यलम्बर कप ब्याडमिन्टन माघमा


काठमाडौं ।

नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४ गतेदेखि हुने भएको छ । प्रतियोगिता ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ७० हजार रुपैयाँ रहेको क्लबका महासचिव पुष्पराज राईले जानकारी गराए ।

पुरुष डबल्स ‘ए’ मा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार जित्ने छन् । पुरुष डबल्स ‘बी’, महिला डबल्स र भेट्रान डबल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ४० हजार, २० हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यु–१७ को विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले २५÷२५ सय नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । नखिपोटस्थित आयोजककै कभर्डहलमा हुने चारदिने प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए ।