क्रिप्टोकरेन्सी कारोबार २० गुणाले बढ्यो, विद्यार्थी र कर्मचारीको उच्च संलग्नता


काठमाडौं ।

पछिल्ला पाँच वर्षमा नेपालमा भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) र यससँग जोडिएका शंकास्पद कारोबारहरूमा उल्लेखनीय वृद्धि भएको छ । सन् २०२१ मा यस्ता १३ वटा जोखिमपूर्ण गतिविधि रिपोर्ट भएका थिए भने सन् २०२४ सम्म यो संख्या बढेर २५२ पुगेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको ‘‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट, २०२५ अन भर्चुअल एसेट्स’ प्रतिवेदनमा सो तथ्यांक उल्लेख छ ।

वित्तीय जानकारी इकाईका अनुसार ५ वर्षमा भर्चुअल एसेटसँग सम्बन्धित ६५८ शंकास्पद कारोबार र गतिविधि रिर्पोट प्राप्त भएको थियो ।
नेपालमा भर्चुअल एसेट सम्बन्धी सम्पूर्ण क्रियाकलाप कानुनी रूपमा निषेधित छ । तर, प्रतिवेदनले यस्ता एसेटहरू हुन्डी कारोबार, अनलाइन वित्तीय ठगी, अनलाइन जुवा र सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) जस्ता अवैध कार्यमा प्रयोग भइरहेको औंल्याएको छ । यस्ता गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न व्यक्ति वा संस्थाविरुद्ध कानुनअनुसार अनुसन्धान, रोक्का÷जफत र अभियोजन अघि बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनले कमर्सियल बैंकहरूको भूमिकालाई पनि उजागर गर्दै शंकास्पद प्रतिवेदनहरू (एसटीआर÷एसएआर) मध्ये ९१.१९ प्रतिशत कमर्सियल बैंकबाट आएका छन् । अपराधीहरूले परिवारका सदस्य वा आफन्तको बैंक खाता ‘मनी म्युल्स’ रूपमा प्रयोग गर्ने, वैधानिक व्यवसायको आवरणमा क्रिप्टो कारोबार गर्ने र डलर कार्डको दुरुपयोग गर्ने गरेको पाइएको छ । यसले औपचारिक वित्तीय प्रणालीलाई छलेर सीमापार मूल्य स्थानान्तरण र अवैध आम्दानी लुकाउने कार्यलाई सहज बनाएको छ । यो रिपोर्ट सबैभन्दा बढी वाणिज्य बैंकहरूले गरेका थिए । वाणिज्य बैंकहरूले ६०० रिर्पोट गरेका थिए भने विकास बैंकहरूले ४८ रिर्पोट गरेका थिए ।

राष्ट्र बैंकले १०० वटा रिपोर्टणे अध्ययन गर्दा २१ देखि ३५ वर्षका ७५ जना यसमा जोडिएको देखिएको छ । यस प्रतिवेदनका अनुसार युवाहरू अवैध कारोबारमा जोडिएको देखिन्छ ।भर्चुअल सम्पत्तिमा जोडिएकाहरूको शंकाको कारण ४२ प्रतिशतले डिजिटल प्लेटफर्म मार्फत असम्बन्धित पक्षहरूसँग बारम्बार कारोबार गरेका थिए । २६ प्रतिशतले क्रिप्टो कारोबार गर्न बैंकिङ च्यानल प्रयोग गरेका थिए । क्रिप्टो कारोबार गर्न व्यक्तिगत खाताको प्रयोग १६ प्रतिशतले गरेको जनाइएको छ ।

यस्ता गतिविधिमा संलग्नमध्ये २९ प्रतिशत विद्यार्थी र २१ प्रतिशत तलबी कर्मचारी छन् । यो तथ्यांकले प्रविधिमा अभ्यस्त युवा पुस्ता अनलाइन ठगी र छिटो धनी हुने प्रलोभनमा पर्ने जोखिम बढी रहेको देखाउँछ । उनीहरूमा वित्तीय साक्षरताको कमी र अवैध क्रियाकलापको खतरा रहेको विश्लेषण गरिएको छ । भर्चुअल एसेट र सेवा प्रदायकहरूको तीव्र उदयले प्रविधिलाई उपयोगी बनाए पनि यसले ठगी र अवैध काम रोक्न कानुन र संयन्त्रलाई चुनौती दिइरहेको छ ।

उक्त प्रतिवेदन गोएमएल प्रणालीमा सन् २०२१ जनवरीदेखि २०२५ जुलाईसम्म प्राप्त शंकास्पद प्रतिवेदनहरू तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्रोतहरूमा आधारित छ । यसले भर्चुअल एसेटको दुरुपयोगका विधि, प्रवृत्ति, ढाँचा र जोखिम सूचकहरूको पहिचान गरेको छ। प्रतिवेदन कुनै व्यक्ति वा संस्थामा केन्द्रित नभई सम्पत्ति शुद्धीकरण, आतंकवाद वित्तीय लगानी र आम विनाशकारी हतियार विस्तार (एमएल÷टीएफ÷पीएफ) जोखिमहरूको विश्लेषणमा केन्द्रित छ ।

प्रतिवेदनले प्राविधिक जटिलता, सीमापार अधिकार क्षेत्र समस्या र भर्चुअल एसेट जफत÷व्यवस्थापनको व्यावहारिक कठिनाइलाई चुनौती मानेको छ । यसका लागि सुझावहरूमा एसटीआर÷एसएआरको गुणस्तर सुधार, जोखिममा आधारित निगरानी, अन्तरनिकाय समन्वय, प्राविधिक क्षमता अभिवृद्धि र जनचेतना विस्तार समावेश छन् । राष्ट्र बैंकका अनुसार, यो प्रतिवेदन जोखिम पहिचान, नीतिगत निर्णय, नियामक निगरानी, अनुसन्धान प्राथमिकीकरण र क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण सन्दर्भ बन्नेछ । यसले सरोकारवालाहरूमा सचेतना बढाउने अपेक्षा गरिएको छ ।