पार्टी विभाजन कसैले चाहेको छैन, एकतामा जोड दिन्छौँ : नेता राणा


काठमाडौँ।

नेपाली काँग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी विभाजन चाहेको अवस्था नरहेको स्पष्ट पारेका छन्।

शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राणाले आसन्न प्रतिनिधि सभा निर्वाचन नेपाली काँग्रेसका लागि गम्भीर चुनौतीको रूपमा आएको उल्लेख गरे। उक्त चुनौतीको सामना गर्न पार्टीभित्र सुदृढ आन्तरिक एकता अपरिहार्य रहेको उनको भनाइ थियो।

उनले पार्टीभित्र देखिएका असहमतिहरूलाई संयमित र मध्यमार्गी तरिकाबाट समाधान गर्नुपर्नेमा जोड दिँदै नेता तथा कार्यकर्तालाई उग्र नबन्न आग्रह गरे। उग्र व्यवहारले सकारात्मक परिणाम नदिने बताउँदै उनले विशेष महाधिवेशनलाई ‘सेफ ल्याण्ड’ गराउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

नेता राणाले विशेष महाधिवेशन सफल बनाउन पार्टीका सबै तहका नेता तथा कार्यकर्ताले सहयोग गर्नुपर्नेमा पनि जोड दिए।

उनले भने, “फागुन २१ गतेको निर्वाचनअघि पार्टीभित्र केही समस्याहरू देखिएका छन्। अब विशेष महाधिवेशनको आह्वान पनि भइसकेको छ। पार्टी विभाजन हुन्छ भन्ने कुरामा म विश्वास गर्दिनँ। कुनै पनि काँग्रेसका नेता–कार्यकर्ताले काँग्रेस फुटोस् भन्ने चाहेका छैनन्। तर चुनावअघि हामी सबै एउटै ठाउँमा उभिएर यो जटिल अवस्थाको सामना गर्नुपर्छ।”

प्रतिनिधि सभा निर्वाचन काँग्रेसका लागि ठूलो चुनौती भएको उल्लेख गर्दै उनले सबै साथीहरू एकजुट भएर चुनावमा जानु नै पार्टीको साझा धारणा रहेको बताए।

“धेरै उग्र भएर अघि बढ्दा राम्रो नतिजा आउँदैन,” उनले भने, “संयमित भएर मध्यमार्गी बाटो अपनाउँदै विशेष महाधिवेशनलाई सफल बनाउन जरुरी छ। त्यसका लागि सबैको सहयोग आवश्यक छ।”

आइतबारदेखि सुरु हुने विशेष महाधिवेशनले पार्टीभित्र एकताको सन्देश दिने विश्वास पनि नेता राणाले व्यक्त गरे।