स्याङ्जा।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाबाट २ लाख ४८ हजार ८ सय १६ मतदाता समावेश हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार पुरुष १ लाख २२ हजार ४ सय ६४, महिला १ लाख २६ हजार ३ सय ५१ र अन्य १ गरी कुल २ लाख ४८ हजार ८ सय १६ मतदाता रहेका हुन् ।
जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या धेरै रहेको छ । पुरुषभन्दा महिला मतदाता ३ हजार ८ सय ८७ जना धेरै रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा १ लाख ३० हजार ८ सय ८६ मतदाता छन् । स्याङ्जा क्षेत्र नं २ मा १ लाख १७ हजार ९ सय ३० मतदाता छन् । क्षेत्र नं १ मा गत निर्वाचनका तुलनामा यस वर्ष ३ हजार ४ सय ७५ मतदाता थप भएका छन् । क्षेत्र नं २ मा १ हजार २ सय ५२ मतदाता थपिएका कार्यालय प्रमुख थापाले जानकारी दिए ।
जिल्लामा २०७९ को निर्वाचनमाभन्दा यस वर्षको निर्वाचनमा कूल ४ हजार ७ सय २७ मतदाता थपिएका हुन् । विसं २०७९ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा २ लाख ४४ हजार ८९ मतदाता रहेका थिए । स्याङ्जा जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ९९ मतदानस्थल कायम गरिएको छ भने ३ सय २२ मतदान केन्द्र रहने उनले जानकारी दिए । गत निर्वाचनमा १ सय ९९ मतदानस्थल रहेका थिए भने मतदान केन्द्र ३ सय २० कायम रहेकोमा यसपटक दुई मतदान केन्द्र थप भएका हुन् ।
सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली निर्वाचन आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ । कार्यालयका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो ।











प्रतिक्रिया