आइक्यानद्वारा ग्लोबल एकाउन्टिङ इनिसिएटिभ नेपाल परियोजना शुभारम्भ


काठमाडौँ
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) परियोजनाको औपचारिक शुभारम्भ गरेको छ । यो ऐतिहासिक राष्ट्रिय पहलको उद्देश्य नेपाललाई लेखा तथा वित्तीय आउटसोर्सिङ सेवाका लागि विश्वकै प्रतिस्पर्धी गन्तव्यको रूपमा स्थापित गर्नु हो ।

काठमाडौंको एभरेस्ट होटलमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी परियोजना घोषणा गरिएको हो । उक्त कार्यक्रममा आइक्यानले गेन परियोजनाको आधिकारिक प्रवद्र्धनात्मक भिडियो सार्वजनिक गर्नुका साथै नेपालमा लेखा तथा वित्तीय आउटसोर्सिङका लागि समर्पित वेब पोर्टल पनि शुभारम्भ गरेको छ ।

गेन परियोजना विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेको विशेष गरी लेखा, लेखापरीक्षण, कर, तलब भुक्तानी (पेरोल) तथा वित्तीय प्रतिवेदनजस्ता उच्च मूल्यका क्षेत्रमा बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) र नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) प्रतिको एक रणनीतिक उत्तर हो ।

विकसित अर्थतन्त्रमा लेखासम्बन्धी पेसाकर्मीको अभाव बढ्दै गएको र भौतिक दूरीका हिसाबले ढाटाबाट गरिने सेवा प्रवाहको स्वीकार्यता बढिरहेको परिप्रेक्ष्यमा नेपाल यस प्रकारको बढ्दो बजारबाट लाभान्वित हुन विशिष्ट रूपमा सक्षम अवस्थामा छ ।

कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगरले यो परियोजना संस्थाको कानुनी कर्तव्य र दीर्घकालीन रणनीतिक दृष्टिकोणअनुरुप रहेको बताउनुभयो ।

‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) एउटा व्यावसायिक पहल मात्र होइन; यो आर्थिक रूपान्तरणको एजेन्डा पनि हो । नेपालसँग पहिले नै योग्य जनशक्ति, प्रतिस्पर्धी लागत र अंग्रेजी भाषामा बलियो दक्षता छ । गेनमार्फत हामीले हाम्रा यी सबल पक्षहरूलाई संस्थागत गर्दै नेपाललाई विश्वसनीय र उच्च गुणस्तरीय लेखासम्बन्धी आउटसोर्सिङ गन्तव्यको रूपमा विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखेका छौं,’ उहाँले भन्नुभयो ।

आइक्यानको अनुमान अनुसार योजनाबद्ध सरकारी सहजीकरणको अभावका बाबजुद नेपालका करीब एक हजार लेखासम्बन्धी पेसाकर्मी अन्तर्राष्ट्रिय आउटसोर्सिङ सेवामा संलग्न छन् । यसबाट वार्षिक करिब ४ करोड ५० लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा आर्जन भइरहेको अनुमान संस्थाले गरेको छ । गेन परियोजनाले समन्वयमा आधारित नीतिगत पैरवी, सीप विकास, पूर्वाधारको सशक्तीकरण तथा अन्तर्राष्ट्रिय ब्रान्डिङमार्फत यस प्रभावलाई उल्लेखनीय रूपमा विस्तार गर्ने लक्ष्य राखेको छ ।

यो पहलकै एक हिस्साको रुपमा आइक्यानले लेखा आउटसोर्सिङसम्बन्धी वेब पोर्टल पनि सार्वजनिक गरेको छ । यसले नेपाली लेखा तथा वित्तीय आउटसोर्सिङ पेशाकर्मीहरूलाई अन्तर्राष्ट्रिय ग्राहकसँग जोड्ने आधिकारिक प्लेटफर्मको रूपमा काम गर्नेछ। उक्त पोर्टलमा प्रमाणित सेवा प्रदायकको विवरण तथा नेपालको आउटसोर्सिङ इकोसिस्टमसम्बन्धी जानकारी समावेश हुनेछ र जसले विश्व बजारमा पहुँच बढाउने अपेक्षा गरिएको छ ।

गेन परियोजनाअन्तर्गत आइक्यानले देशको ब्रान्डिङ, रणनीतिक बजारीकरण, सीप विकास, अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान तथा नीतिगत सल्लाह र इकोसिस्टम विकासका पहलहरूको नेतृत्व गर्नेछ । साथै, संस्थाले नियामकीय तथा नीतिगत सुधार, समर्पित बीपीओ÷केपीओ केन्द्रको स्थापना रसुदृढ डिजिटल पूर्वाधारका लागि पैरवी गर्नेछ ।