उदयपुर ।
नेपाली सेनाको पशुपती प्रसाद गणको आयोजनामा ऐतिहासिक गढी उदयपुरगढी देखि चौदण्डीगढी सम्म पदयात्रा बुधबारबाट सुरु भएको छ । उदयपुरगढीबाट आज एक समारोह विच पदयात्राको शुभारम्भ गरिएको छ ।

पदयात्राको उदयपुरगढीस्थित पुरानोगढीमा शुभारम्भ गर्दै नेपाली सेनाको पूर्वी पृतनापति गौरव कुमार केसीले नेपाल एकीकरणका नायक र्पथ्वी नारायण शाहले राष्ट्र निर्माणमा गरेको महत्वपूर्ण योगदानको स्मरण गर्दै नेपाली सेनाले राष्ट्रिय एकता दिवसको स्मरण स्वरुप प्रत्येक वर्ष पदयात्रा गर्दै आएको बताउनु भयो ।
नेपाली सेनाको आफ्नै इतिहास रहेकोले नेपालका ऐतिहासिक गढी पौवा तथा पुरातात्विक महत्वका राष्ट्रिय सम्पदाहरुको संरक्षण, संवद्र्धनका साथै स्थानीयस्तरमा सामाजिक काम, शैक्षिक गतिविधि, खेलकूद लगायतका क्षेत्रमा आफ्नो गतिविधि र कृयाकलापलाई निरन्तरता दिंदै जाने पृतनापति केसीले बताउनु भयो ।
उदयपुर जिल्लामा रहेका ऐतिहासिक गढी किल्लाको पहिचान गर्दै जिल्लाको पर्या– पर्यटनलाई प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने उदेश्य अनुरुप आजवाट सुरु भई २७ गते सम्पन्न हुने पशुपति प्रसाद गणले जनाएको छ ।

ऐतिहासिक गढीको संरक्षण, पर्या पर्यटनको विकास र नयाँ पुस्तालाई इतिहास, भुगोल र नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सेनाले पदयात्रा संचालन गर्न लागिएको नेपाली सेनाका पशुपती प्रसाद गणका गणपती प्रमुख सेनानी मनोज कार्कीले जानकारी दिनु भयो । यसअघि ७ दिन संचालन गरिने पदयात्रा घटाएर ५ दिनमा समायोजन गरिएको छ । पदयात्राको उद्घाटन समारोहमा नेपाली सेना पूर्वीपृतनाका पृतनापति उपरथी गौरव कुमार केसीको प्रमुख आथित्यतामा हुने तय भएको प्रमुख सेनानी मनोज कार्कीेले जानकारी दिनु भयो ।
पदयात्रा उदयपुरको उदयपुरगढी गाउँपालिकाबाट सुरु भएर पहिलो दिन उदयपुरगढीबाट सुरु भएर उदयपुरगढीकै ढङुग्रेसम्म १६ किलोमिटर, दोस्रो दिन ढङुग्रेबाट पुवारे भन्ज्याङ २१ किलो मिटर, तेस्रो दिन पुवारे भन्ज्याङबाट साउने २१ किलोमिटर, चौथो दिन साउनेबाट विरेन्द्रबजार २४ किलोमिटर र पाँचौ दिन विरेन्द्र बजारबाट चौदण्डीगढी १५ किलोमिटर पदयात्रा हुने छ ।
५ दिन लामो यात्राको क्रममा सो क्षेत्रमा पर्ने विद्यालयहरुमा विभिन्न प्रतियोगीतात्मक कविता, निवन्ध, हाजिरीजवाफ लगायतका
कार्यक्रमहरु संचालन गर्ने र सो को व्यवस्थापन र सहयोग स्थानिय पालिकाहरुले गर्ने तयारी भएको छ ।
पद यात्रालाई थप आकर्षण थप्नको लागि नेपाली सेनाको ऐतिहासिक कालो पोसाकका सैनिकहरुलाई समेत सहभागीता गराउने योजना रहेका प्रमुख सेनानी कार्कीले जानकारी दिनु भयो । पदयात्रामा नेपाली सेनासँंगै सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार, स्थानिय नागरिक लगायतलाई सहभागी भएर पदयात्रा सफल बनाउनको लागि सेनाले आग्रह समेत गरेको छ ।
यस अवसरमा नेपाली सेनाले उदयपुरको त्रियुगा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका (९देखि १२ कक्षा) विद्यार्थीहरु बिचमा २४ गते वक्तृत्वकला प्रतियोगिता, रौतामाई गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका (९देखि १२ कक्षा) विद्यार्थीहरु बिचमा २५ गते हाजिरी जवाफ, चौदण्डीगढी नपाका सामुदायिक तथा संस्थागत विद्यालयका (९देखि १२ कक्षा) विद्यार्थीहरु बिचमा २६ गते निबन्ध लेखन प्रतियोगिता संचालन गर्ने तयारी भएको नेपाली सेनाले जनाएको छ ।












प्रतिक्रिया