काठमाडौं–४ बाट चुनाव लड्ने तयारीमा राजु पाण्डे


काठमाडौँ।

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बन्ने तयारीमा लागेको चर्चा राजनीतिक वृत्तमा चलेको छ।

मेयर बालेन शाहसँग नजिक मानिने स्रोतका अनुसार पाण्डे मेयर शाहसँगै पदबाट राजीनामा दिने तयारीमा छन्। सोही स्रोतका अनुसार मेयर शाहले पाण्डेलाई काठमाडौं–४ बाट उम्मेदवार बनाउने गृहकार्य गरिरहेका छन्।

यद्यपि, यस विषयमा पाण्डेले मेयर शाहले पद छाडेपछि आफू महानगरपालिकामा नरहने स्पष्ट पारेका छन्। तर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नेबारे भने उनले औपचारिक रूपमा कुनै पुष्टि गरेका छैनन्।

मेयर बालेन शाह पनि माघ ४ गते पदबाट राजीनामा दिने तयारीमा रहेको बताइएको छ। काठमाडौं–४ बाट हाल कांग्रेस महामन्त्री गगन थापा लगातार निर्वाचित हुँदै आएका छन् र यसपटक पनि उम्मेदवारी दिने तयारीमा रहेका छन्।

पाण्डेलाई गगन थापासँग प्रतिष्पर्धामा उतार्ने र मेयर शाह स्वयं अर्को निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने चर्चा पनि राजनीतिक क्षेत्रमा चलिरहेको छ।