समानुपातिक प्रणालीको परिकल्पना र राजनीतिक ज्ञान

940
Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सदस्यतर्फको सूचीलाई लिएर आम जनताबाट गम्भीर असन्तुष्टि पाइएको छ । यी असन्तुष्टिहरु कतिपय जनताको अनभिज्ञतामा केन्द्रित छन् भने कतिपय पार्टी र नेताहरुको व्यवहार छनोट प्रक्रिया एवं अदूरदर्शी निर्णयका कारण छन् । जनतालाई समावेशी राज्य प्रणालीबारे राजनीतिक दलहरुले प्रशिक्षित गराउन नसक्नु एक कमजोरी त छँदै छ, त्यसभन्दा पनि समावेशी संसद्को परिकल्पना राजनीतिक रूपमा बुझ्न नसक्नु दलहरुको कमजोरीले राज्य व्यवस्था र संविधानमाथि नै प्रश्न उठाउनेका लागि मलजल पुगेको छ ।

संविधान जारी भएको एक दशक बितिसक्दा पनि संविधान बनाउने दलले नै यसको भावना, मर्म र आशय बुझेका छैनन् भने नयाँ दल र संविधान निर्माणमा सहभागी नभएका व्यक्तिले नबुझेकोमा कुनै आश्चर्य मान्नुपर्ने छैन ।

संविधान जारी गर्दा नेपालको राजनीतिक प्रणाली एकात्मक भयो । यसमा सबै लिंग, वर्ग, जात, समुदाय, भेग (भूगोल) को प्रतिनिधित्व भएन । राजनीति टाठाबाठाको पहुँचमा पात्र सीमित भयो । देश निर्माणमा सबैको समान हैसियत हुने हुँदा सबैलाई अटाउने संसद्को परिकल्पनाले समावेशी चरित्रको संसद् मात्र बनाएन, राज्य व्यवस्था सञ्चालनका सबै क्षेत्र समावेशी चरित्रले निर्माण गरियो । देशको संविधानले यही भावना प्रतिविम्ब गरेको छ ।

समावेशीकरण गर्ने मुख्य राजनीतिक स्थल भनेकै संसद् हो । त्यसैले प्रतिस्पर्धामा भाग लिन सक्नेका लागि प्रत्यक्ष निर्वाचन हो र प्रतिस्पर्धामा सरिक हुन नसक्नेका लागि समानुपातिक आरक्षण हो भन्ने परिकल्ना संविधानसभाले ग¥यो । बहुदलीय व्यवस्थामा राजनीतिक दल नै सर्वोपरि भएकाले संसद् समावेशी बनाउने जिम्मा राजनीतिक दलले पाए ।

सांसद संसदीय दलको नेताको मत अर्थात् भोट रहेछ । सत्ता स्वाद भोगेका नेताका लागि समावेशी राम्रो हतियार भएको बुझेपछि संविधान बनाउँदाको सबै भावना, मर्म, आशय त भुले नै, संविधान पनि भुल्दै गर्दा समावेशी समानुपातिक गुटपरस्त परिवारिक जमघट मन परेकालाई भित्र्याउने, आर्थिक जोहो गर्ने, जोडी–जोडी, परिवार–परिवालाई रोजगार दिने विकृत स्वरुपमा संसद् बन्न पुग्यो ।

समानुपातिक त राजनीति सञ्जाल नभएका, प्रत्यक्ष निर्वाचनमा भाग लिन नसक्ने, आफ्नो विचार जनतासमक्ष पु¥याउन नसक्ने, मूलधारमा नअटाएका विपन्न, निमुखा, अल्पसंख्यक, मजदुर, पेसागत बुद्धिजीवी, पत्रकार, राजनीतिक विश्लेषक, कानुन व्यवसायी तथा कूटनीतिक व्यक्तित्वको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने हो । संसद्को गरिमा उच्च बनाउन सहायक हुने समानुपातिक प्रतिनिधित्व आज संसद् विकृत बनाउन उद्धृत छ । यसको जिम्मेवार राजनीतिक पार्टी हुन् ।

पटकौँ मन्त्री भएका, चुनाव लडिसकेका, समाजमा स्थापित भइसकेकालाई समानुपातिकमा सिफारिस हुन संविधानले किमार्थ निर्देश गरेको छैन । जातका नाममा उच्च घरानालाई सम्मानका लागि, व्यापारी–उद्योगीलाई पैसाको लागि, राजनीतिक परिवारलाई राजनीतिमा घुसाउनको लागि समानुपातिक व्यवस्था होइन । निर्वाचन आयोगमा सूचीकृत समानुपातिक सूचीहरू हेर्दा अधिकांश उम्मेदवार समानुपातिकका लागि योग्य छैनन् ।

यी सूचीहरू नेतृत्वका गुटगत स्वार्थ, नातागोता र पहुँचका आधारमा व्यक्तिपरस्त तयार पारिएका देखिन्छन्, जुन नेपालको संविधान २०७२ को भावना, आशय र मर्म विपरीत छ । नेपालको राजनीतिक विकासक्रममा राजनीति दिन–प्रतिदिन स्खलित हुँदै जानुमा राजनीतिक ज्ञान र सुझबुझको कमी–कमजोरी हुनु पनि हो । हाम्रा निवर्तमान र पूर्वसांसदहरुको योग्यता नियाल्ने हो भने राजनीतिशास्त्रभन्दा अन्य विषयको बाहुल्यता छ ।

एकजना राजनीति गर्ने मान्छेमा के–के ज्ञान हुनुपर्छ भन्ने विषयमा चर्चा गर्ने हो भने यसको सहज उत्तर हुन्छ– सर्वगुण संपन्न सर्वज्ञाता । हो, राजनीति गर्ने मान्छेमा सर्वज्ञान गुण हुनै पर्छ । यसको तात्पर्य ज्ञान भएन भनेर राजनीति नै नगर्ने भन्ने सत्य होइन । राजनीतिक ज्ञानको अभाव पूर्तिका लागि आफूमा भएको ज्ञानको अभाव अन्य सान्दर्भिक मानिसबाट पूर्ति गरिने हुनाले राजनीतिक सल्लाहकारले राजनीतिमा प्रवेश पाएका हुन् ।

इतिहास खोतल्ने हो भने आदिकालदेखि नै राज्य सञ्चालनका लागि चतुर खेलाडीको बन्दोबस्त राजाहरुले गर्थे । जनप्रिय शासक बन्नको लागि कुशल सल्लाहकारको आवश्यक पर्छ । यसैमा देशको भाग्य निर्धारण हुन्छ । एउटा कुशल राजनेताको

मिसन देशमा रहेका कुशल बुद्धिमतापूर्ण मानिसले मात्र पूरा गर्न सक्छन्। ।
चर्चा गरौँ एकजना राजनीति गर्ने मान्छेमा के–के ज्ञान अर्थात् जानकारी रहनुपर्छ भन्ने विषयमा । हरेक विषयको व्याख्या लम्बिने हुँदा यसलाई विधागत संकलन गर्न सहज होला ।

राजनीतिशास्त्रको ज्ञान : राजनीति गर्ने मान्छेमा राजनीतिशास्त्रको ज्ञान हुनु आवश्यक छ । यसमा राजनीतिक सिद्धान्त, राजनीतिक व्यवस्था, राजनीतिक प्रक्रिया, राजनीतिक व्यवहार, विभिन्न देशले अनाएका राज्य प्रणाली, विश्वभूराजनीतिक अवस्थाको अध्ययन समावेश हुन्छ ।

इतिहासको ज्ञान : इतिहासको ज्ञानले राजनीति गर्ने मान्छेलाई विगतका घटनाहरू, नेताहरू र राजनीतिक आन्दोलनहरूको बारेमा जानकारी दिन्छ । यसले वर्तमान र भविष्यको राजनीतिक निर्णय लिनमा मद्दत गर्नुका साथै इतिहासको पाठ देखाएर नेतृत्व सहजरुपमा अगाडि बढ्न क्षमता प्रदान गर्छ ।

अर्थशास्त्रको ज्ञान : देशको राज्य सञ्चालनको मेरुदण्ड भनेकै अर्थ प्रणाली हो । अर्थशास्त्रको ज्ञानले मात्र राजनीति गर्ने मान्छेलाई आर्थिक नीति, अर्थव्यवस्था र आर्थिक विकासको बारेमा जानकारी दिन्छ । यसले विश्व अर्थतन्त्र व्यापारको ज्ञान दिने हुनाले आर्थिक निर्णय गर्नमा मद्दत गर्छ ।

समाजशास्त्रको ज्ञान : समाजको संरचना, समाजको परिवर्तन, समाजका समस्याहरूको पहिचान, समाजको विकास, जनताको धारणाका बारेमा समाजशास्त्रको ज्ञानले राजनीति गर्ने मान्छेलाई प्रखर बनाउँछ । यसले सामाजिक नीति र कार्यक्रमहरू बनाउनेमा मद्दत गर्छ । समाज अनुकूल राज्य व्यवस्था तय गरेर जनताका आकांक्षा समाजमा शास्त्रको ज्ञानपछि मात्र सम्भव छ ।
सञ्चार कौशल : सञ्चार कौशलले राजनीति गर्ने मान्छेलाई आफ्नो विचार, नीति र कार्यक्रमहरू जनतासम्म पुगाउनेमा मद्दत गर्छ । यसले जनतासँग संवाद गर्ने, जनमत संकलन गर्ने र जनताको समर्थन प्राप्त गर्नमा मद्दत गर्छ । अहिलेको विश्व सञ्चार मिडियाको जालोले भरिएको छ । कुन समयमा कस्तो नीति तय गर्ने, विश्वका अन्य मुलुकसँगको समन्वय, कूटनीतिक निर्णय गर्न सञ्चार सहयोगी बन्न सक्छ ।

नेतृत्व क्षमता : नेता भनेकै नेतृत्व प्दान गर्ने व्यक्ति हो । राजनीति गर्ने मानिसमा नेतृत्व क्षमता आवश्यक हुन्छ । नेतृत्व क्षमताले राजनीति गर्ने मान्छेलाई जनताको नेतृत्व गर्ने, निर्णय लिने र जनताको विश्वास प्राप्त गर्नमा मद्दत गर्छ । आफ्नो विचारले जनता पछि लगाउन सक्ने मानिस नै कुशल राजनीतिज्ञ हुन सक्छ ।

नैतिकता र इमानदारिता : राजनीति गर्ने मान्छे इमानदार, सच्चा र न्यायप्रिय हुनुपर्छ । नैतिक र इमानदार मान्छेले मात्र जनताको विश्वास प्राप्त गर्न सक्छ । जोसँग नैतिकता छ, उसले जनताको विश्वास जित्न सक्छ ।

जनसाधारणको ज्ञान : जनसाधारणको ज्ञानले राजनीति गर्ने मान्छेलाई जनताको समस्या, आवश्यकता, र आकांक्षाको बारेमा जानकारी दिन्छ । यसले जनताको समर्थन प्राप्त गर्नमा मद्दत गर्छ र जनचाहना अनुकूल नीति बनाउन मार्गप्रशस्त गर्छ ।

अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान :अहिलेको विश्व सञ्जालको रुपमा जकडिएको छ । एक देशको घटना–परिघटनाले अर्को देशमा प्रभाव पार्ने हुनाले राजनीति गर्ने मान्छेमा अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान अपरिहार्य छ । अन्तर्राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय संस्था र अन्तर्राष्ट्रिय मुद्दाहरूको बारेमा जानकारी राजनीतिकर्मीमा हुनुपर्छ । अन्तर्राष्ट्रिय ज्ञानले अन्तर्राष्ट्रिय सहयोग र विकासको अवसर प्राप्त गर्नमा मद्दत गर्छ ।.

अनुकूलन क्षमता : अनुकूलन क्षमता भएका राजनीतिज्ञले मात्र बदलिँदो परिस्थितिमा अनुकूलन निर्णय गर्ने क्षमता राख्छन् । अनुकूलन क्षमताले नयाँ विचार अपनाउने र नयाँ चुनौतीहरूको सामना गर्नमा मद्दत गर्छ ।

अहिले नेपालका राजनीतिकर्मीहरु विनाज्ञान राजनीतिमा हामफालेका छन् । आधारभूत राजनीतिक ज्ञानको अभावले गर्दा देश पटक–पटक दुर्घटनामा परिरहेछ । भोलि के हुँदै छ भन्ने विषयको आँकलनसमेत गर्न नसक्नेको हातमा शक्ति जानु देशको दुर्भाग्य हो । यो दुर्भाग्यबाट जोगिने कडी नै राजनीतिक ज्ञान हो । त्यसैले समानुपातिक होस् या प्रत्यक्ष सासद सिफारिस हुँदा ज्ञान, चरित्र, योगदान र सामाजिक प्रतिष्ठाको ख्याल पनि अपरिहार्य छ ।