डा. निकोलसको स्वास्थ्य गम्भीर, सरकारद्वारा चार सदस्यीय वार्ता टोली गठन

2.26k
Shares

काठमाडौं।

विगत १० दिनदेखि माइतीघर मण्डलामा आमरण अनशनमा बसेका डा. निकोलस भुसाल (कमल) नेतृत्वको समूहसँग वार्ता गर्न सरकारले औपचारिक रूपमा वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्रीको निर्देशनमा प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरिएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गठित वार्ता टोलीमा प्रधानमन्त्रीका जनसम्पर्क अधिकृत गोविन्दनारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सदस्य रहनुभएको छ । डा. भुसालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकार वार्तामा आउन बाध्य भएको हो ।

डा. निकोलस भुसालले भदौ २३ र २४ गते भएका घटनाका दोषीमाथि कारबाही, संविधान संशोधन गरी राष्ट्रियसभा र प्रदेश संरचना खारेज, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागू गर्नेलगायत पाँच बुँदे माग अघि सार्दै आमरण अनशन सुरु गर्नुभएको थियो । उहाँले आफ्नो माग पूरा नभएसम्म अनशन नतोड्ने अडान बारम्बार दोहो¥याउँदै आउनुभएको छ ।

अनशन लम्बिँदै जाँदा डा. भुसालको स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई बुधबार वीर अस्पताल भर्ना गरिएको थियो । हाल उहाँलाई वीर अस्पतालको सर्जिकल ब्लकस्थित ३१० नम्बर क्याबिनमा राखिएको छ र त्यहाँ पनि उहाँले अनशन जारी राख्नुभएको छ । अस्पताल प्रशासनका अनुसार उहालाई स्लाइन पानीबाहेक अन्य कुनै आहार दिइएको छैन । वीर अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माका अनुसार डा. भुसालको अवस्था हाल स्थिर भए पनि लामो समयसम्मको उपवासका कारण जटिलता बढ्न सक्ने जोखिम उच्च छ । डा. भुसालको स्वास्थ्य अवस्थालाई लिएर चिकित्सक समुदाय र नागरिक समाजले सरकारमाथि दबाब बढाउँदै आएका थिए ।