६५ लाखभन्दा बढी नगद तथा गरगहना चोरी प्रकरणमा एक जना पक्राउ


काठमाडौं l

काठमाडौं महानगरपालिका–४ बलुवाटारस्थित स्ट्रोर्म नेटवर्क प्रा.लि. र इको भ्याली प्रा.लि. बाट करिब ५७ लाख रुपैयाँ बराबरको नगद चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ खुर्सानीटार निवासी २४ वर्षीय दुर्गा बहादुर के.सी. रहेका छन्। उनले स्ट्रोर्म नेटवर्क प्रा.लि. बाट ४८,७२,६२० र इको भ्याली प्रा.लि. बाट ८,५८,५४१ नगद चोरी गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घटना गत शनिबार (पुस १२ गते) राति भएको थियो। चोरीपछि फरार रहेका के.सी.लाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङसँगको समन्वयमा जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–६ बाट पक्राउ गरिएको हो।

पक्राउ परेका के.सी.को साथबाट प्रहरीले ६५,१७,१४० नगद, चाँदीजस्तो देखिने सेतो धातुको ब्रासलेट १५ थान, सानो–ठूलो चाँदीजस्तो देखिने सिक्का २८ थान, चाँदीजस्तो देखिने सेतो धातुको अन्य एक थान तथा Dell कम्पनीको एक थान ल्यापटप बरामद गरेको जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र बरामद सामानको वास्तविकता तथा चोरीमा अन्य व्यक्ति संलग्न भए–नभएकोबारे पनि प्रहरीले छानबिन गरिरहेको छ।