संयुक्त लगानीमा मल उद्योग स्थापना गर्न प्रस्ताव


काठमाडौं ।

नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (निक्की) ले नेपालमा प्रत्येक बाली सिजनमा दोहोरिँदै आएको मलको दीर्घकालीन अभाव समाधान गर्न नेपाल–भारत संयुक्त लगानीमा मल उत्पादन उद्योग स्थापना गर्ने प्रस्ताव अघि सारेको छ।

निक्कीका अध्यक्ष सुनील के.सी. ले भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालयका अतिरिक्त सचिव डा. प्रमोद कुमार मेहेरडासँग काठमाडौंमा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उक्त प्रस्ताव राखेका हुन् । भेटघाटका क्रममा के.सी.ले मलको अनियमित आपूर्तिका कारण नेपालको कृषि उत्पादकत्वमा गम्भीर असर परिरहेको उल्लेख गर्दै द्विपक्षीय सहकार्यमार्फत संरचनागत समाधान आवश्यक रहेको बताए।

“समयमै मल उपलब्ध नहुनु नेपाली कृषिको प्रमुख अवरोध हो,” अध्यक्ष के.सी.ले भने, “संयुक्त लगानीमा मल कारखाना स्थापना भए नेपालमा देखिएको दीर्घकालीन आपूर्ति संकट समाधान हुनुका साथै क्षेत्रीय खाद्य सुरक्षामा समेत योगदान पुग्नेछ।”
उनका अनुसार यस्तो सहकार्यले नेपाल–भारत आर्थिक सम्बन्धलाई थप मजबुत बनाउनेछ। “आपूर्तिको स्थायित्व मात्र होइन, दुई देशबीचको आर्थिक एकीकरण र साझेदारीलाई पनि गहिरो बनाउने अवसर हो,” उनले थपे।

अन्तरक्रियामा कृषि क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार, व्यापार प्रवद्र्धन, दिगो कृषि अभ्यास, उत्पादकत्व वृद्धि तथा किसानले भोग्दै आएका संरचनागत समस्याबारे पनि छलफल भएको थियो। निक्की अध्यक्ष के.सी.को नेतृत्वमा भएको छलफलमा चेम्बरको सूक्ष्म, साना तथा मझौला उद्यम कार्यसमितिका सदस्यहरू, निम्बस नेपाल र डाबर नेपाललगायतका कृषि उद्यमीहरूले पोस्ट–हार्भेस्ट व्यवस्थापनसहित सम्पूर्ण कृषि मूल्य शृङ्खला सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

सहभागीहरूले नेपाली किसानको सीप विकास, तालिम र क्षमतावृद्धिमा विशेष जोड दिँदै दुवै देशले आ–आफ्ना तुलनात्मक लाभ उपयोग गर्न सक्ने पूरक कृषि इकोसिस्टम विकास गर्नुपर्ने धारणा राखे।

डा. मेहेरडाले निक्कीको प्रस्तावप्रति सकारात्मक धारणा व्यक्त गर्दै नेपालको कृषि क्षेत्रसँग सम्बन्धित मुख्य समस्या र सुझावहरू लिखित रूपमा पठाउन आग्रह गरेका छन्। उनले ती विषयमा भारत सरकारसँग सहकार्यका सम्भावना खोजिने संकेत दिएका छन्।

यो अन्तरक्रियाले रणनीतिक लगानी, ज्ञान आदान–प्रदान र संस्थागत संलग्नतामार्फत नेपाल–भारत कृषि सहकार्यलाई नयाँ उचाइमा पु¥याउने साझा प्रतिबद्धता प्रतिबिम्बित गरेको छ।