आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा २०८२ साल पुस २४ गते बिहीबार काठमाडौँको भाटभटेनीस्थित अम्रपाली बैंक्वेटमा सम्पन्न भएको छ ।
सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले सम्पूर्ण सेयरधनीलाई स्वागत गर्दै बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानवसिर्जित जोखिमबाट उत्पन्न हुने आर्थिक संकट न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो । उहाँले बीमाबजारको विकास, पहुँच र विश्वसनीयतालाई राष्ट्रको आर्थिक सूचकको रूपमा लिइने बताउँदै, यही मान्यताअनुसार कम्पनीले बीमाबजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउँदै बीमितको हकहित संरक्षणमा निरन्तर प्रतिबद्ध रहँदै आएको जानकारी गराउनुभयो। यसै क्रममा कम्पनीले आफ्नो स्थापनाको २८औँ वर्ष सफलतापूर्वक पूरा गरेको पनि उहाँले बताउनुभयो ।
सभाले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । साथै, पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको दुई तला पार्किङसहित ११ तले भवनको निर्माण कार्य सम्पन्न भई ठेकेदार कम्पनीबाट हस्तान्तरण भइसकेको जानकारी गराइयो । आगामी २०८२ साल माघ महिनाभित्र कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्सालबाट आफ्नै पानीपोखरीस्थित भवनमा स्थानान्तरण गरिने र आवश्यक चार तला प्रयोग गरी बाँकी तला भाडामा लगाइने अध्यक्ष ढकालले सभालाई जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा भदौ २३ र २४ गते भएको जनआन्दोलनका क्रममा निर्जीवन बीमा क्षेत्रमा करिब २३ अर्ब ४४ करोड रुपैयाँ बराबरको दाबी परेको तथा असोज १८ गतेदेखि परेको अविरल वर्षा, बाढी र पहिरोबाट करिब ४ अर्ब रुपैयाँ बराबरको दाबी परेको जानकारी पनि सभामा दिइयो। यद्यपि, सरकारले अघि बढाएका नीतिगत पहल, आर्थिक सूचकांकमा देखिन थालेको सुधार र सेयर बजारमा देखिएको सकारात्मक संकेतले समग्र आर्थिक गतिविधि क्रमशः सुदृढ हुँदै जाने अपेक्षा व्यक्त गरियो ।
सूचना प्रविधिको प्रयोगमार्फत छरितो, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले कम्पनीले प्रविधिमैत्री सेवामा विशेष जोड दिँदै आएको र चालु आर्थिक वर्षमा अझ बढी डिजिटल, सरल तथा ग्राहकमैत्री सेवा विस्तार गर्ने लक्ष्य लिएको बताउनुभयो ।
त्यसै अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले देशका सातै प्रदेशमा रहेका ९० वटा शाखा सञ्जालमार्फत ५३१ कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयरको माध्यमबाट सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । साथै, २०८२ साल माघ अन्त्यसम्म प्रधान कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा पानीपोखरीस्थित आफ्नै भवनबाट सञ्चालन हुने उहाँले स्पष्ट पार्नुभयो ।
चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ सहित आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा ठूलो कम्पनीको रूपमा स्थापित रहेको र कम्पनीको व्यवसाय क्रमिक रूपमा वृद्धि हुँदै गएको सीईओ श्रेष्ठले जानकारी गराउनुभयो। गत आर्थिक वर्ष २०८०÷०८१ मा निर्जीवन बीमा क्षेत्रको कुल बीमाप्रिमियम ४१ अर्ब १७ करोड रुपैयाँ रहेकोमा समीक्षा वर्षमा ६.७७ प्रतिशतले वृद्धि भई ४३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । कम्पनीले पनि सोही अवधिमा आफ्नो बीमाप्रिमियम ६.३२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ८६ करोड ५९ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ ।
समीक्षा वर्षमा कम्पनीले १८ हजार ५ सय दाबीका लागि २ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको र नेपाल सरकारलाई विभिन्न कर शीर्षकमा ७९ करोड ८७ लाख रुपैयाँ योगदान गरेको जानकारी पनि सभामा दिइयो ।
कम्पनीले नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै नगद रहित स्वास्थ्य बीमा योजना सुरु गरेको, जसअन्तर्गत नेपालका अधिकांश अस्पतालहरू तथा भारतका अस्पतालहरूबाट समेत सेवा उपलब्ध हुने जानकारी दिइयो । साथै, पहिलो पटक नेपालमा विश्वभरबाट ट्रेकिङ तथा पर्वतारोहणका लागि आउने विदेशी नागरिकहरूलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय सहकार्यमा विशेष बीमा योजना सुरु गरिएको, जसबाट दुर्घटना तथा उचाइजन्य रोगको नगद रहित उपचार सुविधा उपलब्ध हुने बताइयो ।
अन्त्यमा अध्यक्ष ढकालले सभामा उपस्थित भई सबै प्रस्तावहरू पारित गर्न सहयोग गर्ने सेयरधनीहरूप्रति आभार व्यक्त गर्दै नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, नियामक निकायहरू तथा ग्राहकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।











प्रतिक्रिया