भोलिदेखि समानुपातिकतर्फको २ करोड ८ लाख मतपत्र छापिँदै

९ गतेसम्म समानुपातिक, १२ बाट प्रत्यक्ष निर्वाचनको मतपत्र छपाइ हुने

1.22k
Shares

काठमाडौं ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले भोलि मंगलवारबाट मतपत्र छपाइ सुरु गर्ने भएको छ । निर्वाचन आयोग र जनक शिक्षाबीच हिजो आइतबार भएको बैठकपछि भएको सहमतिअनुसार मतपत्र छपाइ सुरु गर्न लागिएको हो ।
सुरुमा समानुपातिकतर्फको मतपत्र छपाइ हुने जानकारी दिँदै आयोगले माघ ९ गतेसम्म समानुपातिकको मत्रपत्र छपाइ कार्य सकेर माघ १२ गतेबाट प्रत्यक्ष निर्वाचनको मत्रपत्र छपाइ सुरु गरिने तयारी रहेको जनाएको छ ।

जनक शिक्षाले यो वर्षको निर्वाचनमा करिब २ करोड ८ लाख थान मतपत्र छपाइ गर्नेछ । जनक शिक्षाका प्रबन्ध सञ्चालक यदुप्रसाद पौडेलका अनुसार यस पटक कुल मतदाता संख्याभन्दा १० प्रतिशत बढी मतमतपत्र छपाइ गर्न लागिएको हो ।
फागुन २१ गते हुने निर्वाचनमा २ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । जनक शिक्षाले समानुपातिक प्रक्रिया पूरा भएसँगै मतपत्र छपाइ प्रक्रिया अघि बढाएको जिकिर गर्दै प्रबन्ध सञ्चालक पौडेलले मतपत्रको परीक्षण छपाइ गरिसकेको बताउनुभयो । मतपत्र छाप्न भारतबाट करिब २० जना विज्ञ टोली खटाइने भएको छ । जनक शिक्षाले आफूले छपाइ मेसिन खरिद गरेकै कम्पनीबाट मेकानिकल इन्जिनियर र मेसिन अप्रेटरलगायतका विज्ञ ल्याउने तयारी भइरहेको जनाएको छ ।

तीन घेरा सुरक्षाभित्र मतपत्र छाप्न जनक शिक्षाका २ सय कर्मचारी परिचालित हुनेछन् । सुरक्षा दस्ताले आज सोमबार सेक्युरिटी प्रेसमा सुरक्षा दिनेछ । नेपाली सेनाको पहिलो सुरक्षा घेराभित्र मतपत्र छपाइ हुनेछ । आवश्यकताका आधारमा जनसंख्या थपघट हुनेसक्ने जनक शिक्षाको भनाइ छ । मतपत्र छाप्न नेपाली सेनाले सुरक्षा जिम्मा लिने छ । त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने भएका छन् । प्रेसका सबै गतिविधि नेपाली सेनाले निगरानी गर्नेछ । सीसीटीभीको अनुगमन सेनाबाटै हुनेछ । फुटेज राख्ने र अन्य सुरक्षा जाँचसमेत नेपाली सेनाबाटै गर्ने तयारी छ ।

प्रबन्ध सञ्चालक पौडेलले ४ वटा मेसिनमा आवश्यकताका आधारमा जनशक्ति परिचालन गरिने र आवश्यक भए २४ सै घण्टा सञ्चालन गर्नेगरी तयारी थालिएको जानकारी दिनुभयोे ।

समानुपातिकको मतपज्ञ छपाइलगत्तै सम्भवतः १२ गतेबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुनेछ । मतपत्रको प्याकिङ जनक शिक्षामै हुनेछ भने ढुवानी निर्वाचन आयोगले केन्द्रबाटै गर्नेछ । जनक शिक्षाका प्रबन्ध सञ्चालक पौडेलले भन्नुभयो– ‘मेसिन पुरानै भए पनि सेक्युरिटी प्रेसका ४ मेसिन मर्मत गरी मतपत्र छपाइ गर्न लागेको हो । सबै तयारी पूरा भइसकेको छ, अब भोलिबाट छपाइ सुरु हुनेछ ।’ उहाँले २०६४ सालमा निर्वाचन आयोगले अनुदानमा दिएको दुईवटा र केन्द्रले खरिद गरेको एउटा वेब मेसिनले मतपत्र छपाइ गर्ने जानकारी दिनुभयो ।

एसईईको प्रश्नपत्र, राजस्व विभागको स्टिकर, लालपुर्जालगायत महत्वपूर्ण कागजातको छपाइ पनि यी मेसिनहरूबाटै गरिएको थियो ।

जनक शिक्षाले निर्वाचन केन्द्रअनुसार फरकफरक प्याकिङ गरी मतपत्र प्लास्टिकको झोलामा राख्ने व्यवस्था गरेको छ । प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फ र समानुपातिकतर्फ मतपत्र छपाइ गर्नेछ ।