अन्तर्राष्ट्रिय पारा खेलकुदमा स्वर्ण जित्ने पहिलो नेपाली सूर्यकुमारी गुरुङ

बैसाखीको बलमा लेखिएको नेपालको स्वर्णिम इतिहास

3.48k
Shares

यो एउटा यस्तो वास्तविकता हो, जसले नेपाली खेलकुदको इतिहासमा एउटा स्वर्णिम अक्षरले लेखिएको पाना मात्र पल्टाउँदैन, बरु एउटा बिर्सिएको गर्विलो उपलब्धिलाई पुनः जीवन्त तुल्याउँछ । यो सफलता हो सूर्य कुमारी गुरुङको, उनी नेपालकी ती प्रथम साहसी चेली, जसले आफ्ना शारीरिक चुनौतीहरूलाई खुट्टाको मुनि कुल्चँदै सन् १९७५ मा जापानी भूमिमा नेपालको चन्द्र–सूर्य अंकित झण्डा पहिलो पटक विश्व पारा–खेलकुदको सर्वोच्च मञ्चमा फहराएकी थिइन् । उनको यो यात्रा केवल एउटा खेलको विजय उत्सव मात्र थिएन, यो त एउटा सिंगो राष्ट्रको स्वाभिमान र अपांगता भएका व्यक्तिहरूप्रति समाजको हेय दृष्टिकोणलाई बदल्ने एउटा क्रान्तिकारी शंखघोष थियो ।

सात वर्षको कलिलो उमेरसम्म सूर्य कुमारीको जीवन एउटा शान्त पहाडी नदीजस्तै बगिरहेको थियो । नुवाकोटको पहाडी काखमा हुर्कँदै गरेकी ती सानी बालिकाको खुट्टामा अचानक एउटा सानो घाउ देखियो । कसैले सोचेका थिएनन् कि त्यो सानो घाउले उनको जीवनको सम्पूर्ण लय नै बदलिदिनेछ भनेर । पहाडी भेगमा उचित स्वास्थ्य उपचारको अभाव र समयमा औषधि नपाउँदा त्यो घाउले यस्तो भयानक रूप लियो कि अन्ततः चिकित्सकहरूले उनको घुँडा माथिसम्मको खुट्टा नै काट्नुपर्ने कठोर निर्णय सुनाए ।

सात वर्षको त्यो उमेर, जहाँ बालबालिकाहरू चौरमा कुदिरहेका हुन्छन्, सूर्य कुमारीका हातमा भने दुईवटा बैसाखी थमाइयो । नियतिले उनलाई जमिनमा पछारेको थियो, तर उनको सपनालाई भुइँमा खसाल्न सकेन । ती काठका बैसाखीहरू उनको कमजोरी नभई बरु सगरमाथा जस्तै अटल साहसका आधार बने । उनले आफ्नो अपांगतालाई घरको चार पर्खालभित्र मात्र थुनेर राखिनन् । राजनीति शास्त्रमा स्नातकोत्तर (एमए) सम्मको उच्च शिक्षा हासिल गरेर उनले यो प्रमाणित गरिन् कि शरीरको अंग काटिए पनि मस्तिष्कको क्षमता र संकल्पको उँचाइ कहिल्यै काटिनु हुँदैन ।

सन १९७५ मा जितेको त्यो ऐतिहासिक स्वर्ण

सन् १९७५ को त्यो समय, जब नेपालमा ‘अपांगता’ लाई पूर्वजन्मको पाप वा अभिशाप मानिन्थ्यो । ९ वर्षीया सूर्य कुमारीले सारा विश्वलाई आश्चर्यचकित तुल्याईन् । जापानको ओइटा शहरमा आयोजित पहिलो ‘फेस्पिक’ अर्थात फार इस्ट एन्ड साउथ प्यासिफिक गेम्स फोर डिजेबल (एफईएसपीआईसी) मा नेपालले पहिलो पटक सहभागिता जनाउँदै थियो । दुईवटा बैसाखीको सहारामा ट्रयाकमा उभिएकी ती कलिलो उमेरकी सूर्य कुमारीले जब १ सय मिटरको दौड सुरु गरिन्, त्यहाँ उपस्थित दर्शकहरूले केवल एउटी बालिका मात्र दौडिरहेको देखेका थिएनन्, उनीहरूले एउटा अदम्य इच्छाशक्तिको प्रदर्शन देखिरहेका थिए ।

त्यो क्षण कस्तो थियो होला भनेर कल्पना गर्नुहोस्, एउटी बालिका जसको एउटा खुट्टा छैन, तर मनमा जितको हुटहुटी भरिएको थियो । “मैले जित्छु भन्ने कुरा मेरो मनमा पहिल्यै थियो”,–उनी आज पनि त्यो गौरवशाली क्षणलाई स्मरण गर्दै शान्त तर दृढ आवाजमा भन्छिन् “वरिष्ठ प्रशिक्षक मधु शमशेर राणाको कठोर मार्गनिर्देशनसँगै गरेको प्रशिक्षणको प्रतिफल थियो त्यो ऐतिहासिक स्वर्ण पदक ।” समाजले ‘केही गर्न सक्दैनन’ भनेर दयाको पात्र बनाउने समयमा, सूर्य कुमारीले बैसाखीकै भरमा हावाको गतिमा दौडिएर सावित गरिदिइन् कि क्षमता शरीरमा होइन, मुटुको साहस र संकल्पमा हुन्छ भनेर ।

सूर्य कुमारीको त्यो एतिहासिक जितले त्यससमय नारायणहिटी दरबारलाई समेत झस्काएको थियो । तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहले यो उपलब्धिको संवेदनशीलता र राष्ट्रिय महत्वलाई गहिराइबाट बुझे । त्यतिबेला अपांगता भएका व्यक्तिहरूको हकहितमा काम गर्ने एक मात्र संस्था ‘नेपाल अपाङ्ग संघ’ (एनडीए) थियो, जुन स्थापना भएर निकै कमजोर अवस्थामा थियो । सूर्य कुमारीको सफलताले यो संस्थालाई नयाँ जीवन दियो । राजा वीरेन्द्रले व्यक्तिगत चासो देखाउँदै इन्जिनियरहरू खटाएर संघको आफ्नै भवन निर्माण गर्न लगाए र सन् १९७५ मा तत्कालीन समयमा १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरे ।

विडम्बनाको कुरा के छ भने, देशको लागि इतिहास रच्ने ती सूर्यकुमारीले भने व्यक्तिगत रूपमा कुनै नगद पुरस्कार पाइनन् । “मलाई व्यक्तिगत रूपमा पैसा दिइएन, तर मेरो जितले संस्था बलियो भयो, भवन बन्यो,”–उनी भन्छिन् । उनको यो निःस्वार्थ भावनाले नै आज नेपालमा पारा–खेलकुदको जगलाई मजबुत बनाएको छ । उनले आफ्नो विजयलाई व्यक्तिगत लाभभन्दा माथि राखेर एउटा सिंगो समुदायकै उत्थानको ढोका खोलिन् ।

सूर्यकुमारीको सफलता कुनै संयोग वा भाग्यको खेल थिएन । सर्लाहीबाट काठमाडौँ ल्याइएकी उनले प्रतियोगिताभन्दा तीन महिना अघिदेखि नै सैनिक अनुशासनमा कठोर परिश्रम सुरु गरेकी थिइन् । उनी अहिले पनि गर्वका साथ भन्छिन्,“म अहिलेको यो आधुनिक नक्कली (प्रोस्थेटिक) खुट्टाभन्दा त्यतिबेला बैसाखीमा धेरै छिटो दौडन सक्थेँ ।” यो वाक्यले उनको तत्कालीन शारीरिक सुदृढता र गतिको गहिराइलाई झल्काउँछ ।

दरवारका कर्मचारी बुबाको साथ र आफ्नो अदृश्य साहसले उनलाई काठमाडौँको खेल मैदानसम्म पु¥यायो । त्यतिबेला काठमाडौँका सडक र खेल मैदानहरू आजको जस्तो सुविधायुक्त थिएनन् । धूलो, हिलो र सीमित स्रोत–साधनबीच एउटी नौ वर्षीया बालिकाले बैसाखीको तालमा जुन संगीत सिर्जना गरिन्, त्यो आज पनि नेपाली खेलकुदको इतिहासमा सबैभन्दा मधुर र प्रेरणादायी धुन बनेर गुञ्जिरहेको छ । उनको प्रशिक्षण र जापानको त्यो दौड नेपालको खेलकुद इतिहासको एउटा यस्तो सास रोकिने क्षण थियो, जसले असम्भवलाई सम्भव तुल्याएको थियो ।

बिर्सिएको इतिहास र ओझेलमा परेको पहिचान

समयको प्रवाहसँगै सूर्य कुमारीको त्यो कालजयी उपलब्धि राज्यको स्मृतिबाट बिस्तारै धमिलिँदै गयो । सन् १९७० को दशकमा सञ्चारमाध्यमको पहुँच निकै सीमित थियो । केही सीमित पत्रिकाहरूले मात्र उनको समाचार छापेका थिए । नेपाल टेलिभिजनको प्रसारण सुरु हुन अझै १० वर्ष बाँकी थियो । त्यसैले, उनको त्यो युगान्तकारी उपलब्धि भृकुटीमण्डप र बालमन्दिरका पुराना भित्तामा झुण्डिएका काला–सेता तस्वीरहरूमा मात्र सीमित भयो । “५० वर्षभन्दा बढी समय बितिसक्यो, मेरो समयको चर्चा अब हराउनु स्वाभाविकै हो,” उनी भन्छिन् । तर, उनको यो भनाइ भित्र एउटा गहिरो पीडा लुकेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अन्य सरकारी निकायहरूसँग नेपालका यी प्रारम्भिक पारा–खेलाडीहरूको कुनै व्यवस्थित अभिलेख छैन । सन १९७५ मा नै रजत पदक जितेका श्रीलाल महतारा र सन १९७८ मा सिड्नीमा नेपालको प्रतिनिधित्व गरेर रजत पदक जितेका लक्ष्मी सुवेदी जस्ता अग्रगामी खेलाडीहरूको योगदान पनि इतिहासको गर्वमा हराएको छ । “हामीजस्ता खेलाडीहरूको कुनै विस्तृत इतिहास छैन, यो राज्यका लागि लाजमर्दो कुरा हो,” गुरुङको यो गुनासो केवल आफ्नो व्यक्तिगत सम्मानका लागि मात्र होइन, बरु आउने पुस्ताका लागि एउटा पाठ पनि हो । यदि जगको ढुंगालाई नै चिनिएन भने महलको जतिसुकै भव्यता भए पनि त्यसले आफ्नो गौरव गुमाउँछ ।


एफईएसपीआईसी (फेस्पिक) देखि पारालम्पिकसम्मको यात्रा

सूर्यकुमारी गुरुङको त्यो यात्रा केवल एउटा खेलमा मात्र सीमित थिएन । उनी त्यो संक्रमणकालीन समयकी साक्षी हुन्, जब ‘अपाङ्ग ओलम्पिक’ बिस्तारै ‘पारालिम्पिक’ को आधुनिक स्वरूपमा परिणत हुँदै थियो । सन् १९७४ मा स्थापित फेस्पिक फेडरेशनले सुदूरपूर्वीय र दक्षिण प्रशान्त क्षेत्रका देशहरूलाई समेटेको थियो । सूर्यकुमारीले अनुभव गरेको त्यो समय नै आजको एसियन पारालिम्पिक कमिटीको जग हो ।

दोस्रो विश्वयुद्धका घाइते सैनिकहरूको पुनस्र्थापनाका लागि सुरु भएको पारा–खेलकुदलाई सूर्य कुमारीजस्ता एथ्लिटहरूले एउटा व्यावसायिक र प्रतिस्पर्धात्मक मञ्च प्रदान गरे । सूर्यकुमारीले बालेको त्यही ज्योतिको जगमा सन् १९९१ मा नेपाल पारालिम्पिक कमिटीको औपचारिक स्थापना भयो । उनले सुरु गरेको त्यो कठिन यात्राले नै पछि अन्य नेपाली खेलाडीहरूका लागि विश्वका ठूला रंगशालासम्म पुग्ने मार्ग प्रशस्त ग¥यो ।

आज जब पलेशा गोवर्धनले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक जितेर नेपाललाई विश्वको केन्द्रमा पु¥याएकी छन्, सूर्यकुमारीको ५८ वर्ष नाघेको छाती गर्वले चौडा हुन्छ । उनी भन्छिन्, “पलेशाको सफलता हामी सबैको सफलता हो । उनीजस्ता युवा खेलाडीहरूले हाम्रो सपनालाई अगाडि बढाएका छन् । म उनलाई हृदयदेखि नै बधाई तथा शूभकामना दिन्छु ।” तर, हामीले भुल्नु हुँदैन कि पलेशाको यो सफलताको जरा कतै न कतै सन १९७५ को त्यो जापानको ट्रयाकमा सूर्य कुमारीले टेकेको बैसाखीको डोबसँग जोडिएको छ । सूर्यकुमारीको विरासत केवल एउटा स्वर्ण पदकमा मात्र सीमित छैन । उनको विरासत त त्यो साहस हो, जसले अपांगतालाई “अक्षमता” होइन, केवल एउटा “फरक क्षमता” को रूपमा परिभाषित ग¥यो । उनले देखाएको बाटोले नै आजका सयौँ पारा–खेलाडीहरूलाई मैदानमा उत्रने र राष्ट्रको नाम राख्ने हिम्मत दिएको छ ।

सूर्यकुमारीको जीवन कुनै चलचित्रको पटकथाभन्दा कम छैन । नुवाकोटको काखबाट सुरु भएर जापानको आधुनिक रंगशालासम्म पुगेकी एक महिलाको सफलता, जसले आफ्नो शारीरिक सीमालाई आफ्नो उडानको बाधक बन्न दिइनन् । उनी आज विशालनगर, चण्डोलमा एक साधारण जीवन बिताइरहेकी छन्, तर उनको आत्मा अझै पनि त्यही खेल मैदानमा छ । सूर्य कुमारीको खेल करियरले हामीलाई के सिकाउँछ भने शारीरिक अवस्था केवल एउटा स्थिति मात्र हो, जसले मानिसको गन्तव्य वा महान लक्ष्यलाई कहिल्यै रोक्न सक्दैन । बरु उचित अवसर र सही मार्गदर्शन पाएमा अपांगता भएका व्यक्तिहरूले पनि सगरमाथा जस्तै अटल साहस देखाउँदै समाजको पुरातन र रुढीवादी सोचलाई चुनौती दिएर इतिहास रच्न सक्छन् ।

राज्यले अब ढिलो गर्नु हुँदैन । सूर्य कुमारी गुरुङ र उनी जस्तै अन्य ओझेलमा परेका राष्ट्रिय रत्नहरूको सम्मान र उनीहरूको इतिहासको अभिलेखिकरण आजको अनिवार्य आवश्यकता हो । इतिहासलाई जीवित राख्न सकियो भने मात्र भविष्यका खेलाडीहरूले प्रेरणाको स्रोत पाउनेछन् । सूर्य कुमारीको त्यो सफलता नेपालको खेलकुद इतिहासको एउटा त्यस्तो अद्भूत क्षण थियो, जसले प्रमाणित गर्छ कि यदि मनमा उडान भर्ने चाहना छ भने पखेटाको अभावले आकाश छुने सपनालाई कहिल्यै रोक्दैन । उनी नेपालको पारा खेलकुदकी ‘लिभिङ लेजेण्ड’ हुन्, जसको पदचापले नेपाली पारा–खेलकुदको अनन्त मार्ग प्रशस्त गरेको छ ।