रुस–युक्रेन युद्ध : इतिहासले माफ नगर्ने निर्णयहरू

2.82k
Shares

युद्ध कहिल्यै सीमाको रेखा बदल्ने खेल मात्र हुंदैन, यो मानवजीवन, सभ्यता र भविष्यसँग जोडिएको हुन्छ । रुस–युक्रेन युद्ध त्यसको ज्वलन्त उदाहरण हो । जहाँ राजनीतिक महत्वाकांक्षा, सामरिक अहंकार र शक्ति प्रदर्शनको नाममा इतिहासकै सबैभन्दा ठूलो मानवीय र आर्थिक विनाशमध्ये एक परिदृश्यको रुपमा स्थापित भएको छ । यो युद्ध कुनै एक देशको हार–जितको कथा होइन, बरु विश्वका शक्तिशाली मुलुकका नेतृत्वले गरेको गलत निर्णयहरूको दस्तावेज हो । जसलाई इतिहासले सजिलै माफ गर्न सक्दैन । यस्ता युद्धले शक्ति राष्ट्रहरुको स्वार्थपूर्ति गरे पनि गरिब र साना मुलुकका लागि भने सधैँ डर र त्रासको वातावरण र्सिजना गर्छ ।

युद्धमा सधैँ बन्दुक र बारुदको मात्र कथा हुँदैन । शक्ति, अहंकार र गलत निर्णयको परिणाम आउने गर्दछ, जसको मूल्य पुस्तौंले चुकाउनुपर्ने देखिन्छ । रुस–युक्रेन युद्ध पनि त्यही कोटिमा पर्छ । जहाँ राजनीतिक महत्वाकांक्षा र सामरिक गणनाले मानवतामाथि शासन ग¥यो । तीन वर्ष नजिकिँदै गर्दा यो युद्ध केवल युरोपको मात्र समस्या रहेन, यसले विश्व व्यवस्था, अर्थतन्त्र र साना राष्ट्रहरूको कूटनीतिक अस्तित्वसम्म प्रश्न खडा गरिदिएको छ । नेपालजस्तो असंलग्न परराष्ट्र नीतिमा विश्वास गर्ने देशका लागि पनि यो युद्ध एउटा टाढाको घटना मात्रको रुपमा चिनिएको छैन । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण शुरु गर्दा मस्कोले छिटो जितको कल्पना गरेको थियो । किभ केही दिनमै ढल्ने, पश्चिमा शक्ति विभाजित हुने र युक्रेन आत्मसमर्पणमा पुग्ने अनुमान गरेको थियो । तर त्यो अनुमान इतिहासकै सबैभन्दा ठूलो रणनीतिक भ्रममध्ये एक साबित हुन पुग्यो । युक्रेन ढलेन, बरु प्रतिरोधको प्रतीक बन्यो । रुस भने लामो, महँगो र रक्तपातपूर्ण युद्धमा फस्न पुग्यो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यम, स्वतन्त्र अनुसन्धान समूहहरू र खुला स्रोतको विश्लेषणले देखाएको यथार्थ भयावह छ । रुसतर्फ मात्रै झन्डै २ दशमलव ५ लाखदेखि ३ दशमलव ५ लाखसम्म सैनिक हताहतीमा परेको अनुमान गरिएको छ । युद्धमा युक्रेनको पनि १ लाखभन्दा बढी सैनिकको ज्यान गएको आँकलन गरिएको छ । यसले के देखाउछ भने, शासक आफ्नो सत्ता लम्ब्याउन आफ्ना नागरिकलाई कसरी बलिको बोका बनाउने भन्ने उदाहरणको रुपमा लिन सकिन्छ । सबैभन्दा त्रासदीपूर्ण पक्ष के हो भने, यस मृत्युलाई रणनीतिक उपलब्धि भनेर राजनीतिक भाषणमा हल्का बनाउने प्रयास हुँदै आएको छ । इतिहासले यस्ता तर्कलाई कहिल्यै स्वीकार गर्न सक्दैन ।

युद्धको सबैभन्दा ठूलो मूल्य सर्वसाधारणले चुकाएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार युक्रेनमा १५ हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका छन्, जसमा सयौं बालबालिका हरेका छन् । लाखौं विस्थापित भएका छन् । शहरहरू खण्डहर बने, विद्यालय र अस्पतालहरूलाई युद्धको निशाना बनाइएका छन् । युद्ध अपराधका आरोपहरू दुवै पक्षमाथि लागे पनि नागरिक क्षतिको भारी युक्रेनले बोक्नुपरेको छ । यो युद्धले दुवै देशलाई आर्थिक रूपमा दशकौं पछाडि धकेलेको छ । युक्रेनको पूर्वाधारमा मात्रै ६ सय अर्ब डलरभन्दा बढी क्षति भएको अनुमान छ । रुसले प्रतिबन्ध, सैन्य खर्च र लगानी पलायनका कारण एक ट्रिलियन डलरभन्दा बढी दीर्घकालीन क्षति व्यहोरेको देखिन्छ ।

रुस–युक्रेन युद्धले दुई मुलुक मात्र प्रभावित भएका छैनन्, यसले विश्व अर्थतन्त्रमा ठूलो संकट पैदा गरिदिएको छ । ऊर्जा मूल्य, खाद्यान्न आपूर्ति र मुद्रास्फीतिले गरिब देशहरूलाई झनै संकटमा धकेलेको छ । यो युद्ध केवल रुस र युक्रेन समस्याको रुपमा मात्र रहेन, विश्वव्यापी अस्थिरता सिर्जना गर्न कारक तत्वको भूमिकासमेत निर्वाह गरेको छ ।

तीन वर्षको युद्धमा हजारौँ ट्यांक, बख्तरबन्द गाडी, लडाकु विमान, ड्रोन र तोपखानाहरु नष्ट भएका छन् । रुसले आफ्ना अत्याधुनिक हतियारहरू गुमाउन पुग्यो भने युक्रेनले पश्चिमी सहयोगमा निर्भर रहँदै ठूलो मूल्य चुकाउन बाध्य हुनुपरेको छ । युद्धका कारण हतियार उद्योग फस्टायो, तर यहाँ मानवता हारेको अवस्था छ।

यो युद्ध केवल पुटिनको निर्णयको परिणाम मात्र होइन, नाटोको विस्तार, पश्चिमाको दोहोरो मापदण्ड, कूटनीतिक संवादको विफलता, यी सबैले युद्धलाई मलजल गरेको देखिन्छ । अमेरिका र युरोपले युद्ध लम्बिदा सामरिक लाभ देखे, तर शान्तिको पहल ढिलो भयो । यहाँ कूटनीति बन्दुकभन्दा पछि प¥यो । त्यसको परिणाम आज विश्वले भोग्दै छ ।

भोलिका पुस्ताले सोध्नेछन्– के यो युद्ध टार्न सकिँदैनथ्यो ? उत्तर सम्भवतः सकिन्थ्यो भन्ने हुनेछ । तर निर्णयकर्ताहरूले समयमै विवेक प्रयोग गर्न नसक्दा कालो इतिहास लेखिने पक्कापक्की नै छ । यहाँ शक्ति, प्रतिष्ठा र राजनीति मानव जीवनभन्दा माथि राखियो । यही कारणले इतिहासले यी निर्णयहरूलाई कठोर दृष्टिले मूल्यांकन गर्ने नै छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गर्दा त्यसलाई छिटो सकिने ‘विशेष सैन्य कारबाही’ भनियो । तर त्यो कारबाही आज इतिहासकै सबैभन्दा विनाशकारी युद्धमध्ये एक बनेको छ । रुसले रणनीतिक जितको भ्रममा फसेर आफ्नो युवापुस्ता, अर्थतन्त्र र अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउँदै गयो । युक्रेनले आफ्नो सार्वभौमसत्ताको रक्षा ग¥यो, तर त्यसको मूल्य उसले शहर, नागरिक र भविष्यको रूपमा तिर्नुप¥यो ।

युद्धको यो तथ्यांक नेपालका लागि पनि गम्भीर चेतावनीका रुपमा देखिएको छ । किनभने संसारमा युद्ध चर्किंदा त्यसको प्रत्यक्ष–अप्रत्यक्ष असर सधैँ कमजोर र साना देशहरूमाथि पर्ने गरेको छ । रुस–युक्रेन युद्धले विश्व ऊर्जा र खाद्यान्न बजार हल्लाइदियो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि, मल अभाव, खाद्यान्न महँगी, यी सबैको असर नेपालले प्रत्यक्षरुपमा भोग्दै आएको छ । इन्धन महँगो हुँदा यातायातदेखि कृषि उत्पादनसम्म प्रभावित बन्न पुगेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरू कार्यरत देशहरूको अर्थतन्त्रमा दबाब बढ्दा असुरक्षित बन्दै गएका छन् ।

नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएको मुलुकका लागि यस्ता युद्धहरू ‘टाढाका लडाइँ’ हुँदैनन् । यी युद्धहरू महँगी, बेरोजगारी र आर्थिक अनिश्चितताका रूपमा गाउँ–घरमा प्रवेश गर्छन् । त्यसैले यसको असर नेपाली जनताले भोग्नै पर्ने हुन्छ ।

नेपाल ऐतिहासिक रूपमा असंलग्न आन्दोलनको पक्षधर हो । तर यस्ता ठूला युद्धहरूले साना देशलाई स्पष्ट पक्ष लिन दबाब दिन्छन् । रुस–युक्रेन युद्धको सन्दर्भमा संयुक्त राष्ट्रसंघमा भएका मतदानहरूमा नेपालले सन्तुलन खोज्ने प्रयास ग¥यो । तर प्रश्न उठ्छ, के सन्तुलन सधैँ मौनता हो कि अन्तर्राष्ट्रिय कानुन, सार्वभौमसत्ता र नागरिक सुरक्षाको पक्षमा स्पष्ट आवाज उठाउनु नै दीर्घकालीन हित हो । यो प्रश्न अहिले गम्भीर भएर खडा भएको छ । नेपालले इतिहासबाट सिक्नुपर्ने पाठ यही हो । ठूला शक्ति राष्ट्रहरूको टकरावमा साना राष्ट्रहरू केवल दर्शक हुँदैनन् । उनीहरू परिणाम भोग्ने पक्षका रुपमा पनि देखिन्छन् ।

रुस–युक्रेन युद्धले देखायो कि सैन्य शक्ति नै सुरक्षा हो भन्ने सोच कति भ्रमपूर्ण छ । हजारौं ट्यांक, विमान र मिसाइल नष्ट भए, तर शान्ति आएन । नेपालले पनि पछिल्ला वर्षहरूमा राष्ट्रिय सुरक्षाको बहसमा सैन्य र कठोर शक्तिमाथि मात्र होइन, कूटनीति, आर्थिक आत्मनिर्भरता र सामाजिक स्थायित्वमा जोड दिनुपर्ने आवश्यकता यही युद्धले पुष्टि गरेको छ ।

भोलि इतिहासले सोध्नेछ । के यो युद्ध रोक्न सकिँदैनथ्यो ? उत्तर ‘सकिन्थ्यो’ नै हुनेछ । तर शक्ति राजनीतिले विवेकलाई जितेको अवस्था हो अहिले । पुटिनको निर्णय, पश्चिमाको रणनीतिक खेल, नाटो–रुसबीचको अविश्वास । यी सबैले युद्धलाई लम्ब्याएको छ । यही कारणले इतिहासले यी निर्णयहरूलाई कठोररूपमा मूल्यांकन गर्ने नै छ ।

रुस–युक्रेन युद्ध नेपालका लागि एउटा ऐना हो । यसले के देखाउँछ भने, युद्ध कहिल्यै समाधान होइन, समस्या विस्तार हो । साना देशहरूका लागि शान्ति नीति कमजोरी होइन, अस्तित्वको आधार हो । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति, संवाद र कानुनी व्यवस्थाको पक्षमा दृढ आवाज उठाउनुपर्छ । किनभने जब इतिहास लेखिन्छ, मौनता पनि निर्णयकै एक रूप मानिन्छ । यो युद्धमा नेपालीहरुले पनि ज्यान गुमाएका छन् । बढ्दो बेरोजगारीका कारण नेपाली युवाहरु आकर्षक कमाइका लागि युद्धमा होमिन पुगेका छन् । जसमा दर्जनौं नेपालीले ज्यान गुमाएका छन् । नेपालीहरु विषेश गरी रुसको सेनामा भर्ना हुने र युक्रेनविरुद्धको लडाइँमा सामेल भएको पाइन्छ ।

इतिहासले बन्दुक चलाउने हात मात्र होइन, मौन बस्ने विवेकलाई पनि प्रश्न गर्छ । आज बन्दुक बोक्ने हात भोलि इतिहासको कठघरामा उभिनुपर्ने हुुन सक्छ । प्रश्न केवल यत्ति हो । त्यति बेला माफी माग्न ढिलो भइसकेको त हुने छैन ?