निजी क्षेत्रले खोजे लगानीको सुरक्षा


काठमाडौं ।

लगानीयोग्य वातावरण सिर्जना गर्न र व्यवसायको सुरक्षा सुनिश्चित गर्न सरकारले ठोस कदम चाल्नुपर्ने निजी क्षेत्रको आग्रह छ । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ शीर्षकको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा सहभागीले जेन–जी आन्दोलनबाट निजी क्षेत्रमा भएको क्षतिको क्षतिपूर्ति, नीतिगत स्थायित्व र युवा पलायन रोक्ने उपायमा जोड दिए ।

कार्यक्रममा महासंघका अध्यक्ष चन्दप्र्रसाद ढकालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गरी मनोबल उकास्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । ‘मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको संरक्षण अनिवार्य छ,’ उहाँले भन्नुभयो । ढकालका अनुसार, जेन–जी आन्दोलनमा निजी क्षेत्रले ४० अर्बको भौतिक र ८१ अर्बको अप्रत्यक्ष क्षति व्यहोरेको छ ।

उद्योग क्षेत्रलाई प्राथमिकता क्षेत्र घोषणा गर्न, ‘हटलाइन’ तथा द्रुत सुरक्षा दस्ता गठन गर्नुपर्ने उहाँको माग थियो । उहाँले अहिले निजी क्षेत्रको मनोबल कमजोर बनेको र व्यवसाय नै असफल हुने डर फैलिएको भन्दै त्यसका समाधानका लागि सरकारले तत्काल निजी क्षेत्र संरक्षण एवं प्रवर्धन रणनीति लागू गर्नुपर्ने, उद्योग व्यवसाय गर्ने नैसर्गिक अधिकार सुरक्षित नभएसम्म लगानी र रोजगारी नबढ्ने धारणा राख्नुभयो ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सुशासन, पारदर्शिता र नीतिगत स्पष्टताले अर्थतन्त्रलाई फाइदा पुग्ने बताउनुभयो । ‘निजी क्षेत्रले विगतका राजनीतिक उतारचढावमा पनि रोजगारी र राजस्वमार्फत योगदान दिएको छ’ उहाँले भन्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले शान्ति, स्थायित्व र समृद्धिका लागि न्याय, समानता, संवाद र नीतिको निरन्तरता अनिवार्य भएको उल्लेख गर्नुभयो । “निजी क्षेत्र समृद्धिको इन्जिन हो, जसले रोजगारी, कर र नवप्रवर्तनमा निर्णायक भूमिका खेल्छ,“ उनले भने। आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए स्थायित्व बलियो हुने उनको विश्वास थियो । नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले मुलुक राजनीतिक रूपमा विभाजित भएको र अर्थतन्त्रलाई प्राथमिकतामा नराखेको आरोप लगाए। जेनजी आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले विषम परिस्थितिमा पनि अर्थतन्त्र जोगाउने निजी क्षेत्रप्रति आभार व्यक्त गर्दै निजी क्षेत्रमाथि आक्रमणलाई निषेधित क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘ढलेका निजी क्षेत्र फेरि उभिएपछि दोहो¥याएर ढल्दैनन् भन्ने प्रतिबद्धता गर्नुपर्छ,’ उहाँले भन्नुभयो । विध्वंसकारी घटनामा संलग्नमाथि कारबाही अघि बढेको जानकारी दिनुभयो । निर्वाचनलाई वर्तमान समस्याको अचुक औषधि बताउँदै फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुने स्पष्ट पार्नुभयो ।
त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आयोजनाको परिणाम निकाल्न ‘कसरी गर्ने’ मा केन्द्रित हुनुपर्ने बताउनुभयो । “नेपाल अन्य देशभन्दा सय वर्ष पछि परेको छ,“ उहाँले भन्नुभयो । कृषि उत्पादन बढाउन र निर्वाहमुखी कृषिबाट मुक्ति दिन जोड दिनुभयो ।

अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले जेनजी आन्दोलनले आत्मसमीक्षा गर्न बाध्य बनाएको बताउनुभयो । “राष्ट्रिय सहमतिबाट मात्र समाधान सम्भव छ,“ उहाँको भनाइ छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण र सुशासनमा सरकारको ध्यानाकर्षण गराउँदै पुस २४ को विध्वंस दण्डनीय भन्दै सिसिटिभी फुटेजबाट दोषी कारबाही गर्न माग गर्नुभयो ।
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले लगानीको वातावरण बने पनि लगानी नभएको बताउँदै अर्थतन्त्रका सूचक राम्रा छन्, तर लगानी नभएको बताउनुभयो । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक विधि नमान्दा समस्या दोहोरिने भन्दै भदौ २३ र २४ का घटनालाई छुट्टै हेर्नुपर्ने र दुवै दिनका दोषीमाथि कारबाही माग गर्नुभयो ।

त्यस्तै नेकपा एमालेका नेता राजन भट्टराईले लगानीकर्तालाई सुरक्षा विश्वास दिलाउन नसके लगानी नबढ्ने भन्दै निजी सम्पत्तिमाथि हस्तक्षेप हुनु नहुने बताउनुभयो । पूर्वमन्त्री डोलप्रसाद अर्यालले संविधान बनेको १० वर्षमा शान्तिकै बहस हुनुको कारण खोज्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रमले राजनीतिक दल, सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता उजागर गरेको छ। यसले आगामी निर्वाचन र आर्थिक पुनरुत्थानमा योगदान दिने अपेक्षा गरिएको छ ।