिपल्ट बिहान उठेपछि आफ्नो घरतिर लागे । जाँदा–जाँदा रात प¥यो । त्यस दिन पनि उनी एउटा होटलतिर बास बसे । निद्रा लाग्नासाथ उनले फेरि सपना देखे– उनकी श्रीमतीको व्यवहार, उनको चरित्र राम्रो थिएन । त्यो रातमा त उनलाई झनै रिस उठ्यो ।
उनी केवल सपना देखिरहेका थिए । तर, सपना र वास्तविकतामा फरक छुट्याउन सकिरहेका थिएनन् । भोलिपल्ट उनी घर जान भनेर हिँडे । घर पुग्नुभन्दा अगाडि उनले सोचे– म यस्तो परिवारसँग भेट्न जाँदै छु, जसले मेरो प्रतीक्षा पनि गर्न सकेनन् । यदि यो सबै धन उनीहरूलाई सुम्पेँ भने त उनीहरूले बर्बाद पारिदिन सक्छन् । त्यसपछि उनले त्यहीँनिर एउटा खाडल खनेर त्यो पूरै धनलाई गाडिदिए । उनी घर पुगेका मात्र के थिए बालबच्चाहरू त खुशी हुँदै ढोग गर्न आइपुगे । तर, उनले छोराछोरी र आफ्नी श्रीमतीलाई तथानाम गाली गरेर घरबाट निकालिदिए ।
रात परेपछि फेरि उनले सपना देखे– उनका छोराछोरी, उनकी श्रीमती रोइरहेका थिए । अनि, उनीहरूले केही पनि नराम्रो काम गरेकै थिएनन् । यो सबै उनको भ्रममात्रै थियो । उनी सपनाबाट बिउँझिँदा त घरमा कोही पनि थिएनन् । उनलाई योसम्म पनि थाहा भएन– उनीहरू कहाँ गए । उनले सोचे– ‘कमसेकम जुन धन खाडलमा गाडिएको थियो त्यसलाई घर ल्याउनुप¥यो ।’ उनी आफ्नो धन खोज्नका लागि गए तर उनलाई त्यो धन कहाँ गाडेका थिएँ भन्ने कुराको पत्तै भएन । उनी स्वयंले पनि खोज्न नसक्ने त्यो धनलाई कस्तो स्थानमा उनले लुकाएर राखेका थिए होलान् !
यो कथा हामी मानिसको हो । किनभने, यो संसारमा हरेक मानिस केही कमाउनका लागि आएको छ । तथापि, ऊ आफ्नो सपनामा नै हराइरहेको हुन्छ । उसले सपनालाई नै सत्य मान्न थाल्छ । हृदयमा लुकेर बसेको जुन वास्तविकता छ, त्यसलाई उसले भुल्छ । उसले जति पनि कमाइ गरेको छ त्यसलाई उसले कतै छोडिदिन्छ । कतै राखिदिन्छ । अनि, जब समय आउँछ, जसको प्रतीक्षा थियो, त्यसलाई पनि स्वीकार गर्न सक्दैन । किनभने, जीवनभरि सपना देख्नमा नै बिताइदिन्छ ।
अब त्यो सपनाबाट बिउँझने समय आएको छ । तपाईं जीवित हुनुहुन्छ । यो सपना होइन । तपाईंभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ । यो सपना होइन । यो श्वासको क्षमतालाई बुझ्नुहोस् ।
तपाईंलाई यो जीवन प्राप्त भएको छ । बाँच्ने अवसर प्राप्त भएको छ । जबसम्म जीवन छ, तपाईं धेरै कुरा गर्न सक्नुहुन्छ । केवल यो सम्भावनालाई स्वीकार गर्नुहोस् । यो जीवनलाई स्वीकार गर्नुहोस् ! आफूले आपैmँलाई चिन्नुहोस्, पहिचान गर्नुहोस् । आफूभित्र विराजमान त्यो शक्तिलाई चिन्नुहोस्, जसको कृपा हरेक श्वासका साथमा तपाईंभित्र वर्षिरहेको छ । तपाईंले स्वयंलाई चिन्नुभएपछि बाँकी सबै सम्भावनालाई पनि स्वीकार गर्नुहुनेछ ।
जुन दिन तपाईं स्वयंलाई बदल्नुहुनेछ, त्यस दिन बाँकी सबै कुरा बदलिनेछन् । तपाईंको जीवन पनि परिवर्तन हुनेछ ! यदि तपाईं आफ्नो जीवनमा शान्तिलाई अपनाउनुहुन्छ भने यो जीवन हराभरा हुनेछ । केवल यो सम्भावनालाई स्वीकार गर्नु छ– ‘मलाई यो जीवन प्राप्त भएको छ । म जीवनमा सदा रहिरहने त्यो आनन्द, त्यो सुखलाई प्राप्त गर्न चाहन्छु ।’ यो जीवन शान्तिको रङ्गमा रङ्गिनका लागि प्राप्त भएको हो । यो जीवन हृदयलाई रङ्गाउनका लागि प्राप्त भएको हो । आफ्नो जीवनलाई शान्तिको रङ्गले रङ्गाएर तपाईं सुख र चैनका साथ यो जीवन बिताउन सक्नुहुन्छ ।
यदि कसैले खेतलाई त्यत्तिकै छोडिदियो । त्यसमा खेती गरेन । केही पनि मिहिनेत गरेन भने त्यस्तो खेत त बिस्तारै–बिस्तारै बाँझो बन्न पुुग्दछ । यदि त्यहाँ उन्नत किसिमको बीउ रोपेनौँ, पानी लगाएनौँ भने के हुनेछ ? जहाँ गहुँ फल्थ्यो, जहाँ फलफूल हुने गथ्र्यो, अब त्यहाँ मानिसका लागि केही काम नलाग्ने चीजहरू उम्रिन थाल्छन् । त्यो खेत बाँझो बन्न थाल्छ ।
यदि तपाईंले कुनै त्यस्तो बिरुवा रोप्नुभयो, जसले फल अथवा तरकारी दिन्छ भने तिनलाई पानी चाहिन्छ । यदि तिनले पानी पाएनन् भने त्यो खेतमा त्यस्ता चीजहरू फल्दछन् जसलाई पानीको आवश्यकता पर्दैन– जस्तै ः खर, घाँस, पात आदि । त्यसकारण हामीले पनि आफ्नो जीवनमा यो जीवनरूपी खेत पाएका छौँ । यसमा हामीले कतिको परिश्रम गरिरहेका छौँ ? यो खेतमा हामीले कुन–कुन बाली लगाएका छौँ ? यो खेतमा कुनचाहिँ बाली रोपेका छाँै ? यस जीवनरूपी खेतमा पनि यदि हामीले मिहिनेत गरेनौँ, पानी हालेनौँ भने यो पनि बिस्तारै–बिस्तारै बाँझो हुँदै जानेछ ।
वास्तविकता के हो भने, तपाईंले आफ्नो यस जीवनरूपी खेतमा प्रत्येक श्वासका साथ केही न केही रोपिरहनुभएको छ । जुन प्रत्येक श्वास तपार्ईंभित्र चलिरहेको छ– भित्र आएर गएपछि एउटा बीउ रोप्नुभयो । फेरि दोस्रोपटक भित्र आउँछ र जान्छ– फेरि अर्को बीउ रोपियो । चाहे तपाईंले बीउ रोप्ने कोशिश गर्नुहोस् या नगर्नुहोस्, बाली त रोपिँदै छ । यसमा तपाईंले पनि केही गर्न सक्नुहुन्न । यदि तपाईंले बीउ नरोपियोस् भन्ने चाहना राख्नुभयोे भने पनि यो सम्भव छैन । केवल यतिमात्र सम्भव छ, कुनचाहिँ बीउ रोप्न चाहनुहुन्छ ? यो बुझ्नुपर्ने कुरा छ– अहिलेसम्म तपाईंले कुनचाहिँ बाली लगाउनुभयो ?
तपाईंले श्वास लिइरहनुभयो तर तपाईंको मन कहिले यता दौडिरहन्छ त कहिले उता दौडिरहन्छ । धेरैजसो अन्य थुप्रै कुराहरूका बारेमा चिन्ता लागिरहन्छ तर तपाईंले यो जुन श्वास अहिले भर्खरै लिनुभयो– योसँग कुनचाहिँ बीउ रोप्नुभयो ? यसका बारेमा तपाईं चिन्तै गर्नुहुन्न । यस संसारमा छौँ भने यस कुराका बारेमा पनि सोच्नुपर्छ र अरु कुराका बारेमा सोच्नुपर्छ । तर, त्यसको अर्थ त्यसैमा भएभरको समयलाई बिताउनुपर्छ भन्ने पनि होइन । जब तपाईं खाना पकाउनुहुन्छ भने त्यसमा नुन पनि हाल्नुहुन्छ । तर, त्यसको मतलब तपाईं बसी–बसी नुनमात्रै हालिरहनुहुन्छ भन्ने पनि होइन ।
नुन हाल्नाले खाने कुरामा स्वाद आउँछ । स्वादिलो हुन्छ । तर, यसको तात्पर्य जति धेरै हालिन्छ त्यति नै धेरै स्वादिलो हुन्छ भन्ने होइन । यदि धेरै हाल्यौँ भने, जुन कुराले स्वादिलो हुन्थ्यो अब त्यसैले खानेकुरालाई खान नसकिने बनाइदिन्छ । यस संसारमा हरेक विषय खाने कुरामा नुन धेरै हालेपछि उत्पन्न हुने समस्याजस्तै भइरहन्छ । यस जीवनमा केवल एउटै कुरा छ । यसलाई तपाईंले जति धेरै चिन्ता गर्नुहुन्छ, तपाईंलाई त्यति नै धेरै आनन्द मिल्नेछ । त्यो चीज तपाईंभित्र रहेको प्रत्येक श्वासमा चलिरहेको छ । आफूले कतै खोज्नुपर्दैन ।
प्रत्येक श्वास, जुन अमूल्य छ । जुन तपाईंभित्र चलिरहेको छ । जुन श्वास तपाईंभित्र आउँछ त्यसले तपाईंका लागि के ल्याउँछ ? जसका कारणले तपाईं मुस्कुराउन सक्नुहुन्छ, जसका कारणले तपाईं देख्न सक्नुहुन्छ, जसका कारणले तपाईंले अनुभव गर्न सक्नुहुन्छ । त्यही चीजका कारणले आज यस संसारमा सबै कुरा भइरहेको छ, ठूला–ठूला आविष्कार भएका छन् । नयाँ–नयाँ कुराहरू बनिरहेका छन्, अचम्म–अचम्मका कुराहरू बनिरहेका छन् । तर, जसका कारणले यी सबै कुरा भइरहेका छन् ती चीजप्रति कसैले पनि ध्यान दिइरहेका छैनन् । यदि त्यो चीज निस्किएर गयो भने त्यसपछि न कोही वृद्ध हुन्छ, न कोही जवान रहन्छ; न कोही नोकर, न कोही मालिक । ती सबै कुरा समाप्त !
जब त्यो हृदयको ढोका खुल्दछ तब मानिस भित्रतिर जान्छ । भित्र के छ ? भित्र त्यो चीज छ जुन अन्तिम क्षणसम्म मानिससँगै रहनेछ । त्यसको कुनै मूल्य छैन । त्यो अमूल्य छ । त्यो सदैव तपाईंसँगै छ र तपाईंसँगै रहनेछ । तपाईं त्यसबाट उम्किन सक्नुहुन्न । जुन दिन तपाईं त्यसबाट मुक्त हुनुहुनेछ, तपाईं रहनुहुने छैन । जबसम्म तपाईं जीवित हुनुहुन्छ, तबसम्म त्यो तपाईंसँगै रहन्छ । त्यो कुनचाहिँ ढोका हो ? त्यो ढोका हो– साँचो शान्तिको ढोका । वास्तविक शान्तिको !
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)











प्रतिक्रिया