–मादुरो न्युयोर्कको हिरासतमा
–सुरक्षा परिषद्मा आज छलफल हुने
काठमाडौं ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई अमेरिकी सेनाले काराकासबाट पक्राउ गरी अमेरिका पु¥याएको घटनापछि नेपालमा तीव्र विरोध देखिएको छ । नेपाल सरकारले औपचारिक प्रतिक्रिया नदिए पनि विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनले घटनाको निन्दा गरेका छन् ।
नेकपा एमालेले घटनालाई अन्तर्राष्ट्रिय नियम र सार्वभौमिक अधिकारको उल्लंघन भएको भन्दै आपत्ति जनाएको छ । पार्टी अध्यक्ष केपी शर्माले कुनै पनि राष्ट्रको संविधान र स्वतन्त्रता उल्लंघन गर्नु खतरनाक संकेत भएको भन्दै यसप्रति विश्वले सचेत हुनु जरुरी रहेको बताउनुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले पनि घटनालाई अत्यन्तै निन्दनीय भनेको छ । सो पार्टीका नेता नारायणकाजी श्रेष्ठले भन्नुभयो– ‘राष्ट्रपतिसमेतको मानवअधिकारको सम्मान गर्नुपर्छ । यस घटनाले लोकतान्त्रिक मूल्यलाई चुनौती दिएको छ ।’
विभिन्न विद्यार्थी संगठनले काठमाडौंस्थित अमेरिकी दूतावासनजिक प्रदर्शन गर्दै अमेरिकी कदमको विरोध गरेका छन् । विद्यार्थीहरूले नाराबाजी गर्दै भेनेजुएलाको स्वतन्त्रता रक्षा गर्न विश्व समुदायले आवाज उठाउनुपर्ने बताएका छन् ।
यसैबीच, भारतले पनि घटनाप्रति औपचारिक प्रतिक्रिया जनाएको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘भारतले भेनेजुएलाका जनताको सुरक्षा र कल्याणप्रति आफ्नो समर्थन दोहो¥याउँछ । सबै सम्बन्धित पक्षहरूलाई संवाद र शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछौं, ताकि क्षेत्रीय शान्ति र स्थिरता कायम रहोस् ।’
चीनले पनि यस घटनाप्रति कडा रूपमा प्रतिक्रिया दिएको छ र अमेरिकाको कदमलाई अन्तर्राष्ट्रिय नियम तथा सार्वभौमिकता उल्लंघन भएको भन्दै निन्दा गरेको छ ।
चीनले अमेरिकाको कदमलाई प्रभुत्ववादी व्यवहार भएको भन्दै कडा आलोचना गरेको छ । चीनले भनेको छ– ‘यस्ता सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रको सर्वभौमिकता र शान्ति–सुरक्षालाई खतरामा पार्छ ।’चीनले अमेरिकालाई तुरुन्त मादुरो र उहाँकी पत्नीलाई मुक्त गराउन आग्रह गर्दै भेनेजुएलाको सरकारलाई उखेल्ने कारबाही बन्द गरी वार्ताको माध्यमबाट समस्या समाधान गर्न जोड दिएको छ । समग्रमा, चीनले अमेरिकाको सैन्य हस्तक्षेप र राष्ट्राध्यक्षको जबर्जस्ती पक्राउलाई अन्तर्राष्ट्रिय कानुन उल्लंघन र सर्वभौमिकताविरुद्धको गतिविधि भनेको छ र कूटनीतिक संवाद तथा शान्तिपूर्ण समाधानको माग गरेको छ ।
संयुक्त राष्ट्रसंघले यस घटनाबारे अन्तर्राष्ट्रिय कानुन र शान्तिपूर्ण समाधानमा जोड दिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिकाको भेनेजुएलामा सैन्य आक्रमण र राष्ट्रपति मादुरो तथा उहाँकी पत्नीको पक्राउप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले यस कदमले क्षेत्रीय सुरक्षामा नकारात्मक असर पार्न सक्छ र यसले एक खतरनाक अवस्था सिर्जना गर्न सक्ने बताउनुभएको छ ।
राष्ट्रसंघले संघर्ष र सैन्य हस्तक्षेपको सट्टा वार्ता, कूटनीति र शान्तिपूर्ण संवादमार्फत समाधान खोज्न जोड दिएको छ । राष्ट्रसंघले यस घटनालाई सशक्त रूपमा नियालिरहेको भन्दै अत्यधिक सैन्य हस्तक्षेप र शक्तिआधारित समाधानको सट्टा सबै देशहरूले विदेशी मामिलामा हस्तक्षेप नगरी शान्तिपूर्ण र कूटनीतिक मार्ग अपनाउन आग्रह गरेको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले काराकासमा गरेको सैन्य कारबाहीका क्रममा नियन्त्रणमा लिएर न्युयोर्कस्थित एक थुनुवा केन्द्रमा राखिएको दाबी गरिएको छ । अमेरिकी आक्रमणका क्रममा ४० भेनेजुएली नागरिक मारिएको दाबी गरिएको छ ।
दाबीअनुसार मादुरोलाई त्यसपछि अमेरिकी लागुऔषध नियन्त्रण निकाय डीईएको कार्यालय लगिएको थियो । ह्वाइट हाउसले सामाजिक सञ्जालमार्फत उक्त कार्यालयमा रहेका मादुरोको भिडियो सार्वजनिक गरेको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रारम्भिक, अस्पष्ट टिप्पणीहरूले अमेरिकामात्र होइन, विश्व समुदायलाई समेत चकित बनाएको छ । ट्रम्पका अनुसार सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण नहुन्जेलसम्म अमेरिका भेनेजुएलालाई चलाउने भनाइले प्रत्यक्ष रूपमा अमेरिकी हस्तक्षेपको संकेत गरेको भन्दै आलोचना चर्किएको छ ।
यसैबीच भेनेजुएलाका सरकारी अधिकारीहरूले भने मादुरो र पत्नीलाई अमेरिकी सेनाले अपहरण गरेको आरोप लगाएका छन् । यस घटनापछि भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई मादुरोको अनुपस्थितिमा देशको नेतृत्व गर्न नियुक्त गरेको छ । यसअघि रोड्रिगेजले मादुरोको तत्काल रिहाइको माग गर्दै उहाँको पक्राउको कडा निन्दा गर्नुभएको थियो ।
मादुरोको पक्राउपछि भेनेजुएलामा र विश्वभर मिश्रित प्रतिक्रिया देखा परेका छन् । चीन, रुस, ब्राजिल र इरानले अमेरिकी कदमको निन्दा गरेका छन् भने युरोपेली संघका नेताहरूले लोकतान्त्रिक संक्रमणको माग गर्दै अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न जोड दिएका छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आज सोमबार भेला भएर घटनाबारे छलफल गर्ने तयारी गरेको छ । यो घटनाले भेनेजुएलामा राजनीतिक अस्थिरता बढाएको छ भने अन्तर्राष्ट्रिय स्तरमा अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रिय सार्वभौमसत्तामा प्रश्न उठेको छ ।
ट्रम्पले भेनेजुएलाका सत्तारूढ पक्षसँग राष्ट्रपति निकोलस मादुरोका सहयोगी तथा वर्तमान उपराष्ट्रपति डेल्सी रोड्रिगेजसहित पहिल्यै संवाद भइसकेको दाबी पनि गर्नुभएको छ । हाल काराकासमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएकी रोड्रिगेजको प्रतिक्रियालाई ट्रम्पले शालीन भने पनि भेनेजुएलाको आधिकारिक धारणा भने कडा देखिएको छ ।
‘हामी कुनै साम्राज्यको उपनिवेश बन्ने छैनौं’ –रोड्रिगेजले स्पष्ट रूपमा भन्नुभयो । उहाँका अनुसार भेनेजुएलामा एक मात्र राष्ट्रपति हुनुहुन्छ, उहाँ निकोलस मादुरो नै हो । यो भनाइले अमेरिकी दाबी र भेनेजुएलाको सत्तारूढ शक्तिबीचको टकराब अझ स्पष्ट बनाएको छ ।
अझ अचम्मलाग्दो कुरा त के भने ट्रम्पले भेनेजुएलाको विपक्षी शक्तिलाई समेत बेवास्ता गर्नुभएको छ । नोबेल पुरस्कार विजेता मारिया कोरिना माचाडोलगायत विपक्षी नेताहरूले ट्रम्पको खुलेर प्रशंसा गर्दै उहाँलाई शान्ति पुरस्कार योग्य ठहर गरेकै बेला ट्रम्पले विपक्षीलाई नै अस्वीकार गर्नुले संक्रमणको मार्ग झन् धुमिल बनेको छ ।
मादुरो शासनको मेरुदण्ड मानिएको भेनेजुएलाली सेना यस घडीमा कुन दिशामा जान्छ ? सेना सत्ता जोगाउने पक्षमा उभिन्छ कि राजनीतिक पुनःसंरचनाको बाटो खोल्छ, यसैमा भेनेजुएलाको भविष्य निर्भर देखिन्छ ।भेनेजुएलामा अहिले अनिश्चय, जोखिम र अस्पष्टताको त्रिकोण बनेको छ । अमेरिकी हस्तक्षेपले डरबिनै बाँच्न चाहने सर्वसाधारणको चाहना पूरा गर्छ कि अझ गहिरो अस्थिरता जन्माउँछ भन्ने चासो बढ्दै गएको छ ।
मादुरो र उहाँकी पत्नीलाई न्युयोर्कस्थित एक हेलिपोर्टबाट ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टर, संघीय थुनुवा केन्द्रमा लगिएको र हाल उहाँहरू त्यहीँ हिरासतमा रहेको बताइएको छ ।शीतयुद्धपछि ल्याटिन अमेरिकामा सबैभन्दा असाधारण अमेरिकी सैनिक हस्तक्षेप मानिएको यो योजना अत्यन्त गोप्य राखिएको थियो । अमेरिकी संसद् कंग्रेसलाई पनि यसबारे जानकारी थिएन । सबै तय भइसकेपछि अमेरिकी उच्च सैन्य अधिकारीहरू उपयुक्त मौकाको प्रतीक्षामा मात्र थिए ।











प्रतिक्रिया