भाषा जगेर्नामा पत्रकारिताको अहं भूमिका


पत्रकारिताले जुन भाषामा सार्वजनिक सरोकार र समसामयिक विषयमा सूचना र विचार सम्प्रेषण गरेको हुन्छ, त्यो भाषाको संरक्षणमा पनि टेवा पु¥याएको हुन्छ । जुन–जुन भाषाबाट पत्रकारिता भइरहेको छ, त्यसबाट ती भाषाको जगेर्नामा केही न केही योगदान अवश्य पु¥याइरहेको हुन्छ । यस अर्थमा पत्रकारिताले समाजमा सूचना सम्प्रेषणसँगै भाषा जगेर्नामा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

तर नेपालमा पत्रकारिताको बहसको सन्दर्भमा यो पक्ष प्रमुख विषय बन्न सकेको छैन । यो विमर्शको शुरुआत नै नभएको भने अवश्य होइन । नेपालमा विभिन्न मातृभाषाको पत्रकारिताको प्रवद्र्धनको सेरोफेरोमामा झन्डै एक दशकयता भाषाको संरक्षणको कोणबाट पत्रकारिताको भूमिकालाई नियाल्ने, पत्रकारिता र भाषान्तर सम्बन्धको चर्चा गर्ने क्रम भने चलिरहेको छ ।

यो विषयमा युनेस्कोेदेखि विभिन्न अन्तर्राष्ट्रिय फोरममा समेत बहस, छलफल र सम्मेलन हुनुलाई सकारात्मकरुपमा लिनुपर्दछ । नेपालको जस्तो बहुभाषिक, बहुसांस्कृतिक समाजमा यस खालको बहसले राज्यको प्राथमिकताबाहिर पारिएका विभिन्न भाषामा गरिने पत्रकारिताको प्रवद्र्धन र भाषाको जगेर्नामा थप योगदान दिन सक्ने वातावरण तयार गर्नेछ ।

कुनै पनि भाषा एकदिनमा बनेको होइन । मानव समाजको विकासक्रममा प्रकृतिसँग संघर्ष गर्दागर्दै हजारांै वर्ष लगाएर एउटा भाषा बनेको हुन्छ । हो, भाषाको उत्पत्तिसँगै मानिस–मानिसबीचको भावना, विचार र अभिव्यक्ति साटासाटलाई सहज बन्यो तर भाषाको भूमिकालाई यति हदसम्म मात्र बुझ्नु उपयुक्त हुँदैन ।

हजारौं वर्ष लगाएर उत्पत्ति भएको भाषा, त्यसको हजारौं वर्षको प्रयोगमा मानव समाजले सिर्जना गरेका अनेकौं ज्ञानहरुको संग्रह पनि भाषाले नै गरिरहेको हुन्छ । जीवनमा उपयोगी अनेक व्यावहारिक ज्ञानदेखि त्यसले अविष्कार गरेका अनेक प्रविधि, दर्शन, संस्कार, परम्परा सबै भाषामा निहित रहेको हुन्छ । मानिसले सोच्ने तरिका, समाज व्यवहारको तौरतरिका पनि तिनै भाषाले भण्डारण गरेको हुन्छ ।

भाषाको लोपसँगै ती ज्ञानका भण्डार, मानवले बाँच्ने क्रममा प्रकृतिसँग गरेका संघर्ष, जीवनका लागि विकसित आवश्यक ज्ञान पनि लोप भएर जानेछ । अतः कुनै पनि भाषा लोप हुनु भनेको सभ्यता र ज्ञान लोप हुनु हो । कुनै पनि भाषाको मृृत्यु हुनु विश्वका मानव जातिको एउटा हिस्साको सभ्यता पनि मर्नु हो । यस दृष्टिले हेर्दा भाषाको संरक्षण गर्नु भनेको सभ्यताको संरक्षण गर्नु हो । राज्यको उत्पत्तिसँगै राज्यको प्राथमिकताका कारण कुनै भाषाको प्रयोगको व्यापकता र कुनै भाषा लोप हुने अवस्थामा पुग्नु नेपालको मात्र नभई विश्वकै एउटा यथार्थ बन्दै गएको छ । अतः भाषा जोगाउने अभियानमा पत्रकारिताको बहस अत्यन्त आवश्यक छ ।

नेपालमा लगातार मातृभाषा पत्रकारिताको बहस भइरहेको पृष्ठभूमिमा भारतको विहारस्थित नालन्दा खुल्ला विश्वविद्यालयमा पुस २१ र २२ गते दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भयो । सो सम्मेलनले दक्षिण एसियाको बहुल समाजको पृष्ठभूमिमा यस किसिमको बहसलाई अझ सघन र व्यापक बनाउन मद्दत पु¥याएको छ । विश्वको जुनसुकै ठाउँमा हुने यस्ता बहस नेपालका लागि निकै उपयोगी रहेकोमा कसैको दुईमत हुन सक्दैन ।

मातृभाषाबाट गरिने पत्रकारिता सम्बन्धित समुदायका लागि आवाज पु¥याउने केवल माध्यम मात्र होइन, शक्तिहीनको आवाज हो र स्वयं शक्ति पनि हो । मातृभाषाको पत्रकारिताले यो विषयलाई केन्द्रविन्दुमा राखेको छ । जुन भाषामा लेखपढ गरिन्छ, त्यही भाषाको जगेर्ना हुने हो । भाषाको संरक्षणको विषय केवल साहित्यकारहरुको मात्र भन्ने मान्यताले जरा गाडेर बसेको बेला यस्ता खालका बहसले भाषा संरक्षणमा पत्रकार र पत्रकारिताको भूमिकालाई प्रभावकारी बनाउन टेवा पु¥याउने निश्चित छ ।