खोटाङ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर व्यवस्थापन गर्नका लागि ‘पाइलटिङ’ परीक्षण कार्यक्रम सञ्चालनको तयारी गरेको छ । बाँदरको समस्याबाट पीडित किसानलाई राहत दिलाउन र बालीनालीको सुरक्षा गर्न सङ्घीय सरकारसँगको सहकार्यमा कार्यक्रम सञ्चालनको तयारी गरेको हो । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले नगरपालिकामा बाँदर व्यवस्थापनका लागि ‘पाइलटिङ’ कार्यक्रम सञ्चलन गर्ने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
बैठकले बाँदर व्यवस्थापनका लागि बन्ध्याकरण गर्ने निर्णय गरेको छ । त्यसका लागि दक्ष जनशक्ति र उपकरण भारत सरकारसँग माग गर्ने निर्णय भएको मेयर भट्टराईको भनाई छ । सरकारको यो निर्णयले नगरवासीका लागि ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ । बाँदर व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारले यस आर्थिक वर्षका लागि एक करोड दुई लाख बजेटसमेत विनियोजन गरेको जनाइएको छ ।
नगरपालिकामा सञ्चालन गर्न लागिएको कार्यक्रमका लागि तीन करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । यसका लागि थप बजेट कृषि मन्त्रालयले उपलब्ध गराउने बैठकमा सहमति भएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ । लामो समयदेखि स्थानीय बासिन्दा र किसानका लागि मुख्य चुनौती बन्दै आएको बाँदरको समस्या समाधान गर्न अपनाइने विधि, आवश्यक बजेट र प्राविधिक तयारीका विषयमा समेत बैठकमा छलफल भएको जनाइएको छ ।।











प्रतिक्रिया