काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिले ४ वर्षे कार्यकाल सकिन चार महिनाअघि नै कार्यसमितिको निर्वाचन गर्ने भएको छ ।
बुधबार बसेको बैठकले एन्फा कार्यसमितिको निर्वाचन आगामी माघ २८ गर्ने गर्ने निर्णय सार्वजनिक गरेको हो । यो निर्वाचन झापामा गर्ने तय पनि गरियो ।
एन्फाको वर्तमान कार्यसमितिको ४ वर्षे कार्यकाल अवधि आगामी वर्ष २०८३ सालको असार ५ गते सकिनेछ । एन्फाको पछिल्लो निर्वाचन २०७९ साल असार ६ गते सम्पन्न भएको थियो ।
सो अनुसार एन्फाको कार्यसमितिको निर्वाचन असारमै हुनु पर्ने हो । तर, एन्फाका वर्तमान अध्यक्ष पंकज नेम्वाङले बहुमतको आधारमा अग्रिम निर्वाचन गर्न लागेको बताए ।
यो एन्फा विधानमा व्यवस्था नै नभएको निर्णय हो । तर, एन्फा अध्यक्ष नेम्वाङले जेनजी आन्दोलनले देशमा खोजेको परिवर्तन र त्यसमा राम्रो सन्देश दिन एन्फाले अग्रिम चुनावमा जानुपर्ने प्रस्ताव गरेको भन्ने एन्फाका एक सदस्यले बताए ।
बैठकमा एन्फा उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी तथा सदस्य रुपेश अधिकारीले भने अग्रिम निर्वाचन गर्न नहुनेमा जोड दिएका थिए ।
यसअघि एन्फाको कार्यसमितिको निर्वाचन हुन जिल्ला, प्रदेश हुँदैं केन्द्रको निर्वाचन हुने प्रावधान रहेको छ । तर, यसपटक यो प्रावधान तोडिएर सीधै केन्द्रको चुनाव गरिँदैंछ । एन्फाले नियम तोड्दैछ ।
एन्फाद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ– संघको विधानको धारा ३१ को ‘त’को निर्वाचनको व्यवस्था बमोजिम साधारण सभाको एजेण्डामा समावेश गरि एन्फा कार्यसमितिको अग्रिम निर्वाचन समेत गर्ने निर्णय पारित गरियो ।’
जबकी एन्फा विधान २०७७ संस्करणको परिच्छेद ७, कार्यसमितिको धारा ३७ कार्यसमिति गठनको ४ मा भनिएको छ,’ अध्यक्ष उपाध्यक्ष तथा सदस्यहरुको कार्यकाल ४ (चार) वर्षको हुनेछ । निर्वाचन हुने कंग्रेसको अन्त्यसँगै कार्यकाल शुरु हुनेछ र आफ्ना उत्तराधिकारीहरुको चुनाव भएसँगैं अन्त्य हुने कंग्रेसको कार्यकाल समाप्त हुनेछ ।’
एन्फाका एक पदाधिकारीले बताएअनुसार आगामी वर्ष असारमा फिफा विश्वकप प्रतियोगिता हुने भएकोले एन्फाले निर्वाचन छिटै गर्न लागेको हो । उनका अनुसार एन्फाका केही पदाधिकारीहरू त्यतिबेला विश्वकप हेर्न अमेरिकामा जाने तय भएको छ ।











प्रतिक्रिया